२०८३, कार्तिक १५ गते आइतबार

स्ट्रबेरी खेतीबाट आम्दानी लिँदै सुदीप

स्ट्रबेरी खेतीबाट आम्दानी लिँदै सुदीप


  • मेरोभ्यूज
  • बैशाख ३, २०८१ सोमबार

  • स्ट्रबेरी खेतीबाट आम्दानी लिँदै सुदीप

    नवलपरासी, । नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका-७ का सुदीप दवाडीले तीन वर्षदेखि स्ट्रबेरी खेतीबाट राम्रो आम्दानी लिएको छ ।

    जिल्लामै पहिलो पटक व्यावसायिक स्ट्रबेरीखेती सुरु गर्नुभएका दवाडीले वार्षिक छ लाखभन्दा बढी आम्दानी गर्दै आएको छ ।

    पहिलो वर्ष दुई लाख लगानीमा सुरु गरेको स्ट्रबेरी खेतीले राम्रो आम्दानी दिन थालेको उनले बताए । “यो सिजनमा छ क्विन्टल बढी स्ट्रबेरी स्थानीय बजारमा बिक्री गरिसकेको छु”, उनले भने, “प्रतिकिलो छ सयका दरले बारीबाट बिक्री भएको छ, अझै बिक्रीका लागि तयार हुँदैछन् ।” तराईमा स्ट्रबेरी खेती हुन्छ र यसबाट आम्दानी गर्न सकिन्छ भन्ने धेरैलाई थाहा छैन ।

    दवाडीले तराई भू-भागमै स्ट्रबेरी खेती गरेर आम्दानी लिएको छ । उनले रोपेको बिरुवामा अहिले स्ट्रबेरी लटरम्म फलेका छन् । “प्लास्टिक टनेलमा मल्चिङ प्रविधिको प्रयोग गरी सिँचाइ सुविधा पु¥याउन थोपा सिँचाइको व्यवस्था गरिएको छ”, उनले भने, “स्थानीय बजारसँगै बाह्य क्षेत्रबाटसमेत माग आउन थालेको छ, बारीमै आइ टिपेर लैजाने ग्राहक प्रशस्त आउने गरेका छन् ।”

    दवाडीले दुई कठ्ठा क्षेत्रफलमा स्ट्रबेरी लगाएको छ । हालसम्म तीन लाख बढी आम्दानी गरिसकेको र अझै स्ट्रबेरी बिक्री गर्न बाँकी रहेकाले आम्दानी बढ्ने दवाडीको अनुमान छ ।

    “इन्टरनेटका माध्यमबाट खेती गर्ने तरिका सिक्यौँ, कृषि विज्ञको सल्लाह लिएर प्लास्टिक टनेलमा चितवनबाट पहिलो वर्ष आठ सय स्ट्रबेरीका बोट ल्याई रोपेका हौँ”, उनले भने, “यसरी फस्टाउने कल्पना नै गरेका थिएनौँ अहिले दुई हजारभन्दा बढी स्ट्रबेरीका बिरुवा लगाएका छौँ ।”

    एउटै बोटमा एक किलोसम्म स्ट्रबेरी फल्ने गरेको छ । आफ्नो घरपरिवारसँगै एक जनालाई रोजगार दिएको दवाडी बताउछ । स्ट्रबेरीका नयाँ बिरुवा तयार गरी नर्सरीसमेत बनाइएको छ । उत्पादन भएको सबै फल बिक्री नभएमा प्रशोधन गरी जाम, रस, आइसक्रिम, मिल्क सेक बनाइ बजारमा बेच्न मिल्ने भएकाले जोखिम कम रहेको उनले बताए।

    उनले भाडामै दुई बिघा जग्गा लिएर स्ट्रबेरी, खरबुजा, ड्रागन फल, कागती, बयर, सितलचिनी खेती गरेको छ ।

    ठाउँ र जातअनुसार स्ट्रबेरीका बिरुवा हुर्कनसक्ने कृषि ज्ञानकेन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए । “फूल फूलेको करिब ३० देखि ४५ दिनभित्र फलको विकास हुन्छ र त्यसको १५ देखि २० दिनपछि फल टिप्न लायक हुन्छ”, उनले भने, “हिउँदमा फस्टाउने स्ट्रबेरीको वृद्धि विकासका लागि दिनमा २२ देखि २५ डिग्री सेल्सियस र रातमा ७ देखि १३ डिग्री सेल्सियस तापक्रम सबैभन्दा राम्रो मानिन्छ ।”

    -----


    प्रकाशित : सोमबार, बैशाख ३ २०८१११:३५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार