२०८३, कार्तिक १५ गते आइतबार

सुरूङमार्गले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्ने प्रधानमन्त्रीकाे विश्वास

सुरूङमार्गले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्ने प्रधानमन्त्रीकाे विश्वास


  • मेरोभ्यूज
  • बैशाख ३, २०८१ सोमबार

  • सुरूङमार्गले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्ने प्रधानमन्त्रीकाे विश्वास

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताएका छन् । नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक-थ्रु’ भएको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वाधारको क्षेत्रमा सुरुङमार्ग निर्माण महत्त्वपूर्ण उपलब्धि भएको बताए ।

    “सडक सञ्जालको माध्यमबाट अन्तरआबद्धता विस्तार गरी आवागमनमा सहजता, यातायात लागतमा न्यूनता, भौगोलिक तथा जनसाङ्ख्यिक सन्निकटता र प्रादेशिक सन्तुलन कायम गर्ने गरी सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्यमा यस्ता सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्नेछ,” प्रधानमन्त्री दाहालले भने ।

    सुरूङ निर्माणपश्चात् सुरूङमार्गले उपत्यकाबाट बाहिरिने सडकको अवस्था सुधार गरी यात्राको समय र यातायात सञ्चालन खर्च घटाउने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले ट्राफिक र सडक सुरक्षामा सुधार गरी सङ्घीय राजधानी काठमाडौँ र देशका अन्य प्रमुख शहरबीचको सहज यातायात सञ्जालमा योगदान पुर्‍याउने जानकारी दिए ।

    “यस सुरूङमार्गलाई आधार मान्दै नेपाली माटो सुहाउँदो सुरूङ सम्बन्धि दस्तावेज निर्माण हुनेछ,” प्रधानमन्त्रीले भने, “यसले नेपाललाई सुरूङ युगमा पुर्‍याउन महत्त्वपूर्ण योगदान गर्नेछ ।” उनले आगामी योजनामा राष्ट्रिय राजमार्गहरूमा सुरूङमार्ग, फ्लाइओभर तथा अन्डरपाससहितको आधुनिक सडक सञ्जाल विस्तार तथा निर्माण गर्ने सरकारको नीति रहने बताए ।

    नयाँ वर्षको सुरूआतसँगै नेपालकै पहिलो सुरूङमार्गको मुख्य सुरूङको ‘ब्रेक-थ्रु’ गर्ने ऐतिहासिक अवसर प्राप्त भएकोप्रति खुशी व्यक्त गर्दै प्रधानमन्त्री दाहालले पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा क्षेत्रमा हुने गरेको ट्राफिक जाम, उकालो सडक, सडक सुरक्षाका हिसाबले कायम रहेको जोखिम साथै वर्षायाममा हुने पहिरोको उच्च जोखिमलगायतका समस्या समाधान गर्न सुरुङमार्गको कल्पना गरिएको बताए ।


    प्रकाशित : सोमबार, बैशाख ३ २०८१११:३०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार