२०८३, कार्तिक १५ गते आइतबार

पानीको मुल संरक्षण गर्न १५ वटा सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी

पानीको मुल संरक्षण गर्न १५ वटा सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी


  • मेरोभ्यूज
  • जेठ २५, २०८१ शुक्रबार

  • पानीको मुल संरक्षण गर्न १५ वटा सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी

    खोटाङ । पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमाधम ‘रिचार्ज’ पोखरी निर्माण हुँदै छन्। जलवायु परिवर्तनका असरले मुहान सुक्न थालेपछि संरक्षण गर्न जिल्ला डिभिजन वन कार्यालयले १५ वटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण सुरु गरेको हो।

    हलेसी तुवाचुङ नगरपालिकाका चार, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउँपालिकाका दुई–दुई, जन्तेढुंगा गाउँपालिकाका तीन तथा रावाबेँसी गाउँपालिका र ऐँसेलुखर्क गाउँपालिकाका तीनवटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माणको थालिएको डिभिजन प्रमुख पशुपति दाहालले बताए।

    ‘मुहानको शिरमा वर्षाको पानी जमाउने र जमिनलाई रिचार्ज गरेर मुहान सुक्नबाट जोगाउन रिचार्ज पोखरी उपयोगी हुन्छ। वर्षाको पानीबाट हुने जमिन कटान रोकथाम गर्दै  मुहान संरक्षण गर्न रिचार्ज पोखरी निर्माणको काम सुरु गरिएको हो,’ उनले भने, ‘रिचार्ज पोखरी निर्माणका लागि जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना (डिसिआरएल)ले सहकार्य गरेको छ। निर्माणाधीन रिचार्ज पोखरी आगामी असार मसान्तभित्र सम्पन्न हुन्छ।’

    जिल्लाका विभिन्न सामुदायिक वनमा निर्माण गरिने १५ वटा रिचार्ज पोखरीमध्ये केही ठाउँमा निर्माण सम्पन्न भइसकेका छन् भने केही ठाउँमा धमाधम निर्माण भइरहेका छन्। जिल्लामा निर्माण गरिने १५ वटा रिचार्ज पोखरीमध्ये पाँचवटा डिभिजन वन कार्यालय तथा दशवटा जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना (डिसिआरएल)को सहकार्यमा निर्माण हुनेछन्।

    डिभिजन वन कार्यालयले निर्माण गर्ने रिचार्ज पोखरीका लागि प्रतिपोखरी रु. दुई लाख ५० हजार तथा डिसिआरएलले निर्माण गर्ने पोखरीका लागि रु. दुई लाख ३५ हजार बजेट विनियोजन भएको छ। रिचार्ज पोखरीले मुहान संरक्षण हुनुका साथै मुहानमा पानीको मात्रा बढ्नेमा आफूहरू विश्वस्त रहेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित डाँडाखर्क–खिसापत्रे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हर्कराज राईले बताए।

    डिभिजन वन कार्यालयले यसअघि पनि जिल्लाका विभिन्न सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण गरेको थियो। पोखरी निर्माणले पर्यायवरण संरक्षणमा सहयोग पुग्ने सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य राजेन्द्र राईले बताए। रासस


    प्रकाशित : शुक्रबार, जेठ २५ २०८११०:०३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार