२०८३, कार्तिक १५ गते आइतबार

लाफा दाइको २८ वर्षे आर्ट यात्राः आर्ट व्यवसायबाटै नाम र दाम दुवै कमाउन सफल

लाफा दाइको २८ वर्षे आर्ट यात्राः आर्ट व्यवसायबाटै नाम र दाम दुवै कमाउन सफल


  • मेरोभ्यूज
  • बैशाख ३, २०८३ बिहीबार

  • लाफा दाइको २८ वर्षे आर्ट यात्राः आर्ट व्यवसायबाटै नाम र दाम दुवै कमाउन सफल

     

    खोटाङ । रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका भोजबहादुर थापा मगर ‘लाफा दाइ’ले आर्ट (चित्रकला) व्यवसाय शुरु गरेको २८ वर्ष पूरा भयो ।

    कलाकार भोजबहादुर आफ्नो नामले भन्दा कामले परिचित भएको छ । उनको आर्ट फर्मको नाम हो ‘लाफा आर्ट’ । उनी आफ्नो वास्तविक नाम (भोजबहादुर)ले भन्दा पनि लाफा दाइ भनेर चिनिने गरेको छ । लाफा भनेको मगर भाषामा साथी हो ।

    स्नातकसम्मको अध्ययन पूरा गरेर जिल्ला फर्केका भोजबहादुरले वि.सं. २०५४ मा दिक्तेल बजारमा आर्ट व्यवसाय शुरु गरेका थिए ।

    आधिकारिकरुपमा ‘लाफा आर्ट’ फर्म दर्ता गरेर व्यवसाय शुरु गरेका भोजबहादुरको अहिले मासिक कमाइ रु. ८० हजारदेखि रु. एक लाखसम्म हुने गरेको जनाएको छ ।

    जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित सल्लेसीटोलका गेहकुमार सैँजूको घरमा एउटा कोठा भाडामा लिएर आर्ट व्यवसाय शुरु गरेका भोजबहादुरले अहिले त्यसैको कमाइबाट आफ्नै घरसमेत किन्न सफल भएको छ ।

    केही थान कुची र रङको डब्बा राखेर व्यवसाय शुरु गरेका भोजबहादुरको अहिले फर्ममा मात्रै रु. चार करोड बढी लगानी पुगेको भोजबहादुरले जानकारी दिएको छ ।

    डुम्रेधारापानी निवासी पदमबहादुर र शुभद्रमायाँ थापा मगरका कान्छो सन्तानका रुपमा वि.सं. २०३४ पुस १५ गते जन्मेका भोजबहादुरले सामाजिक शास्त्रमा स्नातकसम्मको अध्ययन पूरा गरेको छ ।

    वि.सं. २०६१ सालमा साकेला गाउँपालिका–२ रतन्छाकी रेनुका राईसँग प्रेमविवाह गरेका भोजबहादुरको दुई छोरी र एक छोरा छन् ।

    शुरुमा ब्यानर तथा भित्ते लेखन गरेका भोजबहादुरको आर्ट फर्ममा अहिले आर्टसम्बन्धीका सम्पूर्ण काम, शिलालेख, ताम्रपत्र, टुडी बोर्ड, लाइभ बोर्ड, थ्रिडी बोर्ड, डिजिटल बोर्ड, निओन बोर्ड, टी–सर्ट तथा छापहरु प्रिन्टलगायत सबै सेवा उपलब्ध छ ।

    बिहानदेखि राति अबेरसम्म सेवाग्राहीको भिड लाग्ने भोजबहादुरको आर्ट फर्ममा उनकी श्रीमती रेनुकाले भरपुर सहयोग गर्दै आएकी छिन ।

    आर्ट व्यवसायबाट नाम र दाम दुवै कमाएका भोजबहादुरले विभिन्न सङ्घ/संस्थाबाट सम्मान प्राप्त गरिसकेको छ ।

    ललितकला सङ्गम विराटनगर र रोटरी क्लबले वि.सं. २०५८ तथा खोटाङ वाङ्मय कला प्रतिष्ठानले वि.सं. २०६० मा ताम्रपत्रसहित भोजबहादुरलाई सम्मान गरेको हो ।

    सरकारी कार्यालय तथा सार्वजनिकस्थलहरुमा झुन्डिएका बोर्ड तथा ब्यानरहरु सबैमा लाफा आर्ट लेखिएका भेटिन्छन् ।

