२०८३, कार्तिक १४ गते शनिबार

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो


  • मेरोभ्यूज
  • जेठ ३, २०८३ आइतबार

  • तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो

     

    दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन पुगेको छ । नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी–तिङ्कर सडकअन्तर्गत शून्य विन्दु तुसारपानीदेखि दुम्लिङसम्मको १२ किलोमिटर सडक निर्माण सम्पन्न गरेपछि यातायात सञ्चालनमा ल्याइएको हो ।

    दुम्लिङ गाउँमा पहिलोपटक गाडी पुगेपछि स्थानीय उत्साहित भएका छन् । सडक सञ्चालनसँगै दैनिक उपभोग्य सामग्री ढुवानी, बिरामीको ओसारपसार तथा शिक्षा र अन्य सेवा सुविधामा सहजता आउने अपेक्षा गरिएको छ ।

    नेपाली सेनाका अनुसार तुसारपानीदेखि तिङ्करसम्म निर्माणाधीन कूल ७९ किलोमिटर सडकअन्तर्गत हालसम्म २२ दशमलव १५ किलोमिटर सडकको ट्र्याक खोल्ने कार्य सम्पन्न भएको छ । त्यसमध्ये दुम्लिङसम्मको १२ किलोमिटर सडकमा सवारीसाधन सञ्चालनमा ल्याइएको हो । बाँकी क्षेत्रमा सडक स्तरोन्नति तथा ट्र्याक खोल्ने काम निरन्तर जारी रहेको सेनाले जनाएको छ ।

    नेपाल–चीन सीमा क्षेत्रसँग जोडिएको व्यास क्षेत्र भौगोलिक रूपमा अत्यन्त विकट मानिन्छ । वर्षौँदेखि यहाँका नागरिकले पैदलमार्गको भरमा यात्रा गर्नुपर्ने बाध्यता भोग्दै आएका थिए । सडक विस्तारसँगै स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार आउने विश्वास गरिएको छ ।

    नेपाली सेनाले आर्थिक वर्ष २०७७/७८ देखि उक्त सडक निर्माण अघि बढाउँदै आएको हो । हिमाली तथा चट्टानी भूभागमा कठिन परिस्थितिका बीच सडक निर्माण भइरहेको सेनाले जनाएको छ । रणनीतिक तथा विकासका दृष्टिले महत्व बोकेको यस सडकले सीमा क्षेत्रका बासिन्दालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने अपेक्षा गरिएको छ ।

    स्थानीयवासीले दुम्लिङसम्म सडक र गाडी पुगेपछि वर्षौँदेखिको यातायात समस्यामा राहत मिल्ने बताएका छन् । सडक सञ्चालन भएपछि खाद्यान्न, निर्माण सामग्री तथा अन्य आवश्यक वस्तुको ढुवानी खर्चसमेत घट्ने उनीहरूको विश्वास छ ।

    तिङ्कर नाका जोड्ने लक्ष्यसहित सडक निर्माण कार्यलाई तीव्र बनाइएको नेपाली सेनाले जनाएको छ । सडक निर्माण सम्पन्न भएपछि व्यास क्षेत्रको आर्थिक, सामाजिक तथा पर्यटन विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

    -----


    प्रकाशित : आइतबार, जेठ ३ २०८३१०:१२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार