२०८३, कार्तिक १५ गते आइतबार

धुनियाको व्यापार धरापमा, माग घट्यो

धुनियाको व्यापार धरापमा, माग घट्यो


  • मेरोभ्यूज
  • चैत्र २०, २०८२ शुक्रबार

  • धुनियाको व्यापार धरापमा, माग घट्यो

     

    विराटनगर । जाडोयाम सकिन लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनिया चिन्तित छन् । जाडो शुरु भएसँगै व्यस्त हुने धुनियाहरू यो वर्ष काम नपाउँदा चिन्तित भएका हुन् ।

    स्थानीय जनपथटोलमा अस्थायी बसोबास गर्दै आएका महमद इस्लाम विगत २३ वर्षदेखि धुनियाको काम गर्दै आएको छ । यही पेसाबाट उनले पाँच जनाको परिवारको पालनपोषण गर्दै आएका थिए ।

    गत वर्षदेखि सिरक–डस्ना बनाउन आउने ग्राहक घट्दै गएपछि अहिले बिहान–बेलुकाको छाक टार्नसमेत गाह्रो हुन थालेको उनी बताउँछन् ।

    चौवन्न वर्षीय इस्लामका अनुसार अन्य मौसममा खासै काम नहुने भए पनि जाडो शुरु भएसँगै दैनिक चार सयदेखि एक हजार पाच सय रुपैयाँसम्म कमाइ हुने गरेको थियो ।

    पहिले पहिले एकै दिनमा आठ–दसवटा सिरक–डस्ना बनाउने गरेको अनुभव सुनाउँदै उनी भन्छन्, “बाबुबाजेको पालादेखि यही काम गर्दै आएको हुँ । तर यो वर्ष त पुस आधा बितिसक्दा पनि एउटा पनि माग आएन । यसरी त यो पेसाले अब खानै धान्न गाह्रो हुने देखियो ।”

    इस्लामजस्तै पीडा विराटनगर–तीनटोलियाका रफिक सेखको पनि उस्तै छ । धुनियाको कामबाट परिवार पाल्दै आएका सेख यस वर्ष बजारको अवस्थाले वैकल्पिक पेसा खोज्न बाध्य भएको बताउँछन् ।

    बाबुको पेसागत बिँडो आफैँले सम्हाले पनि नौ वर्षे छोरालाई भने यहीँ पेसामा नलगाउने निर्णय गरेको उनले बताए ।

    “यो मसँगै काम गर्दै आएको थियो”, छेउमै खेलिरहेको छोरातर्फ देखाउँदै सेखले भने, “तर अब यसलाई धुनियाको काममा राख्दिनँ । यो काम मेरो हातमै आउन छाड्यो भने यसले के गर्छ ? त्यसैले अब अरु नै काम सिकाइ दिन्छु, जसले सधैँ धेरथोर कमाइ गरिरहोस् ।”

    जनपथटोलका महमद इस्लाम र तिनटोलियाका रफिक सेख मात्र होइन, जाडो महिना शुरु भइसक्दा पनि सिरक–डस्नाको माग नदेखिएपछि विराटनगरका धुनियाहरू मात्र होइन, यससँग जोडिएका व्यापारी पनि चिन्तित बनेका छन् ।

    विगतका वर्षहरूमा मङ्सिरको दोस्रो सातादेखि नै सिरक–डस्नाको कारोबार बढ्ने गरेको भए पनि यस वर्ष माघ लागिसक्दा पनि माग शून्यजस्तै रहेको व्यवसायी बताउँछन् ।

    बाटारोडस्थित जगदम्बा वस्त्रालयका व्यवसायी दुर्गादत्त अग्रवालका अनुसार पहिले जाडो शुरु हुनासाथ रेडिमेड सिरकसमेत ‘स्टक’ गरेर राखिन्थ्यो । तर अहिले ग्राहक देखाउनका लागि मात्र केही सिरक राख्नुपर्ने अवस्था आएको उनले जानकारी दिए ।

    “पहिले जाडोमा सय प्रतिशत कपास प्रयोग हुन्थ्यो”, अग्रवाल भन्छन्, “अहिले त्यसको तुलनामा दस प्रतिशत पनि प्रयोग हुँदैन । गत वर्ष मङ्सिरको दोस्रो हप्तादेखि नै माग आउँथ्यो, यसपाली त माघसम्म एउटा पनि माग आएको छैन ।”

    उनका अनुसार विगतका वर्षहरूमा सिरक–डस्ना बनाउन नेपाली कपासको माग उच्च हुने गरेको थियो, तर यस वर्ष पुरानो मौज्दात कपाससमेत प्रयोग हुन नसकेको अवस्था छ ।

    महावीररोडस्थित शिवम् इम्पोरियरका व्यवसायी विशाल शाहले पनि यस वर्ष सिरक–डस्नाको माग शून्य बराबर रहेको बताए ।

    “पहिले ग्राहक ‘अर्डर’ दिएर मात्र बनाउँथे”, उनले भने, “अहिले त्यसको तुलनामा दस प्रतिशत पनि व्यापार छैन । केही वर्षअघिसम्म बजारमा सधैँ भिडभाड हुन्थ्यो ।”

    शाहका अनुसार पछिल्लो समय धुनियाहरू घर-घरमै पुगेर सिरक–डस्ना बनाइ दिने भएकाले पनि पसलमा आउने माग घटेको छ ।

    यद्यपि, पसलमा बनाइने सिरक–डस्नामा प्रयोग हुने कपास प्रायः स्थानीय र गुणस्तरीय हुने भएकाले घरमै बनाइने भन्दा राम्रो हुने दाबी उनको छ ।

    “हामी गार्मेन्टका कतरनलाई पेलेर बनाइएको फ्रेस कपास प्रयोग गर्छौँ, त्यसैले हाम्रो सामानको गुणस्तर राम्रो हुन्छ”, शाहले भने ।

    “सिरक–डस्ना कपडाजस्तो बर्सेनी फेर्ने सामान होइन । त्यसैले बनाउँदा प्रयोग हुने कपासको गुणस्तरमा ग्राहकले ध्यान दिनुपर्छ ।”

    उनका अनुसार एउटा सिरक बनाउन चार पाँच केजीसम्म कपास लाग्ने गर्छ भने ग्राहकको चाहनाअनुसार कम–बढी गरेर पनि बनाइन्छ । व्यापारीका अनुसार बजारमा एक जोर सिरकको मूल्य रु. एक हजारदेखि आठ हजारसम्म पर्छ भने डस्नाको मूल्य रु. छ सयदेखि चार पाँच हजारसम्म पर्छ ।

    माग घट्दै जाँदा धुनियाको परम्परागत पेसा मात्र होइन, यससँग जोडिएको स्थानीय कपास, साना व्यवसाय र श्रमिकको जीविकोपार्जनमा समस्या भएको छ ।


    प्रकाशित : शुक्रबार, चैत्र २० २०८२०९:३५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार