२०८३, कार्तिक १५ गते आइतबार

मुस्ताङमा सन् २०२५ मा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतभन्दा बढीले वृद्धि

मुस्ताङमा सन् २०२५ मा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतभन्दा बढीले वृद्धि


  • मेरोभ्यूज
  • चैत्र १, २०८२ आइतबार

  • मुस्ताङमा सन् २०२५ मा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतभन्दा बढीले वृद्धि

     

    मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ ।

    यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार चार सय तीन जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ ।

    सन् २०२५ मा समग्रमा गत वर्षभन्दा १८ दशमलव ७१ प्रतिशतले पर्यटकको आवागमन वृद्धि भएको जनाइएको छ । उक्त वर्षको जनवरीदेखि डिसेम्बर ३१ तारिखसम्म यहाँ कुल एक लाख ६१ हजार एक सय २२ जना विदेशी पर्यटक भित्रिएको एक्याप जोमसोम कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए ।

    उनका अनुसार सन् २०२४ मा एक लाख ३५ हजार सात सय १९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए ।

    गत वर्ष यहाँ आउने पर्यटकमध्ये सार्क राष्ट्रबाट एक लाख ३२ हजार आठ सय ४७ र अन्य राष्ट्रबाट २८ हजार दुई सय ७५ जना रहेका छन् ।

    त्यसअघि सार्क राष्ट्रबाट एक लाख नौ हजार पाच सय ४९ र अन्य राष्ट्रबाट २६ हजार एक सय ७० जना विदेशी पर्यटक यहाँ आएको तथ्याङ्क छ ।

    एक्याप प्रमुख गुप्ताका अनुसार सन् २०२४ को अनुपातमा सन् २०२५ को १२ महिनाको अवधिमा यहाँ सार्क राष्ट्रतर्फ २३ हजार दुई सय ९८ र अन्य राष्ट्रबाट दुई हजार एक सय पाच जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको हो ।

    यस हिसाबले सार्कतर्फ १७ दशमलव ५७ प्रतिशत र अन्य राष्ट्रतर्फ सात दशमलव ४४ प्रतिशत पर्यटकको सङ्ख्या वृद्धि भएको हो ।

    हिमाली जिल्ला मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दो रहेको छ ।

    यद्यपि, गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको प्रभावका कारण अपेक्षा गरिएअनुरुपको विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुन नसकेको एक्याप प्रमुख गुप्ताको भनाइ छ ।

    सन् २०२५ मा यहाँ करिब ३० प्रतिशत विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुने अनुमान गरिए पनि सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पर्यटक सङ्ख्या कम हुँदा अनुमानअनुसार पर्यटक वृद्धि हुन नसकेको हो ।

    युवा आन्दोलनको असरले यहाँ सन् २०२४ को भन्दा सन् २०२५ को सेप्टेम्बरमा तीन हजार छ सय ३८, अक्टोबरमा आठ सय ५४ र नोभेम्बरमा ७० जना विदेशी पर्यटक घटेका जनाइएको छ ।

    एक्याप प्रमुख गुप्ताले सन् २०२५ मा जनवरीदेखि अगस्त र डिसेम्बर अन्तिमसम्म पर्यटकको सङ्ख्या वृद्धि भएको बताए ।

    यहाँ भ्रमण गर्नेमा बढी मात्रामा भारतीय पर्यटक रहेका छन् । एक्याप प्रमुख गुप्ताले यहाँ भित्रिएका पर्यटकमध्ये ८२ प्रतिशत सार्क राष्ट्र र १८ प्रतिशत अन्य मुलुकका रहेकामा सार्क राष्ट्रका कुल पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी भारतीय रहेको जानकारी दिए ।


    प्रकाशित : आइतबार, चैत्र १ २०८२०९:४७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार