काठमाडौं । ठमेलको सञ्चयकोष नजिकै बर्गर पसल र क्याफे सञ्चालन गर्दै आएका सन्तोष लामिछानेले व्यवसाय व्यवस्थित बनाउन थप कर्मचारी खोजी गर्दै छन् ।
गृहमन्त्रालयको सचिवालयले चाैबीसै घण्टा पर्यटन व्यवसाय सञ्चालन गर्ने विषयमा सम्बन्धित निकायलाई निर्देशन दिएपछि सन्तोषजस्ता थुप्रै पर्यटन व्यवसायी उत्साहित छन् ।
ठमेल र दरबार मार्ग क्षेत्रका व्यवसायी थप व्यापार फस्टाउन रचनात्मक योजना बनाएको छ । “कर्मचारी बढाउनुपर्छ, क्याफे पनि अलि चिटिक्क पार्दैछु”, सन्तोष भन्छ, “अब भने पर्यटक फर्काउनु पीडा हुँदैन भन्नेमा ढुक्क छु ।”
यसअघि उनले धेरैपटक क्याफेमा आएका पर्यटकलाई समय सकियो भन्दै सटर बन्द गर्नु परेको अनुभव सुनाए ।
बेलुका १२ बजेसम्म पर्यटक उनको क्याफेमा रमाउथे । समय अवधि सकिएपछि ‘तपाईं निस्किनुस्’ भन्न निकै अमानवीय स्वाभाव लाग्ने गरेको सन्तोषले बताए । “यो चिन्ता अबदेखि हट्दैँछ । अब पर्यटक पनि खुसी हुन्छन् । आफ्नो व्यवसाय पनि थप चलायमान हुनेछ”, उनले भने ।
ठमेलका मुनलाइट होटल सञ्चालक सागर पाण्डेले सरकारले चउविसै घण्टा व्यवसाय सञ्चालन गर्न दिँदा पर्यटकले भरपुर मनोरञ्जन गर्न पाउने बताए ।
व्यवसाय अझै चुस्त पार्न उनले तीन सिफ्ट स्टाफ खटाउने तयारी गरिरहेको बताए । व्यवसाय फस्टाउँदै गए रोजगारीका अवसरहरु पनि श्रृजना हुने उनको भनाइ छ ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले डेढ वर्षदेखि सरकारसँग ठमेल र दरबार मार्ग क्षेत्रमा चउविसै घण्टा पर्यटन व्यवसाय सञ्चालन गर्न माग राख्दै आएको बताए ।
सोही मागअनुसार गृहमन्त्रालय सकारात्मक भएको उनको भनाइ छ । सुरक्षा, व्यवस्थित र रचनात्मक पर्यटन सेवा दिन आचारसंहिता हुनु जरुरी रहेकाले व्यावसायिक आचारसंहिताको ड्राफ्ट तयारी भइरहेको अध्यक्ष शर्माले जानकारी दिए ।
उनका अनुसार रात्रिसेवा सञ्चालन हुन सके अर्थतन्त्र चलायमान हुने, कोरोनाले थला परेका व्यवसायीमा उत्साह बढ्ने, रोजगार श्रृजना हुने, राज्यको राजश्वमा वृद्धि हुनेलगायतका क्षेत्रमा सकारात्मक प्रभाव हुनेछ ।
“पर्यटकले रातिको समयमा खान बस्न जुन समस्या झेल्नुपरेको थियो, त्यो अब समाधान हुँदै जानेछ”, अध्यक्ष शर्माले भने ।
व्यवसायीले सिसी क्यामेरा जडान गर्नुपर्ने, सामुदायिक सुरक्षा गार्ड राख्ने, प्रहरी र ट्राफिक परिचालन गर्नेलगायत सुरक्षा विषयमा तयारी भइरहेको उनले बताए । शर्माले भने, “परिषद्ले विस/पचिस जना सामुदायिक सुरक्षा गार्डसमेत राख्ने योजना बनाएको छ ।”
उनका अनुसार ठमेलमा ८० प्रतिशत व्यापार वाह्य पर्यटकबाट र २० प्रतिशत आन्तरिक पर्यटकबाट हुने गरेको छ । शर्माले ठमेल क्षेत्रमा मात्रै लगभग १० हजार व्यवसायी आबद्ध रहेको जानकारी दिए ।
आगामी वैशाख १ गतेभित्र रात्रिकालीन व्यवसाय सञ्चालनमा ल्याउन परिषद्ले पहल गर्ने उनले बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालयले भने कहिलेदेखि कार्यान्वयनमा ल्याउने भनेर मिति तोकेको छैन ।
जिल्ला प्रशासन कार्यालय काठमाडाँैका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले रात्रिकालीन पर्यटन व्यवसाय सञ्चालन व्यवस्थित गर्ने विषयमा कार्यविधि बनिरहेको बताए ।
उनले भने, “कहिले खोल्ने भनेर मिति तोकिएको छैन, कार्यविधि बनाएर कार्यान्व्यन गर्ने विषयमा छलफल गरिरहेका छाैं ।” गृहमन्त्रालयका उपसचिव एकदेव अधिकारीले सहरलाई जीवन्त बनाउन रात्रिकालीन चउविसै घण्टा व्यवसाय सञ्चालन गर्ने विषयमा मन्त्री सकारात्मक रहेको जानकारी दिए ।
सोहीअनुरुप यसलाई जतिसक्दो छिटो कार्यान्वयनमा ल्याउने गरी छलफल गर्ने, कार्यविधि बनाउनेलगायत काम भइरहेको उनले सुनाए । “हाम्रा सहर मृत भए”, उनले भने, “चलायमान बनाई आर्थिक उन्नति र रोजगारी श्रृजना गर्ने मन्त्रालयको उद्देश्य छ ।”
सरकारले पर्यटनमा प्रवर्द्धन गर्न सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेको छ । साथै सन् २०२३ देखि २०३२ लाई पयर्टन दशकका रुपमा मनाएर ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिनेमा जोड दिइएको छ । साथै नीतिमा राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने आधारका रुपमा पर्यटन प्रवर्द्धन र पूर्वाधार विकास गर्ने विषय उल्लेख छ ।
ठमेल र दरबारमार्गजस्ता पर्यटकीय क्षेत्र चुस्त हुँदै चाैबीसै घण्टा सञ्चालन हुनसके सरकारको पर्यटक बढाउने लक्ष्य पूरा हुनसक्ने व्यवसायीको धारणा छ ।

