२०८३, कार्तिक १५ गते आइतबार

मानहुँकोटमा पर्यटकको चहलपहल बढ्यो

मानहुँकोटमा पर्यटकको चहलपहल बढ्यो


  • मेरोभ्यूज
  • बैशाख १७, २०८३ बिहीबार

  • मानहुँकोटमा पर्यटकको चहलपहल बढ्यो

     

    तनहुँ । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरेसँगै व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानहुँकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ ।

    बिदाको समयमा घुम्ने संस्कृतिको विकासले गर्दा अहिले मानहुँकोटमा विगतको तुलनामा पर्यटक बढी हुन थालेका हुन् । पर्यटकको चाप बढेपछि स्थानीय होटल व्यवसायी उत्साहित भएका होटल भ्यू टावरका सञ्चालक प्रेमबहादुर राउतले जानकारी दिए । बिदाका दिनमा पाहुनाले होटल भरिभराउ हुने गरेका छन् ।

    उनले भने, “यतिबेला पर्यटकको मुख्य याम त होइन, तर दुई दिने बिदाले पहिलेभन्दा तेब्बर बढी पर्यटक मानहुँकोट आउन थालेका छन्, पाहुनाको आगमनले हामीलाई उत्साहित बनाएको छ ।”

    सदरमुकाम दमौलीबाट मात्र ६–७ किलोमिटरको दुरीमा रहेकाले पनि मानहुँकोटमा पर्यटकको सङ्ख्या बढाउन सहज भएको व्यवसायीको भनाइ छ । व्यवसायी राउतले मानहुँकोटमा खानेपानीको अभाव रहेको बताउँदै प्रतिलिटर डेढ रुपियाँमा पानी किनेर व्यवसाय चलाउनुपर्ने बाध्यता रहेको दुखेसो सुनाए ।

    यस स्थानमा जाने सडकको अवस्था सुधार गर्न र पानीको दीर्घकालीन रूपमा समस्या समाधान गर्न आवश्यक भएको व्यवसायी चूडामणि दाहालले बताए । व्यास नगरपालिकाले मानहुँकोटको पर्यटन विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले मानहुँकोटको प्रचारप्रसारका लागि मानहुँकोटदेखि पुलिमर्याङसम्म ‘अल्ट्राम्याराथन’ दौड जस्ता प्रतियोगिता आयोजना गरिँदै आएको जानकारी दिए ।

    “मानहुँकोटको पर्यटन विकास हाम्रो पहिलो प्राथमिकतामा छ”, नगर प्रमुखले भने, “अहिले देखिएको खानेपानीको समस्या समाधानका लागि नगरपालिकाको सक्रियतामा योजनाको काम तीव्र गतिमा अघि बढिरहेको छ ।”

    शिरशिर चल्ने चिसो हावा, सूर्योदय, कुहिरोले ढपक्क ढाकेको दमौली बजारको दृश्य र हिमाली शृङ्खलाको अवलोकनका लागि मानहुँकोट पछिल्लो समय नेपालकै चर्चित गन्तव्यमध्ये एक बनेको छ । यातायातको सहजता र प्रचारप्रसारसँगै यहाँको पूर्वाधार विकास भएमा आगामी दिनमा पर्यटकको सङ्ख्या बढ्दै जाने त्यस क्षेत्रका व्यवसायी बताउँछन् ।

    -----


    प्रकाशित : बिहीबार , बैशाख १७ २०८३०९:५९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार