२०८३, कार्तिक १५ गते आइतबार

नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका


  • मेरोभ्यूज
  • बैशाख १५, २०८३ मंगलबार

  • नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

     

    गण्डकी । सुन्दा पनि अचम्म लाग्न सक्छ । तनहुँको भिमाद नगरपालिका–९ धन्दुरस्थित सिद्ध गुफा नौ तले संरचनामा फैलिएको छ ।

    पृथ्वी राजमार्गअन्तर्गत भिमाद चोकबाट दस किलोमिटर दूरीस्थित धन्दुर क्षेत्रमा रहेको यो गुफामा अपेक्षितरूपमा पर्यटक भित्र्याउन सकिएको छैन ।

    गुफा क्षेत्रको पूर्वाधार विकाससँगै यसको प्रवर्द्धनमा नगरपालिकाले निरन्तर काम गरिरहेको भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले जानकारी दिए ।

    ऐतिहासिक एवं धार्मिक महत्वको यस गुफाको प्रवर्द्धनमार्फत यस क्षेत्रको पर्यटकीय विकास गर्ने नगरपालिकाको सोच रहेको छ ।

    यो गुफाका सम्बन्धमा परापूर्व कालदेखि स्थानीय जानकार भए पनि पर्यटकीय पूर्वाधार विकास र प्रचार-प्रसार हालै मात्र हुन थालेको सिद्ध गुफा विकास समितिका पूर्वउपाध्यक्ष बेलबहादुर थापाले जानकारी दिए ।

    उनका अनुसार गुफाको प्रवेश मार्ग साँघुरो भएका कारण निहुरिएर मात्रै भित्र पस्न सकिन्छ ।

    विभिन्न तलामा संरचित यो गुफामा प्रवेश मार्गबाट करिब ३० मिटरभित्र पसेपछि पहिलो तला आउँछ । उक्त तलामा करिब एक सय ५० बढी मान्छे अटाउने ठाउँ छ । त्यसपछि दोस्रो, तेस्रो, चौथो हुँदै नवौँ तलासम्म गुफा फैलिएको छ ।

    नगरपालिकाका प्रमुख सुवेदीका अनुसार यस अघि पुरानो पुस्ताका मानिस नवौ तलासम्म पुगेका थिए ।

    “मेरै पिताजीले गुफाको नवौँ तलासम्म पुगेको अनुभव सुनाउँथे भने मेरो दाजुले सात तलासम्म पुगेको सुनाए”, उनले भने, “चौथो तलासम्म म सहित धेरै जना पुगेका छौँ ।”

    अहिले पनि तेस्रो तलासम्म सजिलै पुग्न सकिने बताउँदै उनले चौथो तलामा जाने मार्गमा चुनढुङ्गा पग्लिएका कारण अत्यन्त साँघुरो र जोखिमयुक्त भएकाले माथि जान रोक लगाइएको बताए ।

    चौथो तलामा आँफू पुग्दा त्यहाँ तत्कालीन राजा सुरेन्द्रको पालामा काटिएका सिक्का, पैसा चढाउने तामाको भाडाजस्ता पुरातात्विक महत्वका सामग्री देखेको उनको भनाइ छ ।

    सरकारले घोषणा गरेको देशका एक सय पर्यटकीय गन्तव्यमा यस गुफा पनि एक रहेको छ ।

    जिदी खोला किनारको जङ्गल क्षेत्रमा अवस्थित यस गुफाभित्र ढिकी, जाँतो, गाईका थुन, हात्तीको सुँड, शिवलिङ्ग र विभिन्न देवीदेवताका आकृति देखिन्छन् ।

    स्थानीय तेजबहादुर थापाकाअनुसार यस गुफाको धार्मिकरूपमा पनि उत्तिकै महत्व छ ।

    प्रत्येक वर्ष साउन महिनामा शिवको विशेष पूजासँगै स्थानीयले बाली लगाउने र भित्र्याउने समयमा यहाँ पूजाआजासहित नवान्न चढाउने गर्दछन् ।

    यहाँ चैते दसैँमा मेला लाग्ने गरेको छ । पछिल्ला समयमा यहाँको पर्यटकको आकर्षण बढ्दै गएको छ ।


    प्रकाशित : मंगलबार, बैशाख १५ २०८३१०:३४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार