२०८३, कार्तिक १४ गते शनिबार

जलविद्युत् आयोजनाःप्रसारण लाइन निर्माणका लागि रुख छपान शुरु

जलविद्युत् आयोजनाःप्रसारण लाइन निर्माणका लागि रुख छपान शुरु


  • मेरोभ्यूज
  • जेठ ५, २०८३ मंगलबार

  • जलविद्युत् आयोजनाःप्रसारण लाइन निर्माणका लागि रुख छपान शुरु

     

    तनहुँ । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान शुरु भएको छ । आयोजनाको प्याकेज तीनअन्तर्गत प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लामा पर्ने रुखहरूमा छपान शुरु गरिएको हो ।

    आयोजनाको दमौली भरतपुर २२० केभी प्रसारण लाइनको मार्गधिकारमा पर्ने चितवन जिल्लास्थित राष्ट्रिय वनमा रहेका रुखहरूको छपान कार्य शुरु भएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।

    प्रसारण लाइनको टावर निर्माण र मार्गधिकारमा चितवन र तनहुँ जिल्लामा पर्ने वन क्षेत्रको जग्गा र त्यहाँ रहेका बोट-बिरुवा हटाउन वन तथा भू-संरक्षण विभागसँग सम्झौता भएको थियो ।

    प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनमा पर्ने ९२.७ हेक्टर वन क्षेत्रको जग्गा भोगाधिकार पाउनुका साथै त्यहाँ रहेका नौ हजार एक सय २७ रुखपोल हटाउन अनुमति प्राप्ति भएसँगै काम अगाडि बढेको भण्डारीले बताए ।

    मन्त्रिपरिषद्को निर्णयबमोजिम आयोजनाको दमौली भरतपुर २२० केभी प्रसारण लाइनको टावर निर्माण र मार्गधिकारमा चितवन र तनहुँ जिल्लामा पर्ने वन क्षेत्रको जग्गा र त्यहाँ रहेका बोट-बिरुवा हटाउन तनहुँ हाइड्रोपावर लिमिटेड र वन तथा भू-संरक्षण विभागबीच हालै सम्झौता भएको थियो ।

    यस प्याकेजको निर्माण व्यवसायी केइसी इन्टरनेशनल लिमिटेड भारतले दमौली भरतपुर २२० केभी ३३ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये हालसम्म ७८ वटा टावरहरूको जग हाल्ने र ६९ वटा टावर जडान कार्य सम्पन्न गरिसकेको छ । यस प्याकेजको समग्र प्रगति ७६ प्रतिशत रहेको भण्डारीले बताए ।

    तनहुँ जलविद्युत आयोजनाको तीनवटा प्याकेजमा काम भइरहेको छ । प्याकेज एकअन्तर्गत बाँधलगायतका संरचनाको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ । यो प्याकेजमा ५४ प्रतिशत प्रगति भएको भण्डारीले बताए ।

    मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सडक, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध, दुईवटा डाइभर्सन सुरुङलगायत संरचनाको निर्माणकार्य सकिएको छ ।

    मुख्य बाँध निर्माणका लागि सेती नदीलाई २०८० कात्तिक २० गते पथान्तरण गरिएको थियो । वि.सं. २०८१ जेठमा मुख्य बाँधको माथिल्लो र तल्लो तटीय क्षेत्रमा अस्थायी बाँध निर्माण कार्य सकिएको जनाइएको छ ।

    प्याकेज–२ अन्तर्गत विद्युतगृह तथा सम्बन्धित उपकरणको काम सिनो हाइड्रो कर्पोरेशन चीनले गरिरहेको छ ।

    यस अवधिसम्म भूमिगत संरचना निर्माणका लागि खन्ने कार्य सम्पन्न गरी अधिकांश संरचनाको सिभिल निर्माण कार्य सम्पन्न भएको भण्डारीले बताए ।

    विद्युतगृह, केवल सुरुङ, सर्च ट्याङ्क, टेलरेसलगायत संरचनाको मुख्य कङ्क्रिटिङ कार्य सम्पन्न भएको यस प्याकेजको प्रगति ७३ प्रतिशत छ ।

    भण्डारीका अनुसार विद्युतगृहको सिभिल कार्य करिब सम्पन्न भएको छ भने इलेक्ट्रोमेकानिकल कार्य जारी छ । विद्युतगृहमा छाना लगाउने, पानी फाल्नेलगायतका काम भइरहेका छन् ।


    प्रकाशित : मंगलबार, जेठ ५ २०८३१०:११
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार