२०८३, कार्तिक १५ गते आइतबार

‘जीवन रुपान्तरणका लागि अर्को क्रान्ति आवश्यक छ’ - प्रधानमन्त्री प्रचण्ड

‘जीवन रुपान्तरणका लागि अर्को क्रान्ति आवश्यक छ’ - प्रधानमन्त्री प्रचण्ड


  • मेरोभ्यूज
  • चैत्र २६, २०८० सोमबार

  • ‘जीवन रुपान्तरणका लागि अर्को क्रान्ति आवश्यक छ’ - प्रधानमन्त्री प्रचण्ड

    लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक पुनःसंरचनामा हामी सफल भएपछि अब प्रत्येक नागरिकको जीवन रुपान्तरणका लागि अर्को क्रान्ति गर्ने समय आएको आभास भएको बताएको छ ।

    “मैले केही समय पहिला सम्राट अशोक बन्ने समय आएको भाव व्यक्त गरेको थिएँ, जुन मेरो अन्तरआत्माको आवाज थियो,” प्रधानमन्त्री प्रचण्डले भने, “मैले आध्यात्मिक रुपान्तरणको खाँचो रहेको महसुश गरेको छु, म यो भूमीबाट यसतर्फ जिम्मेवारी बोध भएको भावना व्यक्त गर्दछु ।”

    नेपालीलाई पूर्ण रूपान्तरणको बाटोमा लगेर एउटा सवल, शान्तिप्रेमी र ऊर्जाशील नागरिक बनाउन सकिन्छ भन्ने आफूमा विश्वास रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस्तो रूपान्तरणका लागि कुनै पुरातनवादी धार्मिक राज्यको रूपमा नभएर दीगो शान्ति, सुशासन र सुव्यवस्थालाई सुनिश्चित गर्ने कल्याणकारी वैज्ञानिक आध्यात्मिक राज्यको रूपमा हुनुपर्ने आफ्नो विश्वास रहेको स्पष्ट पारे ।

    “प्रत्येक व्यक्तिभित्र रहेका प्रतिभा, क्षमता र सम्भावनालाई कुनै पनि धर्म, सम्प्रदाय, जाति र वर्गको घेराभन्दा माथि उठेर आध्यात्मिक रूपान्तरणबाट मात्र यो सम्भव हुन्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “अबको दशक प्रवेशसँगै नेपाल र नेपालीको समग्र हितका लागि वैज्ञानिक अध्यात्मको प्रणाली अवलम्बन गर्दै देशको स्वास्थ्य, कृषि, अर्थ, सुरक्षा, वाणिज्य र परराष्ट्रलाई अवधारणगत र संरचनागत सुधार गरी नेपाललाई विश्व अध्यात्मको राजधानी, आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिन्छ ।

    उनले देशको अन्तराष्ट्रिय छविमा व्यापक परिवर्तन ल्याउन र विश्व समुदाय माझ नेपाल शान्तिपूर्ण विश्वबन्धुत्वको पक्षमा रहेको सन्देश दिनका लागि सबैको सामुहिक प्रयास, प्रतिबद्धता र अठोट आवश्यक रहेको उल्लेख गरे ।

    प्रधानमन्त्री प्रचण्डले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वलाई नेपाल एउटा योगभूमि र तपोभूमि हो, नेपालीहरू योगी र ध्यानी छन् भन्ने सन्देश दिँदै योग तथा आध्यात्मिक पर्यटनको हबको रूपमा नेपाललाई विकास गर्न यस्ता कार्यक्रमबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

    ------


    प्रकाशित : सोमबार, चैत्र २६ २०८०१०:४८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार