काभ्रे । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भवन एवम् संरचनामा देखिएका समस्या समाधान एवम् चुनौतिको सामना गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
भारत सरकारको अनुदान सहयोगमा काभ्रेको पनौती नगरपालिका-६ दलिन्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणाधीन भवन तथा संरचनाको आइतबार अनुगमन तथा निरीक्षण भ्रमणको क्रममा उनले समयमै निर्माण कार्य सम्पन्न गर्न निर्माणमा संलग्न सबै सरोकारवालासँग समन्वयको आवश्यकतामा जोड दिए ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले निर्माणको क्रममा देखापरेका विविध समस्याहरूलाई सम्बोधन गर्न नेपाल प्रहरीसँग समन्वय गर्दै आइरहेको चर्चा गरे । निर्माण कार्य समयमै सम्पन्न गराउन सबैको साथ, समन्वय र सहयोग आवश्यक रहेको उनकाे भनाइ छ ।
सो अवसरमा गृहमन्त्री लामिछानेलगायतले निर्माणमा संलग्न सरोकारवालाबीच निर्माणमा देखापरेका समस्या समाधान तथा चुनौतीलगायत विषयमा छलफल समेत भएको थियाे । उक्त अवसरमा गृहमन्त्री लामिछाने, नेपालका लागि भारतीय राजदूत श्रीवास्तव, गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, काभ्रेका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्मालगायतकाे सहभागिता थियाे ।





