२०८३, कार्तिक १५ गते आइतबार

स्थानीय पहिचान झल्काउने ‘स्तम्भ’

स्थानीय पहिचान झल्काउने ‘स्तम्भ’


  • मेरोभ्यूज
  • चैत्र १०, २०८२ मंगलबार

  • स्थानीय पहिचान झल्काउने ‘स्तम्भ’

     

    तेह्रथुम । वसन्तपुर बजार गुराँसको राजधानी तिनजुरे–मिल्के–जलजले (टिएमजे)क्षेत्र प्रवेश गर्ने प्रवेशद्वार हो । यहाँस्थित लालीगुराँस नगरपालिकाको सेवा केन्द्र रहेको पर्यटकीय बजार पुग्दा मुख्य चोकको बीच सडकमा निर्मित लालीगुराँसको स्तम्भले सबैभन्दा पहिले स्वागत गर्छ । स्तम्भले गुराँसको राजधानी टिएमजे क्षेत्र पुगेको सङ्केत गर्छ ।

    यो स्तम्भ २०७१ सालमा तत्कालीन पर्यटन कार्यालय काँकरभिट्टाको रु. तीन लाख र स्थानीयको सहयोग गरी कुल रु. पाँच लाख ८५ हजार बजेटमा निर्माण गरिएको हो ।

    लालीगुराँस स्तम्भ लालीगुराँस नगरपालिकाको पहिचानजस्तै बनेको पूर्व प्रदेश सभा सदस्यसमेत रहेका लालीगुराँस संरक्षण अभियन्ता लक्ष्मण तिवारीले बताए ।

    गुराँस याममा मात्रै फुल्छ, तर यहाँ पुग्ने पर्यटकलाई गुराँसको सदाबहार विम्ब देखाउन लालीगुराँस स्तम्भ निर्माण गरिएको उनले बताए ।

    कोशी प्रदेशको पहाडी जिल्ला तेह्रथुममा स्थानीय पहिचान झल्काउन र स्थान विशेषको विशेषता बुझाउन ‘स्तम्भ’ निर्माण गर्ने गरिएको छ ।

    स्थान विशेषसँग सम्बन्धितयस्ता स्तम्भले सम्बन्धित ठाउँको पहिचान दिन साथै प्रचार-प्रसारमा सहयोग पुगी पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुगेको स्थानीय बताउँछन् ।

    स्थान विशेषको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व साथै स्थानीय विशेषता ती स्तम्भले बोकेका हुन्छन् ।

    जिल्ला सदरमुकाम म्याङलुङमा निर्मित मेयङ अर्थात् बिरालोको स्तम्भले म्याङलुङको ऐतिहासिकता बोकेको छ । मेयङ अर्थात् बिरालोको स्तम्भ म्याङलुङको विम्ब हो ।

    परापूर्वकालमा म्याङलुङ नगरपालिका–२ नागदहमा बिरालो आकारको ढुङ्गाको रूपमा प्रकट भएकी शक्तिशाली मेयङलुङ देवीलाई पछि हालको म्याङलुङ बजारमा प्रतिस्थापन गरिएको इतिहास छ ।

    यहीँ देवीको नामबाट सदरमुकामको नाम मेयङलुङ हुँदै म्याङलुङ रहन गएको हो । स्थानीय पालिकाको नामसमेत यसै देवीको नामबाट म्याङलुङ नगरपालिका राखिएको छ ।

    यहीँ मेयङलुङको मिथक र ऐतिहासिकतालाई जीवन्त राख्न यो स्तम्भ निर्माण गरिएको स्तम्भ निर्माणको अगुवाइ गरेको किरात याक्थुङ चुम्लुङ तेह्रथुमका तत्कालीन सचिव तेजमान कन्दङवा बताउँछन् ।

    आर्थिक वर्ष २०७२/७३ मा म्याङलुङ नगरपालिकाको रु. पाँच लाख र अन्य सहयोगी दाताको सहयोग गरी करिब रु. ३५ लाख लागतमा रेलिङ, सिसी क्यामेरा र घण्टा-घण्टामा बिरालोको आवाज निकाल्ने साउन्ड प्रविधिसहितको मेयङलुङ स्तम्भ निर्माण गरिएको थियो ।

    स्थानीय पहिचान र विशेषता झल्काउन निर्माण गरिएका यस्ता स्तम्भले पर्यटकलाई आकर्षित गर्ने र उनीहरूमा त्यसबारे जान्ने इच्छा जागृत गराउने स्थानीय बताउँछन् ।

    पर्यटक र यात्रा गर्ने क्रममा यात्रुहरूले यी स्तम्भमा तस्बिर खिच्ने, रिल र टिकटक बनाइ सामाजिक सञ्जालमा पोष्ट गर्दा यी स्थानको प्रचार-प्रसार र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुगेको स्थानीयको भनाइ छ ।

    सदरमुकाम म्याङलुङमा मेयङलुङको स्तम्भ निर्माण गरिएपछि मानिसहरूको चहल-पहल बढेको म्याङलुङकी स्थानीय कल्पना ल्वागुनले सुनाए ।

    विशेषतः मध्यपहाडी लोकमार्गमा पर्ने बजार र चोकहरूमा यस्ता स्तम्भ निर्माण गरिएका छन् ।

    स्थानीय बजार र गाउँ-ठाउँको इतिहास र चिनारी झल्काउने मात्र होइन स्थानीय कृषि उपजको प्रचार-प्रसार र प्रवर्द्धन गर्न पनि स्तम्भ निर्माण गरिएका छन् ।

    स्थानीय कृषि उपज लसुनको लागि प्रख्यात लसुने बजारमा लसुनको स्तम्भ निर्माण गरिएको छ ।

    लालीगुराँस नगरपालिका वडा नं. ७ र ९ को सङ्गमस्थलमा पर्ने लसुने बजारमा देश–विदेशमा रहेका लसुनेवासीको सहयोगमा २०७२ सालमा लसुनको स्तम्भ निर्माण गरिएको स्थानीय हिमबहादुर खत्रीको भनाइ छ ।

    बजारको मध्यभागमा मध्यपहाडी लोकमार्ग सडकसँगै रहेको ‘लसुन स्तम्भ’ देखेरै धेरैले यो ठाउँको नाम र विशेषता थाहा पाउने गरेको उनले बताए ।

    त्यस्तै, म्याङलुङ नगरपालिका–९ स्थित हलिमेला बजारमा पनि काँधमा हलो बोकेको हलीको स्तम्भ निर्माण गरिएको छ ।

    म्याङलुङ नगरपालिका र स्थानीयको सहयोगबाट निर्माण गरिएको स्तम्भको गएको वैशाखमा उद्घाटन गरिएको थियो ।

    खेतैखेत रहेको हलिमेलामा पहिले खेतीपाती गर्ने क्रममा हलीहरू बस्दथे । पछि उनीहरुले नै यहाँ मेला लगाउने प्रचलनसमेत शुरु गरे । अहिले पनि हरेक वर्ष वैशाख १, २ र ३ गते हलीमेलामा मेला लाग्छ । त्यसैले यो ठाउँको नाम हलीमेला रहन गएको बताइन्छ ।

    हलीमेलाको यहीँ ऐतिहासिकतालाई अक्षुण राख्न स्तम्भ निर्माण गरिएको स्थानीय खगेन्द्र तामाङले बताए ।

    सदरमुकाम म्याङलुङको टुँडिखेलमा ढाका कपडा बुनिरहेको महिलाको स्तम्भ निर्माण गरिएको छ । यसले २०७९ सालमै ढाका कपडाको राजधानी घोषणा गरिएको तेह्रथुमे ढाका कपडाको लोकप्रियतालाई उजागर गर्छ ।

    प्रदेश सरकार र नगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको यो स्तम्भले स्थानीय ढाका कपडा बुन्ने महिलाहरूको सम्मान भएको म्याङलुङ नगरपालिकाका उपप्रमुख जमुना कार्की सुवेदीले जानकारी दिए ।

    यसरी निर्माण गरिएका स्तम्भले इतिहास र परम्परालाई जीवन्त राख्न, स्थानीय विशेषता र महत्व दर्शाउन साथै पर्यटन प्रवर्द्धन गर्न सहयोग पुगेको जिल्लावासी बताउँछन् ।

    यसका लागि स्थानीय सरकार र स्वयं स्थानीयसमेत एकजुट हुने गरेका छन् ।

    पर्यटन प्रवर्द्धन र मौलिकता संरक्षणका लागि अपनाइएको यो शैली सुन्दर र प्रभावकारी बनेको किरात याक्थुङ चुम्लुङ तेह्रथुमका सचिव राजकुमार तेयुङले जानकारी दिए ।


    प्रकाशित : मंगलबार, चैत्र १० २०८२०९:३८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार