सुनसरी । जिल्लामा दर्जनौँ ताल तथा सिमसार क्षेत्र छन् । तर तीमध्ये सुनसरीको रामधुनी नगरपालिका–७ मा अवस्थित रास ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण बन्दै गएको छ ।
प्राकृतिक सौन्दर्य, फराकिलो फाँट र चारकोशे झाडीको घेराबन्दीमा शान्त रूपमा फैलिएको यो तालमा दैनिक रूपमा पर्यटकको घुइँचो लाग्ने गरेको छ ।
अरु तालभन्दा फरक विशेषता बोकेको रास तालमा मनोरम दृश्यावलोकनसँगै दिनभर फिसिङ (माछा मार्ने) सुविधा उपलब्ध हुनु यहाँको मुख्य आकर्षण हो ।
यही कारणले यहाँ दैनिक रूपमा धरान, इटहरी, विराटनगर, धनकुटा, वीरगन्ज तथा भारतका विभिन्न स्थानबाट समेत पर्यटक यहाँ पुग्ने गरेका छन् ।
विशेषगरी वनभोजका लागि उपयुक्त मानिएको यस क्षेत्रमा एकैपटक एक सय ४५ समूहसम्मलाई व्यवस्थापन गर्न सकिने संरचना तयार गरिएको छ ।
पिकनिक सिजनमा दैनिक आठदेखि १० हजारभन्दा बढी पर्यटक आउने गरेका छन् भने अफसिजनमा पनि अहिले दैनिक दुई/तीन सयभन्दा बढी पर्यटकको आवत-जावत हुने गरेको रास ताल व्यवस्थापन समितिका सचिव भीमबहादुर माझीले बताए । धेरैजसो पर्यटक मङ्सिर, पुस साथै वैशाख जेठ महिनामा आउने गरेका छन् ।
सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत पर्ने ६१ हेक्टर क्षेत्रफलमध्ये करिब आठ हेक्टरमा फैलिएको ताललाई राष्ट्रिय विभूति इमानसिंह चेम्जोङसँग जोडेर २०७१ सालदेखि स्थानीय पहलमा पर्यटकीय नमूना क्षेत्रका रूपमा विकास गर्न थालिएको हो ।
कोशी प्रदेश पर्यटन मन्त्रालयले २०७७/७८ को बजेटअन्तर्गत विनियोजित रु. ८० लाखबाट यहाँ भ्यू-टावर, इमानसिंह चेम्जोङको सालिक निर्माण तथा २९ हेक्टर क्षेत्रमा तारबार गरिएको समितिले जनाएको छ ।
साथै, यहाँ एक सयभन्दा बढी जातजातिको प्रतिनिधित्व हुने नमूना मठ-मन्दिर, सांस्कृतिक झाँकीसहित मेला लाग्ने तथा सङ्ग्रहालयसमेत निर्माण गरिएको छ ।
समितिका सचिव माझीका अनुसार यहाँ रु. तीन सय शुल्क तिरेपछि बिहान ६:०० देखि बेलुका ६:०० बजेसम्म माछा मार्न पाइन्छ ।
पर्यटकले दिनभरमा समातेको माछा आफैँ लैजान पाउँछन्, कतिपयले १० केजीसम्म माछा समातेका छन् । तालमा कमलकार, ग्रास, रहु, नौनीलगायत सात प्रजातिका माछा पाइन्छन् ।
यस तालमा घुम्न आउने पर्यटकले बोटिङको सुविधा लिन सक्नेछन् भने चिडियाघरमा खरायो, हुचिल, चिल, बाँदर, अजिङ्गरलगायत जीवजनावर अवलोकन गर्न सक्ने सचिव माझीले जानकारी दिए ।
यस क्षेत्रलाई थप आकर्षक बनाउन तालको बीचमा करिब रु. १५ लाख लागतमा टापु निर्माण गरिएको छ भने तीनवटा काठका पुलमार्फत वारपार गर्न सकिने व्यवस्था मिलाइएको छ ।
साथै, तराई क्षेत्रमा दुर्लभ मानिने सल्ला तथा सिरिसका बिरुवा रोपेर वातावरणीय सौन्दर्य थपिएको छ । करिब रु. २५ लाख लागतमा मुख्य प्रवेशद्वार तथा ट्री हाउससमेत निर्माण गरिएको छ, जहाँबाट सम्पूर्ण तालको दृश्यावलोकन गर्न सकिन्छ ।
पिकनिक तथा बोटिङबाट वार्षिक रूपमा रु. छदेखि सात लाखसम्म आम्दानी हुने गरेको समितिको भनाइ छ । उक्त आम्दानीले ताल संरक्षण तथा पूर्वाधार विकासमा खर्च गरिँदै आएको छ ।
स्थानीय व्यापारीका अनुसार पर्यटकको आगमनसँगै आसपासका खाजा, नास्ता पसल तथा अन्य व्यवसायसमेत चलायमान भएका छन् । बजेट अभावका कारण केही पूर्वाधार निर्माण अझै अधुरो रहेकाले प्रदेश तथा स्थानीय सरकारबाट लगानी आवश्यक रहेको स्थानीयको भनाइ छ ।
महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित रास ताललाई आर्थिक समृद्धिको आधारका रूपमा विकास गर्न सकिने सम्भावना रहेकाले समिति संरक्षणमा जुटिरहेको छ ।

