गुल्मी । व्यावसायिक किबीखेतीमा कृषकको आकर्षण बढ्दै गएको छ । सत्यवती गाउँपालिका–८ अन्तर्गत भार्सेका कृषकले किबी बिक्री गरेर वार्षिक रु. ८० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
वि.सं. २०६५ देखि किबी लगाउन शुरु गरेका त्यहाँ कृषकको बारी यतिबेला किबीले ढपक्कै ढाकेको छ ।
किबीको व्यावसायिक उत्पादन शुरु गरेपछि उनीहरुको आम्दानीमा वृद्धि हुँदै गएको छ ।
जिल्लामा सबैभन्दा बढी किबी उत्पादन गर्ने पालिकामा सत्यवती गाउँपालिका पर्दछ ।
सत्यवतीको भार्सेमा हाल ४० हेक्टरभन्दा बढी क्षेत्रफलमा किबीको व्यावसायिक उत्पादन हुँदै आएको छ ।
यस वर्ष त्यहाँका कृषकले ८० टनभन्दा बढी किबी उत्पादन गरेको स्थानीय कृषक यमबहादुर थापाले जानकारी दिए ।
भार्सेमा उत्पादित किबी स्थानीय बजारदेखि पाल्पा र बुटवलसम्म बिक्री गरिन्छ । बजारमा उपलब्ध किबीको तुलनामा भार्सेमा उत्पादित किबीको फुटकर मूल्य प्रतिकिलो रु. दुई सयदेखि रु. तीन सयसम्म रहेको छ । यहाँका कृषकको मुख्य आम्दानी किबीखेती बनेको छ ।
सत्यवती गाउँपालिकाले भार्सेलाई किबीको पकेट क्षेत्र घोषणा गरेसँगै किबी उत्पादनमा स्थानीयको आकर्षण बर्सेनी बढ्दै गएको हो ।
किबी खेतीको व्यावसायिक उत्पादनका लागि कृषकलाई गाउँपालिकाबाट प्राविधिक सहयोगदेखि तालिम, बिरुवा, खम्बा निर्माण र सिँचाईलगायत क्षेत्रमा सहयोग गरिएको सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले जानकारी दिए ।
गत वर्ष गाउँपालिकाबाट नर्सरी सपना, बगैँचा व्यवस्थापनसँगै किबीको जाम र वाइन बनाउने तालिम प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले बताए ।
भार्सेका कृषक यमबहादुर थापा व्यावसायिक किबीखेती कृषकअन्तर्गत पर्छन् । उनले लगाएका सबै एक सय ५० बोटले फल दिन थालेको छ ।
गत वर्षको तुलनामा यस पटक उत्पादन घटे पनि किबीको बजार मूल्य भने राम्रै रहेको थापाले बताए ।
उनको बारीमा रेडकिबी, हेवार्ड, एलिसन र ब्रुनो जातका किबी रहेका छन् । अन्य खेतीको तुलनामा किबीबाट मनग्य आम्दानी हुने उनको अनुभव छ ।
भार्सेका कृषक पाँच किबी समूह गठन गरेर व्यावसायिकरुपमा उत्पादन गर्दै आएका छन् ।
सबैभन्दा धेरै किबी उत्पादन गर्नेमा ठूला पोखरी समूह पर्दछ । भार्से गाउँका पाखा बारी किबीले ढपक्कै ढाकिएका छन् ।
किबीका बिरुवाले रोपेको तीन वर्षबाटै फल दिन शुरु गरेपछि यो कृषकको मुख्य रोजाइमा परेको हो । किबीले एउटै बोटबाट ६० किलोदेखि एक सय २० किलोसम्म फल दिने गरेको वडाध्यक्ष होमबहादुर रानाले बताए ।
बाँदर, बनेल र चराचुरुङ्गीबाट अन्य खाद्यबाली जोगाउन समस्या परेको अवस्थामा किबीखेती भार्सेका कृषकका लागि यतिबेला प्रमुख आम्दानीको स्रोत बनेको छ । किबी बढी झुसिलो हुने भएका कारण पनि वन्यजन्तुले खासै हानी/नोक्सानी गर्दैनन् ।
जिल्लामा एक हजार दुई सय मिटरदेखि दुई हजार मिटर उचाइसम्म किबीखेती गरिँदै आएको छ ।
गुल्मीमा सत्यवती गाउँपालिकालगायत कालीगण्डकी, मदाने, मालिका, धुर्कोट, छत्रकोट, मुसिकोटलगायत पालिकामा पछिल्लो समयमा किबीको व्यावसायिक खेती गर्न थालिएको छ ।
किबी फल एक स्वस्थ र स्वादिष्ट फल मानिन्छ । किबीले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ ।
यसमा फाइबर पाइने भएकाले पाचन प्रक्रियालाई पनि राम्रो बनाउन मद्दत गर्छ ।
यसलाई जुस बनाउन र सलादका रुपमा प्रयोग गर्ने गरिन्छ ।
यो फलमा धेरै पौष्टिक तत्व भएका कारण सबै उमेर समूहका व्यक्तिका लागि उपयुक्त मानिन्छ ।

