ललितपुर । ललितपुरस्थित ‘एमक्यु ग्यालरी’मा इरानी चित्रकार महदेस सहरिआरी मोघादमको एकल चित्रकला प्रदर्शनी सुरू भएको छ ।
प्रदर्शनीमा नेपाली महिलाको स्वतन्त्र जीवनशैली र इरानी महिलाको बन्देजपूर्ण जीवनशैलीको तुलनात्मक चित्र प्रदर्शनीमा राखिएका छन् ।
त्यसअवसरमा उनले नेपाली महिला इरानका महिलाभन्दा निकै स्वतन्त्र रहेको बताए । “खुलेर काम गर्न र बोल्न सक्ने वातावरण नेपाली महिलाले पाएका छन्”, उनले भने, “यो ठूलो उपलब्धि मान्छु, इरानमा महिलाले यस्तो अवसर पाउने कल्पना पनि गर्न सकिँदैन ।”
उनले महिलाको स्वतन्त्रताको प्रतीकका रुपमा माछाको आकृति बढी चित्रमा उतार्नुभएको छ ।
‘एमक्यु ग्यालरी’ का प्रमुख मनिषलाल श्रेष्ठले विदेशी एवम् स्वदेशी कलाकारलाई प्रत्यक महिना कला सिर्जना गराउँदै आएको र यहीक्रममा आगामी महिना रुसी कलाकारले कला सिर्जना गर्ने जानकारी दिए ।
प्रदर्शनीमा राखिएको चित्रको मूल्य रु दुई हजार पाँच सयदेखि दुई लाख ५० हजारसम्म राखिएको छ ।

