तनहुँ । गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा शुक्लागण्डकी नगरपालिका-४ मा नेवार समुदायका युवायुवतीलाई धिमे बाजा बजाउन तालिमको व्यवस्था भएको छ । धिमे बाजा बारे पछिल्लो पुस्ता अनभिज्ञ रहेकाले तालिमको व्यवस्था गरिएको अरिदेव नेवा पुचः कोषका अध्यक्ष ज्ञाननारायण श्रेष्ठले बताए ।
कोषले नै ४० जना युवायुवती छनोट गरेर एकमहिने तालिम सुरु गरेको हो ।
“संस्कृति संरक्षण गर्न प्रज्ञा प्रतिष्ठानको सहयोगमा तालिम सञ्चालन गरिएको हो । यसबाट वर्तमान पुस्तालाई संस्कृति संरक्षण गर्नुपर्छ भन्ने प्रेरणा मिल्ने विश्वास छ”, अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य-सचिव मनकुमार श्रेष्ठले सबै समुदायका भाषा संस्कृति, संस्कार संरक्षणका लागि प्रतिष्ठानले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।
आफ्नो भाषा, संस्कृति जोगाउन सम्बन्धित समुदाय नै क्रियाशील हुनु पर्नेमा उनले जोड दिए ।
गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले भाषा, संस्कृति र संस्कार हरेक समुदायको परिचय एवं गौरव भएकाले त्यसको संरक्षण आवश्यक छ भने ।

