२०८३, कार्तिक १५ गते आइतबार

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदी-बहिनी

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदी-बहिनी


  • मेरोभ्यूज
  • चैत्र २०, २०८२ शुक्रबार

  • घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदी-बहिनी

     

    भोजपुर । भोजपुरका दुई दिदी-बहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत ऊनी कपडा बुन्ने घरेलु उद्योग सञ्चालन गर्दै आएको छ ।

    आधुनिक प्रविधि र रेडिमेड कपडाको बढ्दो प्रयोगका बीच पनि परम्परागत सीपको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले रसिला ताम्राकार र हिरामाया ताम्राकारले ४२ वर्षदेखि निरन्तररुपमा यो पेसालाई जीवित राख्दै आएको हो । परम्परागत चर्खा तथा होजियारी मेसिनको प्रयोग गरी ऊनी धागोबाट स्विटर, चौबन्दीचोलो, ब्लाउज, मफ्लर, टोपीलगायत कपडा उत्पादन गर्दै आएको ताम्राकारले बताइन् ।

    विद्यार्थी, स्थानीय बासिन्दा तथा विशेष अर्डरका ग्राहकको मागअनुसार डिजाइन र साइजमा कपडा तयार गर्ने गरिएको उनको भनाइ छ ।

    विगतमा भोजपुरमा आधा दर्जनभन्दा बढीयस्ता घरेलु ऊनी उद्योग सञ्चालनमा रहेपनि पछिल्ला वर्षहरूमा अधिकांश बन्द भइसकेका छन् ।

    विविध चुनौतीको सामना गर्दै आफूहरूले चार दशकदेखि यही पेसालाई निरन्तरता दिँदै आएको बताइन् ।

    “हामीले २०४० सालदेखि निरन्तर यही पेसा गर्दै आएका छौँ”, रसिला ताम्राकारले भनिन्, “पहिला धेरैको रोजगारी बनेको यो पेसा अहिले लोप हुने अवस्थामा पुगेको छ । परम्परागत सीप जोगाउने उद्देश्यले नै हामी यसमा टिकिरहेका छौँ ।”

    ‘अजिमा ऊनी वस्त्रालय’ नामबाट सञ्चालन भइरहेको यस उद्योगबाट वार्षिक करिब रु. सात लाखसम्मको कारोबार हुने गरेको छ । कच्चा पदार्थ तथा अन्य खर्च कटाएर पनि करिब ५० प्रतिशतसम्म आम्दानी हुने गरेको उनीहरूको भनाइ छ ।

    यहाँ उत्पादन भएका ऊनी कपडा उपहारका रूपमा देशका विभिन्न जिल्लासँगै विदेश पनि पुग्ने गरेको हिरामाया ताम्राकारले जानकारी दिइन् ।

    उद्योग सञ्चालनका लागि धागो तथा अन्य कच्चा पदार्थ धरान, इटहरीलगायत शहरबाट ल्याइने गरिएको छ ।

    स्थानीय तहबाट प्रवर्द्धन, सीप हस्तान्तरणका कार्यक्रम तथा बजार व्यवस्थापनमा सहयोग भएमा परम्परागत घरेलु उद्योगले रोजगारी सिर्जना गर्नुका साथै स्थानीय संस्कृति संरक्षणमा पनि योगदान पुग्ने यहाँका ज्येष्ठ नागरिक बताउँछन् ।


    प्रकाशित : शुक्रबार, चैत्र २० २०८२०९:३९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार