२०८३, कार्तिक १५ गते आइतबार

किम्फमा ‘डान्सिङ इन फायर’

किम्फमा ‘डान्सिङ इन फायर’


  • मेरोभ्यूज
  • जेठ २९, २०८१ मंगलबार

  • किम्फमा ‘डान्सिङ इन फायर’

    काठमाडौँ । नेपाली समाजमा रहेको वायु उतार्ने र खली खाने परम्परामा आधारित वृत्तचित्र ‘डान्सिङ इन फायर’ काठमाडौँमा जारी २१औँ काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव किम्फमा प्रदर्शन गरिएको छ ।

    नेपालको खलीखाने चलन र जनस्वास्थ्यका विषयमा चार दशकदेखि अध्ययन गरिरहनुभएका अमेरिकी मानवशास्त्री अल्फ्रेड पार्कले निर्माण गर्नुभएको यो वृत्तचित्रलाई रमेश खड्काले निर्देशन गरेको छ ।

    आफ्नो घर तथा कुलमा अकालमा मृत्यु भएका व्यक्तिहरु ‘काँचो वायु’ भएर रहन्छन् र उनीहरुको आत्मालाई पूजाको विधिद्वारा ‘वायु उतार्ने’ जनविश्वास काठमाडौँ उपत्यका आसपासका क्षेत्रमा छ ।

     सोही प्रचलनलाई आधार बनाएर चाँगुनारायण नगरपालिकाको जीतपुरफेदी खड्का गाउँमा भएको वायु उतार्ने र खली खाने चलनलाई समेटिएको वृत्तचित्र ‘डान्सिङ इन फायर’ विश्वका विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भइसकेको छ ।

    एक महिना लामो वायु उतार्ने प्रक्रिया, उनीहरुको सामाजिक माहोल र मृत्युको दुःखबाट छुटकारा पाउन परिवार र सिङ्गो समाजले गरेका गतिविधिमा केन्द्रित वृत्तचित्रलाई किम्फमा मन पराइएको छ । “यहाँको प्रदर्शनमा पनि राम्रो प्रतिक्रिया पाएका छौँ ।

    विश्वकै लागि नौलो र फरक विषयवस्तु भएकाले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा यसलाई सहभागी गराइएको छ ।

     यसले पाइरहेको अन्तर्राष्ट्रिय सफलताप्रति हामी खुसी छौँ”, निर्देशक खड्काले भने ।

    गत चैतमा फ्रान्सस्थित पेरिसमा सम्पन्न इथ्नो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पहिलो प्रदर्शन प्रिमियर गरिएको वृत्तचित्र फ्रान्सकै कान्स विश्व चलचित्र महोत्सव, जर्मनीको ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भइसकेको छ ।

    उनका अनुसार वृत्तचित्र सिङ्गापुर अन्तर्राष्ट्रिय चलचित्र मेलामा ‘आउटस्ट्यान्डिङ डकुमेन्ट्री’ पुरस्कार, स्वीडिस अन्तर्राष्ट्रिय मोसन पिक्चर अवार्ड र फुकेट अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘उत्कृष्ट वृत्तचित्र’को पुरस्कार जित्नुका साथै डक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भुटान, दुबई अन्तर्राष्ट्रिय चलचित्र कार्निभल, साउथ एसियन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फ्लोरिडामा प्रदर्शन भइसकेको छ ।

    यसका साथै यही जेठमा अमेरिकामा हुने फिल्म सोसाइटी अफ समिट २०२४ र अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भइसकेको छ ।


    प्रकाशित : मंगलबार, जेठ २९ २०८१११:२०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार