२०८३, कार्तिक १५ गते आइतबार

सुनसरीमा चैते धान रोपाइँ

सुनसरीमा चैते धान रोपाइँ


  • मेरोभ्यूज
  • चैत्र १६, २०८२ सोमबार

  • सुनसरीमा चैते धान रोपाइँ

    सुनसरी । सुनसरीका किसान यतिबेला चैते धान रोप्न व्यस्त छन् । पर्याप्त सिँचाइ सुविधा पुगेका र सिमसार क्षेत्रका किसानलाई हाल धान रोपाइँ गर्न भ्याइनभ्याइ छ ।

    जिल्लामा चैते (हिउँदे) र बर्खे गरी दुईपटक धान उत्पादन हुने गरेको छ । मकैभन्दा धानबाट राम्रो उत्पादन हुने र दुईपटक धान लगाउँदा एक बाली बिक्री गरेर आम्दानी गर्न सकिने भएकाले यसतर्फ किसानको आकर्षण छ ।

    सुनसरीको रामधुनी नगरपालिका–६ का किसान भावना माझीका अनुसार एउटै खेतमा वर्षमा तीनपटकसम्म बाली लगाउन सकिन्छ । चैते धान समयमा रोपाइँ गर्न सकियो भने उत्पादन पनि राम्रो हुन्छ । एउटै खेतबारीमा बर्खे धान, चैते धानका साथै फापर/तोरी लगाइने गरेको उनले बताए ।

    जिल्लामा हाल चार हजार ६०० हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने गरेको छ । गत वर्ष चार हजार छ हेक्टरमा गरिएको चैते धानखेतीबाट २३ हजार १६० मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीनलाल श्रेष्ठले जानकारी दिए ।

    उनले भने, “चैते धानमा बर्खे धानको तुलनामा रोग तथा कीरा कम लाग्ने र उत्पादन पनि राम्रो हुने भएकाले किसानको आकर्षण बढ्दो छ । जिल्लामा विशेषगरी चैते–१, चैते–५ र हर्दिनाथ–३ जातको धान बढी रोप्ने गरिएको छ । चैते धानको उत्पादन राम्रो हुने र बजार मूल्यसमेत अनुकूल रहने भएकाले किसानले चैते धानखेती गर्न रुचाउने गरेका छन् ।”

    सुनसरीको बराहक्षेत्र नगरपालिका–५, ६ र ७, रामधुनी नगरपालिका–६, ७ र ९, भोक्राहा तथा इटहरीलगायत क्षेत्रमा चैते धान रोपाइँ बढी हुने गरेको छ । नहर तथा पैनी सिँचाइ सुविधा पुगेका र तरकारीखेती कम हुने क्षेत्रमा यस्तो धानखेती बढी हुने गरेको सूचना अधिकारी श्रेष्ठले बताए ।

    रामधुनी–७ का किसान डम्बर माझीले चैत महिनाभित्र रोपाइँ सके राम्रो उत्पादन हुने भएकाले हाल आफूहरू धान रोपाइँमा व्यस्त रहेको बताए । “चैत २० देखि २२ गतेभित्र रोपिसक्नुपर्छ, चैत महिनापछि रोपाइँ हुँदा उत्पादन कम हुन्छ”, उनले भने ।

    -----


    प्रकाशित : सोमबार, चैत्र १६ २०८२०२:०४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार