२०८३, कार्तिक १५ गते आइतबार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रेखाकाे पुनरागमन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रेखाकाे पुनरागमन


  • मेरोभ्यूज
  • फाल्गुण २३, २०८० बुधबार

  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रेखाकाे पुनरागमन

    काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बुधबार साँझ पदबहाली गरेकी छिन् । यसअघि शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा २०७९ माघ ३ गतेदेखि २०८० फागुन २१ गतेसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकै  जिम्मेवारी सम्हालेको थिइन्।

    प्रधानमन्त्री दाहालले बुधबार गरेको मन्त्रिपरिषद् गठनमा उनी पुनःसञ्चारमन्त्रीमा नियुक्त भएकी हुन् । उनले २०७२ कात्तिक १ गतेदेखि २०७३ असार २८ गतेसम्म सामान्य प्रशासन मन्त्रीका रुपमा भूमिका निर्वाह गरेकी थिइन् ।

    उनी २०७९ मङ्सिर ४ गतेको निर्वाचनबाट शर्मा दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेललाई पराजित गर्दै निर्वाचित भएकी हुन् । उनी समानुपातिक प्रणालीबाट २०७० मा संविधानसभा सदस्य र २०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी थिइन् ।

    विसं २०२६ असोज ९ गते दाङको घोराही उपमहानगरपालिका वडा नं १८ मसिनामा बुबा गिरिराज शर्मा र आमा पार्वती शर्मा पौड्यालको कोखबाट जन्मेकी शर्माले विसं २०४२ सालदेखि विद्यार्थी संगठनबाट राजनीतिक यात्रा शुरु गरेकी थिइन् ।

    अखिलको इकाई समितिबाट राजनीति शुरु गरेकी शर्माले विसं २०४७ मा अखिलको जिल्ला उपाध्यक्ष, विसं २०४८ मा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को दाङ अध्यक्ष, विसं २०५० मा महिला सङ्गठनको केन्द्रीय सदस्य, विसं २०५१ मा वाइसिएल केन्द्रीय सदस्य, विसं २०५३ सालदेखि विसं २०५८ सालसम्म अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को केन्द्रीय अध्यक्षको भूमिका निर्वाह गरेकी थिइन् ।

    विसं २०५७ मा नेकपा (माओवादी)को केन्द्रीय सदस्य बनेकी नेत्री शर्मा काठमाडौँ उपत्यका उपब्युरोको इञ्चार्जको भूमिकामा रहेको बेलामा २०५८ चैतमा पार्टी केन्द्रीय सदस्य तथा श्रीमान् कृष्णध्वज खड्कासँगै चाबहिलबाट पक्राउ परेकी थिइन् । तत्कालीन शाही नेपाली सेनाको ललितपुरस्थित राजदल गण र पोखराको सैनिक ब्यारेकमा लामो कष्टकर यातनापछि सरकार र माओवादीबीच वार्ता शुरु भएपछि २०५९ चैत ३१ गते दुवैजना जेलमुक्त भएका थिए ।

    लामो जेल जीवनपछि पुनः राजनीतिमा सक्रिय शर्मा हाल नेकपा (माओवादी केन्द्र)को स्थायी समिति सदस्यको भूमिकामा रहेकी छिन् । विसं २०७० देखि २०७२ सम्म संविधान निर्माणमा महत्वपूर्ण योगदान गरेकी शर्माले २०७४ मा संसदीय दलको सचेतकको जिम्मेवारी निर्वाह गरेकी थिइन् ।

    मन्त्री शर्माले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छिन् । २०७९ मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ निर्वाचित हुने शर्मा एक्लै महिला हुन् । आफूलाई सामाजिक न्याय र समानताको पक्षधरका रूपमा परिचित गराउन चाहने मन्त्री शर्मामा कृषि र अर्थतन्त्रको विषयमा पनि रुचि छ ।


    प्रकाशित : बुधबार, फाल्गुण २३ २०८०११:४६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार