२०८३, कार्तिक १५ गते आइतबार

जोमसोमका पानीघट्ट स्तरोन्नती

जोमसोमका पानीघट्ट स्तरोन्नती


  • मेरोभ्यूज
  • चैत्र २०, २०८२ शुक्रबार

  • जोमसोमका पानीघट्ट स्तरोन्नती

     

    मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोममा वर्षौंदेखि प्रयोगविहीन अवस्थामा रहेको पानीघट्टको मर्मतसम्भार तथा स्तरोन्नती गरिएको छ ।

    यहाँका महिलाहरूको नेतृत्व विकास गर्दै आदिवासी तथा परम्परागत प्रविधिको संरक्षण गरी जलवायु समानुकूलित गराउने उद्देश्यले यहाँका जीर्ण पानीघट्ट र भौतिक संरचना पुन:निर्माण गरिएको हो ।

    क्यानेडाली सरकार (सिएफएलआई)को आर्थिक सहयोगमा अन्तरराष्ट्रिय प्रकृति संरक्षण कोष नेपाल (आइसीयुएन)ले यहाँस्थित पानीघट्टको मर्मतसम्भार तथा स्तरोन्नती योजना कार्यान्वयनमा ल्याएको हो ।

    यसका लागि घरपझोङ गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र जोमसोम महिला समूहको सहकार्यमा स्थानीय महिला समूहले परम्परागत प्रयोगविहीन पानीघट्टको मर्मतसम्भार तथा स्तरोन्नती गरेको अन्तरराष्ट्रिय प्रकृति संरक्षण कोष नेपालका कार्यक्रम निर्देशक युवराज गुरागाईँले जानकारी दिए ।

    निर्देशक गुरागाईँका अनुसार जोमसोमका जीर्ण पानीघट्ट मर्मतसम्भार तथा स्तरोन्नतिका लागि स्थानीय महिला उपभोक्ता समितिमार्फत कार्यान्वयन हुनेगरी रु. नौ लाख ३४ हजारमा निर्माण सम्पन्न भएको बताए ।

    सदियौँ वर्ष पहिले पुर्खाहरूले निर्माण गरेका परम्परागत पानीघट्ट यहाँको प्राचीन संस्कृति र ऐतिहासिक धरोहर भएकाले यस प्रकारका प्रविधिलाई कालान्तरसम्म जोगाएर राख्नुपर्ने जोमसोम महिला समूहकी अध्यक्ष भुवन शेरचनले जानकारी दिइन ।

    आधुनिक प्रविधि युगमा मानिसहरू छिटोछरितो रूपमा काम गर्न चाहने भए पनि यहाँको पानीघट्टको मौलिक र विशिष्ट पहिचान रहेको अध्यक्ष शेरचनले बताइन् ।

    समूहकी अध्यक्ष शेरचनले विकास र पूर्वाधार निर्माण ठूलो नभइ संरक्षण र संवर्द्धनको पाटो महत्त्वपूर्ण भएकाले पानीघट्टको इतिहासलाई जीवित राख्नुपर्ने आवश्यकता रहेको औँल्याइन् ।

    प्रयोगविहीन अवस्थाका पानीघट्ट मर्मत तथा स्तरोन्नतिले जोमसोमका करिब दुई सय घरपरिवार प्रत्यक्ष लाभान्वित हुने घरपझोङ गाउँपालिकाका उपाध्यक्ष जमुना थकालीले बताइन् ।

    तत्कालीन समयमा यहाँ विद्युतीय सुविधा र आधुनिक उपकरणको प्रयोग नहुँदा पुर्खाहरूले पानीघट्टमा अन्नबाली पिसेर खाने गरेका थिए ।

    यहाँ दातृ निकायको सहयोगबाट जोमसोम पानीघट्टको पुरानो भौतिक संरचना पुन:निर्माण, घट्टका लागि पानी सञ्जय गर्ने ड्याम निर्माण र घट्टका लागि चाहिने आवश्यक उपरकणको व्यवस्थापन गरिएको समिति अध्यक्ष थकालीले बताइन् ।

    घट्टमा पिसेको पीठो स्वादिलो, पोषिलो र लामो समयसम्म टिकाउ हुने भएकाले निकै उपयोगी मानिएको छ ।

    घट्ट मर्मत तथा स्तरोन्नतिसँगै यहाँका नागरिकले उवा, जौँ, फापर, मकै, गहुँ र फापरको सुकेको पात (ढाप्रा)लगायत परम्परागत बाली पिसेर पीठो बनाउन प्रचलन छ ।

    पछिल्लो समय प्रविधिको विकाससँगै यहाँका पानीघट्ट लोपोन्मुख अवस्थामा रहेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए ।

    मुस्ताङका अधिकांश स्थानमा पानीघट्ट संस्कृति हराउँदै गइरहेको अवस्थामा एक्यापलगायत सङ्घ/संस्थाले पानीघट्ट संस्कृति जोगाउन काम गरिरहेको प्रमुख गुप्ताको भनाइ छ ।

    घट्ट संरक्षणले स्थानीय किसानलाई राहत पुगेको र यसले संस्कृतिको संरक्षण तथा पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने विश्वास गरिएको छ ।


    प्रकाशित : शुक्रबार, चैत्र २० २०८२०९:३०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार