२०८३, कार्तिक १५ गते आइतबार

पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै

पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै


  • मेरोभ्यूज
  • बैशाख १७, २०८३ बिहीबार

  • पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै

     

    काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेर्ने काम धमाधम भइरहेको छ । त्यस क्रममा जयवागेश्वरी, गणेश र भैरवको माटाको नयाँ मूर्ति बनाउने काम भइरहेको छ ।

    हरेक १२/१२ वर्षमा मन्दिरको कलेवर फेर्ने गरिएको पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी अनिता भट्टले जानकारी दिइन् । वैशाख १८ गतेसम्म कलेवर फेरि सक्ने गरी काम भइरहेको उनले बताइन् ।

    जयवागेश्वरीमा टाउको काटिनुअघिको गणेशको मूर्ति रहेको छ । यसैले यहाँको मूर्तिमा सूँढ छैन । कलिगत संवत् ३२३२ मा सुरु भएर ४७ वर्षपछि ३२७४ मा जयवागेश्वरीको निर्माण सम्पन्न भएको इतिहास छ । वि.सं. १९९० को भूकम्पले क्षति पुगेको मन्दिर त्यसबेला जीर्णोद्धार गरिएको थियो । यस्तै, वि.सं. २०७२ वैशाख १२ को भूकम्पमा धेरै क्षति भएपछि मन्दिर पुनःनिर्माण गरिएको थियो ।

    जयवागेश्वरीलाई महासरस्वती, महाकाली र महालक्ष्मी मानिए पनि विद्याकी देवीका रूपमा बढी पुज्ने गरिएको छ । तन्त्र साधना गर्नेहरूले अन्तिममा जयवागेश्वरी मै आएर पूजा गर्ने परम्परा छ । मन्दिरसँगै सुन्धारा पनि स्थापना भएकामा हाल यसको अस्तित्व लोप हुने अवस्थामा पुगेको छ । जयवागेश्वरीको ठीक अघि तलेजु भवानीको मन्दिर स्थापना गरिएको छ ।

    जयवागेश्वरी उपत्यकाको पुरानो राजधानी मानिन्छ । स्थानीयवासी सन्देश मुनिकार ‘गोल’ भनिने जयवागेश्वरी उपत्यकाकै पहिलो बस्ती भएको बताउँछन् । यो बस्तीमा नौथरी जात, नौ पोखरी, नौ पाटी र नौ ढोकालगायत संरचना रहेको उनको भनाइ छ ।

    गोपाल र किराँत शासनकालको राजधानी जयवागेश्वरी रहेको र लिच्छविकालको राजधानी यहीँबाट सुरु भएर पछि हाँडीगाउँमा सरेको जानकारहरू बताउँछन् । मल्लकालमा भने हाँडीगाउँबाट हनुमानढोकामा राजधानी सारिएको इतिहास छ ।

    -----


    प्रकाशित : बिहीबार , बैशाख १७ २०८३०८:२२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार