२०८३, कार्तिक १५ गते आइतबार

भार्सेमा भिक्टोरिया क्रस विजेता रानाको सालिक

भार्सेमा भिक्टोरिया क्रस विजेता रानाको सालिक


  • मेरोभ्यूज
  • चैत्र ११, २०८२ बुधबार

  • भार्सेमा भिक्टोरिया क्रस विजेता रानाको सालिक


    गुल्मी । लाहुरेहरूको गाउँका रूपमा परिचित यहाँको सत्यवती गाउँपालिका–८ भार्सेमा प्रथम विश्वयुद्धका वीर गोर्खा सैनिक तथा भिक्टोरिया क्रस प्राप्त कर्नबहादुर रानाको सालिक स्थापना गरिएको छ ।

    प्रथम विश्वयुद्धका क्रममा जर्मन सेनाविरुद्ध बहादुरी प्रदर्शन गरेवापत बेलायत सरकारले रानालाई सर्वोच्च सैनिक सम्मान भिक्टोरिया क्रस प्रदान गरेको थियो ।

    लाहुरेहरूको इतिहास जीवित राख्ने उद्देश्यसहित निर्माण गरिएको भार्से ग्यालरी परिसरमा रानाको सालिक स्थापना गरिएको हो ।

    जिल्लाको कालीगण्डकी गाउँपालिका–७ फोक्सिङ निवासी कर्नबहादुर रानाको जन्म सन् १८९८ मा भएको थियो । उनले १९ वर्षको कलिलो उमेरमै सन् १९१९ मा बेलायतका राजा जर्ज पाँचौँबाट भिक्टोरिया क्रस प्राप्त गरेका थिए । रानाको सन् १९७३ मा ७४ वर्षको उमेरमा निधन भएको थियो ।

    रानाको सालिक स्थापनाले दिवङ्गत तथा जीवित सम्पूर्ण लाहुरेहरूको सम्मान भएको सालिकका परिकल्पनाकार लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीले बताए ।

    इतिहास संरक्षणका लागि व्यक्तिगत अग्रसरतामा सालिक स्थापना गरिएको भन्दै स्थानीयवासीले बुढाथोकीप्रति आभार प्रकट गरेका छन् ।

    भार्से भूपू सङ्घको नेतृत्वमा करिब रु. १६ लाख लागतमा सालिक निर्माण गरिएको हो ।

    गुल्मेली मूर्तिकार यमबहादुर थापाले एक वर्षभन्दा बढी समय लगाएर रानाको सालिक निर्माण गरेको हो ।

    नेपाल सरकारका तर्फबाट कुनै औपचारिक सम्मान नपाएकाले व्यक्तिगत लगानीमार्फत उक्त सालिक निर्माण गरिएको भार्से भूपू सङ्घका कोषाध्यक्ष नरबहादुर बुढाथोकीले जानकारी दिए ।

    प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण भार्सेमा भूपूगोर्खा ग्यालरी र भार्से ग्यालरी स्थापना गरिएको छ ।

    ग्यालरीमा प्रथम विश्वयुद्ध लड्ने ८४ र दोस्रो विश्वयुद्ध लड्ने एक सय ७८ जनाको तस्विर र सङ्क्षिप्त इतिहास सङ्कलन गरिएको छ ।

    भूपूगोर्खा ग्यालरीमा हालसम्म पहिलो र दोस्रो विश्वयुद्ध लडेका ३४ जना दिवङ्गत व्यक्तिहरूको तस्विर तथा विवरण राखिएको छ ।

    ग्यालरीमा कम उमेरमा विश्वकै प्रतिष्ठित पदक भिक्टोरिया क्रस प्राप्त गर्ने कर्नबहादुर राना, भारतीय सेनामा नेपालबाट पहिलो कर्नेल श्रीप्रसाद बुढाथोकी तथा उनका पिता गिरीप्रसाद बुढाथोकीको तस्विरसमेत राखिएको छ ।

    भार्सेमा जन्मिए र हाल हङकङमा रहेका लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीको नेतृत्वमा ग्यालरी स्थापना गरिएको हो ।

    उनले ग्यालरी निर्माणका लागि अहिलेसम्म करिब रु. ५७ लाखभन्दा बढी रकम व्यक्तिगतरुपमा लगानी गरिसकेको छ ।

    ग्यालरीमा हाल भारतीय, बेलायती र नेपाली सेना, प्रहरी तथा राष्ट्रसेवक कर्मचारीहरूको चार सयभन्दा धेरै तस्विरहरु राखिएको छ ।


    प्रकाशित : बुधबार, चैत्र ११ २०८२०८:४८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार