२०८३, कार्तिक १५ गते आइतबार

बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन


  • मेरोभ्यूज
  • बैशाख २४, २०८३ बिहीबार

  • बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

     

    मुस्ताङ । हाल मुस्ताङ भ्रमण गर्ने सबैभन्दा अनुकूल याम चलिरहेको छ । हिउँदयामको चिसो र हिउँ पर्ने समय टरिसकेकाले यस यामलाई मुस्ताङ भ्रमणको अनुकूल याम मानिन्छ । हाल हिउँदयाम सकिएर गर्मीयाम सुरु भइसके पनि यहाँ अझै हिउँ पर्ने क्रम भने रोकिएको छैन ।

    हाल यहाँको वारागुङ मुक्तिक्षेत्रमा आंशिक हिउँ परेको छ, जसकारण यहाँ चिसो बढेको छ । मुक्तिनाथस्थित हाई अल्टिच्युड ट्रिटमेन्ट सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी सरोज घर्तीले हिजो मुक्तिनाथ क्षेत्रमा करिब एक घण्टाभन्दा बढी समयसम्म हिउँ परेको बताए । हिउँ परेसँगै आसपासका नाँगा डाँडाकाँडा फेरि हिउँले सेताम्मे भएको उनको भनाइ छ ।

    गर्मीयाम सुरु भइसक्दा पनि मुक्तिनाथमा बेमौसमी हिमपातले दर्शनार्थी भक्तजनलाई मुक्तिनाथ यात्रामा असहज भएको स्वास्थ्यकर्मी घर्तीले उल्लेख गरे । मुक्तिनाथ क्षेत्रमा योसँगै यस वर्ष आठौँ पटक हिमपात भएको हो । यसलाई स्थानीय जानकारहरूले जलवायु परिवर्तनको प्रभावका रूपमा विश्लेषण गरेका छन् । वसन्त ऋतुको समयमा पालुवा पलाएर मौसम गुल्जार हुने समयमा मौसम प्रतिकूल बन्नु र हिउँ पर्नु यहाँका लागि राम्रो नभएको वारागुङ मुक्तिक्षेत्र-१ का वडाध्यक्ष प्रमेश गुरुङले बताए ।

    वारागुङ मुक्तिक्षेत्र–१ अन्तर्गत खिङ्गा, झारकोट, लुप्रा र पुराङ रानीपौवालगायत गाउँमा हिउँदयामको बिदाइ र बर्खायामलाई स्वागत गर्दै ‘धछ्याङ’ पर्व मनाइसकिएको छ । बेमौसमी हिमपातले अन्नबाली र विशेष गरी स्याउका फूलहरू नष्ट गर्ने चिन्ता बढेको वडाध्यक्ष गुरुङले उल्लेख गरे ।

    यस वर्षको हिउँदयाममा यहाँ पटक पटक हिउँ परे पनि वैशाख महिनामा हिउँ पर्नु अनौठो भएको वारागुङ-१ का खिङ्गा गाउँका मुखिया ल्हाक्पाटसी गुरुङले उल्लेख गरे । हिउँदयाममा परेको हिउँ कृषकका लागि फाइदाजनक भए पनि बेमौसमी हिमपातले कृषि र पर्यटन क्षेत्रलाई असर पुर्याउने उनले बताए ।

    -----


    प्रकाशित : बिहीबार , बैशाख २४ २०८३१०:३९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार