काठमाडौँ । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य दरबारमार्ग तथा ठमेल क्षेत्र २४ सै घण्टा खुला हुने भएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आचारसंहिता निर्माण गरि उक्त क्षेत्रलाई वैशाख १ गते शनिबार नयाँ वर्षदेखि २४ सै घण्टा सञ्चालन गर्न लागेको हो ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले दरबारमार्ग र ठमेल क्षेत्रलाई सुरक्षित बनाउन भरपर्दो सुरक्षा व्यवस्था मिलाएको बताएको छ । उनले शनिबारदेखि दरबारमार्ग र ठमेल क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्ने गरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने तयारी गरेकाले सोहीअनुसारको सुरक्षा व्यवस्था सुदृढ बनाइएको बताए ।
“जिल्ला सुरक्षा समितिले रात्रिकालीन समयमा मनोरञ्जनात्मक व्यवसायको लागि विभिन्न समय तोकेर खुला राखेको अवस्था रहेपनि अब सबै किसिमका व्यवसाय सञ्चालन गर्ने गरी बजार खुला रहन्छ,”- उनले भने ।
दरबारमार्ग र ठमेल क्षेत्रमा पूर्ण समय व्यवसाय सञ्चालन गर्ने गरी ‘आचारसंहिता तथा मापदण्ड-२०८० स्वीकृत गरेको उनको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी बस्नेतले आचारसंहितामा व्यवसायीले पालना गर्नु पर्ने आचारसंहिता, उपभोक्ताले पालना गर्नु पर्ने आचारसंहिता, स्थानीय बासिन्दाको अधिकार, दायित्व र सुरक्षा संयन्त्रले सुरक्षा प्रदान गर्नका लागि अवलम्बन गर्नु पर्ने विधि, प्रक्रिया उल्लेख गरिएको छ ।
दरबारमार्ग र ठमेल क्षेत्रलाई सञ्चालन गर्नका लागि तयार गरिएको विशेष सुरक्षा योजना भित्र पर्यटक प्रहरीलाई अझै व्यवस्थित र प्रभावकारी बनाइनेछ ।
ठमेलभित्र व्यवसायी मात्रै नभई स्थानीय बासिन्दाको पनि बसोबासको क्षेत्र भएकाले स्थानीयलाई कुनै असर नपर्ने गरी व्यवस्था मिलाइएको छ ।
रात्रिकालिन मनोरञ्जनात्मक व्यवसायका क्रममा हुने ध्वनि प्रदुषणलाई नियन्त्रण गर्नेलगायत आचारसंहिता तयार गरिएकोछ । उनले भगवानबहाल क्षेत्रमा स्थानीयको बसोबास भएकाले सो स्थानमा यस्ता कार्यक्रम गर्न रोक लगाइएको बताए ।
दरबारमार्ग र ठमेल क्षेत्रमा २४ सै घण्टा व्यवसाय सञ्चालन स्थानका शौचालयलाई निश्चित संकेत दिएर प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ । यातायातका साधनको अभाव हुन नदिन नगरबस, ट्याक्सी, अनलाईन सवारी साधानको व्यवस्थापनमा लागिएको प्रजिअ बस्नेतले बताए ।
यसैगरी, पार्किङ व्यवस्थापन, आन्तरिक सुरक्षालगायतको व्यवस्था मिलाइएको छ ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्गको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उक्त बजारलाई २४ सै घण्टा खुला गर्न लागिएको बताए । उनले व्यवसायको पाटोबाट गर्नु पर्ने आन्तरिक तयारी पुरा भएको उल्लेख गरे ।
दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले २४ सै घण्टा बजार खुल्ने कुराले अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे ।
-----