    आर्टसँगै प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका भोजबहादुरले कला भरेका आर्टका सामग्री बाहिरी जिल्लाहरु धरान, विराटनगर, राजधानी काठमाडौंलगायत शहरहरुमा समेत निर्यात हुने गरेको छ ।

    आर्ट व्यवसायबाटै छोराछोरीको पठन-पाठन तथा घरव्यवहार चलाउनुका साथै बचत गर्दै आएका भोजबहादुर दम्पतीका जेठी छोरी सीमा थापा मगर भारतको बैङ्लोरमा नर्सिङ गर्दै छिन भने कान्छी सन्ध्या थापा मगर काठमाडौंको रिलायन्स कलेजमा विज्ञान विषय लिएर कक्षा १२ तथा छोरा सस्टिन थापा मगर दिक्तेल इङ्लिस बोर्डिङ स्कूलमा कक्षा ७ मा अध्ययन गर्दैछन् ।

    धनकुटा बहुमुखी क्याम्पसबाट वि.सं. २०५३ मा स्नातक उत्तीर्ण गरेका भोजबहादुरले एसएलसीसम्मको अध्ययन गाउँकै देउराली माध्यमिक विद्यालय डुम्रेधारापानीमा गरेको हो ।

    सानै उमेरदेखि चित्रकलामा रुचि राख्ने भोजबहादुर बिना प्रशिक्षण आर्ट पेसामा व्यावसायिक बनेको बताइएको छ । “मेरो पढाइ एकातिर भयो । व्यवसाय अर्कोतिर । तरै पनि यही व्यवसायबाट नाम र दाम दुवै कमाएको छु”, उनले भने, “व्यवसाय सफल हुनुमा रेनुको ठूलो हात छ । सेवाग्राहीको चाप भएको समयमा दुई जना (श्रीमान्/श्रीमती) मिलेर सेवा दिइरहेका छौँ । सेवाग्राही पनि सन्तुष्ट छन् ।”

    सेवाग्राहीले जिल्लामा हुने मेला/महोत्सव तथा आमसभाजस्ता सार्वजनिक कार्यक्रमका लागि आवश्यक ब्यानर, सजावटका सामग्रीलगायत सबै भोजबहादुरकै आर्ट फर्ममा बनाएर लाने गरेका छन् ।

    दिक्तेलस्थित शान्तिटोलमा सञ्चालित लाफा आर्ट फर्मबाट उत्पादित सामग्री आकर्षक र गुणस्तरीय हुने सेवाग्राहीले बताउने गरेका छन् ।

    आर्ट व्यवसायमा लामो समयदेखि निरन्तर जमिरहेका भोजबहादुरलाई सेवाग्राहीहरुले जिल्लामा निर्माण भएका पार्क (उद्यान) तथा पाटीपौवामा समेत लगेर कला भर्न लगाउने गरेका छन् ।

    भोजबहादुरले गरेको आर्ट सुन्दर, सफा र दीर्घकालीन हुने उनका सेवाग्राहीहरुले बताउँदै आएका छन् ।

    भर्खरै साकेला गाउँपालिकाले निर्माण गरेको साकेला पार्कमा भोजबहादुरले नै आर्ट गरेको छ ।

    पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित गाउँपालिकाको लगानीमा निर्माण गरिएको साकेला पार्कमा भोजबहादुरले विभिन्न जातजातिको मौलिक पहिचान झल्कने आकर्षक चित्रहरु कोरेको छ ।

    आर्ट व्यवसायसँगै प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका भोजबहादुरका चेलाहरुले जिल्लाका विभिन्न ठाउँमा आ-आफ्नो व्यवसाय शुरु गरेका छन् ।

    आफूले सिकाएका चेलाहरुले आफ्नो ठाउँमा फर्किएर आर्ट व्यवसायलाई व्यावसायिक रुप दिएकामा भोजबहादुर खुसी छन् ।

    दस स्थानीय तह रहेको जिल्लामा भोजबहादुरसँगै किशोर राई र लक्ष्मण राईले आर्ट व्यवसाय गर्दै आएको छ । किशोरले ‘रानोहँछा आर्ट’ र लक्ष्मणले ‘दुमी आर्ट’दर्ता गरेर व्यवसाय गरेको हो ।


    प्रकाशित : बिहीबार , बैशाख ३ २०८३०८:४०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार