२०८३, कार्तिक १५ गते आइतबार

स्याङ्जामा यस वर्ष रु. एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

स्याङ्जामा यस वर्ष रु. एक अर्ब ३२ करोडको सुन्तला उत्पादन


  • मेरोभ्यूज
  • चैत्र २, २०८२ सोमबार

  • स्याङ्जामा यस वर्ष रु. एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

     

    स्याङ्जा । स्याङ्जाबाट यस वर्ष रु. एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ ।

    राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष कुल २३ हजार दुई सय ३८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । यहाँ उत्पादन भएको सुन्तला थोकमा प्रतिकेजी रु. ५७ का दरले बिक्री भएको छ ।

    गत वर्षको तुलनामा यस वर्ष रु. २० करोड बढी मूल्यको सुन्तला उत्पादन भएको हो । गत वर्ष २० हजार ८४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष गत वर्षको तुलनामा उत्पादकत्वसमेत बढेको छ ।

    यस वर्ष १६.३७ टन प्रतिहेक्टर उत्पादन भएको छ भने गत वर्ष १४.६६ टन प्रतिहेक्टर उत्पादन भएको थियो ।

    स्याङ्जा जिल्लामा उत्पादन भएको कूल परिमाणको सुन्तलामध्ये ९० प्रतिशत बिक्री हुने गरेको छ भने बाँकी रहेको १० प्रतिशत सुन्तला कोसेली, उपहार तथा घर-घरमै खपत हुने गरेको उनले बताए । यस वर्ष उत्पादन भएकामध्ये २० हजार आठ सय ८२ मेट्रिक टन बिक्री योग्य परिमाणको सुन्तला हो ।

    स्याङ्जामा गत वर्षको तुलनामा यस वर्ष सुन्तला बगैँचाले ढाकेको क्षेत्रफलमा वृद्धि भएको छ । गत वर्ष दुई हजार दुई सय ५० हेक्टर क्षेत्रफलमा रहेको सुन्तला बगैँचा यस वर्ष एक सय ५० हेक्टर क्षेत्रफल वृद्धि भइ दुई हजार चार सय हेक्टर पुगेको उनले जानकारी दिए ।

    गत वर्ष एक हजार तीन सय ७० हेक्टर उत्पादनशील क्षेत्रफल रहेको थियो । यस वर्ष उत्पादनशील क्षेत्रफल एक हजार चार सय २० हेक्टर रहेको छ । हुर्कँदो बगैँचाको क्षेत्रफलसमेत गत वर्षको तुलनामा यस वर्ष एक सय हेक्टर वृद्धि भएको छ । गत वर्ष आठ सय ८० हेक्टर रहेकामा यस वर्ष नौ सय ८० हेक्टरमा हुर्कँदो सुन्तलाको बगैँचा रहेको छ ।

    वि.सं. २०७३/७४ मा स्याङ्जालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन एकाइ घोषणा गरिएको थियो । आ.व. २०७५/७६ को शुरुवातसँगै स्याङ्जालाई सुपरजोन घोषणा गरिएको थियो ।

    सुन्तलाका क्षेत्रमा सुपरजोन घोषणा भइ कार्यान्वयनमा आएसँगै जिल्लामा सुन्तला उत्पादनतर्फ किसान थप आकर्षित भएर लागेका छन् ।

    स्याङ्जामा सुन्तला व्यवसायलाई मुख्य आम्दानीको स्रोतका रूपमा विकास गर्ने पद्धतिको विकास हुँदै गएको छ । जिल्लाका विभिन्न भागमा निर्वाहमुखी र घरायसी प्रयोजनका लागि गरिँदै आएको सुन्तलाखेतीलाई विस्तार गरी व्यवसायीकरण गर्न थालिएको छ ।

    सुन्तलाखेतीलाई प्रमुख आम्दानीको स्रोतका रूपमा विकास गर्नेतर्फ सुन्तला किसानको लहर बढ्दै गएको छ ।

    पाखो, भिरालो जमिन तथा बारीमा अन्य रुख बुट्यानलाई फडानी गरी सुन्तला बगैँचा निर्माण गर्ने र अन्य खाद्यान्न उत्पादन हुने जमिनलाई सदुपयोग गरी सुन्तलाका बोट लगाउनेतर्फ अहिले किसान आकर्षित हुँदै गएका छन् ।

    जिल्लाको पुतलीबजार, वालिङ, भिरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदीखोला, विरुवा, अर्जुनचौपारी गाउँपालिका सुन्तला उत्पादनको मुख्य पकेट क्षेत्र हुन् ।

    यहाँका सुन्तला काठमाडौँ, बुटवल, पोखरा, नारायणगढलगायत ठूला शहरमा पुग्ने गरेका छन् । स्याङ्जामा उत्पादन भएको सुन्तला खरिद गर्न सिधै व्यापारी बगैँचामा पुग्ने गरेका छन् ।


    प्रकाशित : सोमबार, चैत्र २ २०८२०८:०३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार