लुम्बिनी । गौतमबुद्धको मावली कोलीय गणराज्यको दरबार क्षेत्र दाबी गर्दै आइएको रुपन्देहीको देवदहस्थित खयरडाँडामा प्राचीन इनार फेला परेको छ ।
देवदह नगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनी विकास कोष, पुरातत्व विभागले यही जेठ १६ गतेदेखि उत्खननका क्रममा इँटाबाट निर्मित दुई मिटर चौडाइ र साढे तीन मिटर गहिराइ भएको प्राचीन इनार भेटिएको लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीले जानकारी दिए ।
गत वर्ष लुम्बिनी विकास कोषले उत्खनन गर्दा इँटाको माथिल्लो भाग मात्रै देखा परेको थियो । “गत वर्ष इनारको माथिल्लो भाग मात्रै भेटिएको थियो, यस वर्ष इनारको बेस तल्लो भागसम्म जाने योजनाअनुसार उत्खनन गर्दा इनारको पूर्ण आकार भेटिएको छ”, लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्व अधिकृत उप्रेतीले जानकारी गराए ।
वरिष्ठ पुरातत्व अधिकृत उप्रेतीका अनुसार सो इनार कुन समयको भन्ने कार्बन डेटिङपछि मात्रै यकीन हुनेछ ।
इनारको दक्षिणतर्फ पर्खालका भग्नावशेष पनि भेटिएको उप्रेतीले जानकारी गराए । उत्खननका क्रममा खयरडाँडा क्षेत्रमा माटाका भाँडा, पर्खालका भग्नावशेष भेटिएका छन् । स्थानीयहरुले पुरातात्विकस्थल भन्ने थाहा नहुँदै इँटा लगेपछि संरचनाहरु देखिएको उप्रेतीको भनाइ छ ।
गौतमबुद्धको मावली कहाँ हो भन्नेबारेमा अहिले नै निक्र्यौल गर्न नसक्ने भन्दै पुरातात्विक उत्खनन र अन्वेषण अझै बढाउनुपर्ने उनको भनाइ छ । रोहिणी पूर्वका नागरिकहरुले देवदहवासीका रुपमा भन्न मिल्ने उप्रेतीले बताए ।
तर बुद्धका समय र त्योभन्दा अगाडिका माटाका भाँडा र टुक्रा भने पण्डितपुरमा भेटिएका थिए । स्थानीयले भने बुद्धको मावली देवदहको दरबार नै यहाँ रहेको दाबी गर्दै आएका छन् ।
पुरातत्व विभागका अधिकृत राजेश परियारले तत्कालीन कोलीय राज्यका क्षेत्रमा निरन्तर उत्खनन आवश्यकता रहेको बताए ।
उनले खयरडाँडाको उत्खननबाट प्राप्त ऐतिहासिक तथ्य र प्रमाणलाई अध्ययन गरी आगामी दिनमा थप कदम अगाडि बढाइने बताए ।
देवदह नगरपालिका-९ स्थित खयरडाँडा क्षेत्रमा देवदह नगरपालिकाको रु दस लाख बजेटबाट अहिले उत्खनन गरिएको हो ।
स्थानीय पालिकाको साझेदारीमा गरिएको यो पहिलो उत्खनन भएको बताइएको छ । लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख तथा वरिष्ठ पुरातत्व अधिकृत उप्रेतीको नेतृत्वमा पुरातत्व अधिकृत परियार, लुम्बिनी विकास कोषका नमराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तरहुसेन मुसलमान र विज्ञ शुभेच्छा पोख्रेल उत्खननमा खटिनुभएको थियो । उत्खनन थप एक महिनासम्म चल्ने जनाइएको छ ।

