२०८३, कार्तिक १५ गते आइतबार

लमजुङमा घलेगाउँ जोड्ने सडक धमाधम कालोपत्र

लमजुङमा घलेगाउँ जोड्ने सडक धमाधम कालोपत्र


  • मेरोभ्यूज
  • बैशाख २९, २०८१ शनिबार

  • लमजुङमा घलेगाउँ जोड्ने सडक धमाधम कालोपत्र

    गण्डकी । गण्डकी प्रदेश सरकारको लगानीमा लमजुङको क्व्होलासोथार गाउँपालिकास्थित पर्यटकीय घलेगाउँ र भुजुङ जोड्ने सडक कालोपत्र गर्न थालिएको छ ।

    भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको बेसीसहर–बागलुङपानी–घलेगाउँ सडक आयोजनाअन्तर्गत बागलुङपानीदेखि घलेगाउँतर्फ कालोपत्र गर्न सुरु गरिएको हो ।

    बागलुङपानी–घलेगाउँ जोड्ने १० किमिमा कालोपत्र र घलेगाउँदेखि मस्याङ्दी गाउँपालिका–१ हुँदै क्व्होलासोथार–४ भुजुङ जोड्ने सात किमि सडक ग्राभेल गर्ने कामले तीव्रता पाएको पूर्वाधार विकास कार्यालय लजमुङले जनाएको छ ।

    कान्छाराम कन्सट्रक्सनले विसं २०७६ मा ३६ करोड ६६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको यो सडक आयोजना विसं २०७८ मा सम्पन्न हुनुपर्नेमा कोरोना महामारीका कारण पछाडि धकेलिएको थियो ।

    दुई वर्षपछि निर्माणले गति लिएको सडकको बागलुङपानीदेखि घलेगाउँतर्फ प्रिमिक्स प्रविधिको कालोपत्र गर्न थालिएको पूर्वाधार विकास कार्यालयका प्रमुख विवेक सिग्देलले बताए । एक किमि पाँच सय मिटर दुईतर्फी र सात सय मिटर एकतर्फी कालोपत्र भइसकेको उनको भनाइ छ ।

    ‘सडक निर्माणको भौतिक प्रगति ६० प्रतिशत पुगेको छ, पछिल्लो समय दु्रत गतिमा काम भइरहेको छ’, प्रमुख सिग्देलले भने, ‘घलेगाउँ, भुजुङ जोड्ने ग्रामिण पर्यटन विकासका लागि पनि निकै महत्वपूर्ण छ ।’

    घलेगाउँसम्म सडक चौडा, नाली, पर्खाल निर्माणलगायतका काम सकेर सब–बेस राखिसकिएको निर्माण कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिरो प्रभावित तोरीबारी–खेनगी खण्डबाहेकको ठाउँमा कालोपत्र गर्ने तयारी भइरहेको छ ।

    घलेगाउँदेखि भुजुङतर्फ ग्राभेल गर्नका लागि सडक चौडा पार्ने, नाली, पर्खाल, ग्रेड तथा घुम्ती सुधारको कामलाई तीव्रता दिइएको सो खण्डको सहायक निर्माण कम्पनी भरोस निर्माण सेवाका सञ्चालक भरोस खड्काले बताए ।

    सडक कालोपत्र भएपछि दुवै पर्यटकीय गाउँका स्थानीयवासीदेखि आन्तरिक तथा बाह्य पर्यटकलाई आउजाउ गर्न सहज हुने क्व्होलासोथार गाउँपालिका–३ का वडाध्यक्ष आशवीर गुरुङले बताए ।

    ‘स्मार्ट गाउँ’ले चिनिने घलेगाउँ र छिमेकी भुजुङ गाउँको पर्यटन प्रवर्द्धनमा थप मद्दत पुग्ने उनको भनाइ छ । सडकलाई समयमै पूर्णता दिन वडाले समन्वय र सहजीकरणको काम गरिरहेको वडाध्यक्ष गुरुङले बताए ।

    यसअघि जिल्ला सदरमुकाम बेसीसहरदेखि बागलुङपानीतर्फ तीन किमि सडक कालोपत्र भइसकेको जनाएको छ । यस वर्ष थप १४ करोड रुपैयाँको ठेक्का लगाइएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । यो सडकले पश्चिम लमजुङको विकास र उन्नतिमा महत्वपूर्ण टेवा पुग्ने स्थानीयवासी बताउँछन् ।


    प्रकाशित : शनिबार, बैशाख २९ २०८१०९:३८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार