काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीनवर्षे बनाइने बताएका छन् । त्रिविले २०७१ /०७२ सालदेखि व्यवस्थापन सङ्कायतर्फ र २०७८ सालदेखि मानविकी संकायतर्फ चारवर्षे स्नातक कार्यक्रम सुरू गरेकाे थियाे ।
विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज पदबहाली गरेपछि त्यहाँ उपस्थित विभागीय प्रमुख, कर्मचारी तथा प्राध्यापकहरुलाई सम्बोधन गर्दै उपकुलपति प्राडा बरालले चारवर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी बढ्नाका साथै त्रिविको कार्यसञ्चालनमा पनि असहजता थपेको बताए ।
“बाहिरको शिक्षा प्रणाली अनुकूल बनाउन जनाउँदै चारवर्षे गरियो तर छिमेकी भारत, युरोपेली मुलुकलगायत थुप्रै ठाउँमा अहिले पनि तीनवर्षे स्नातक कार्यक्रम नै चलिरहेको छ”, उनले भने । अमेरिकालगायत केही देशमा चारवर्षे स्नातक तहका कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गर्दै उपकुलपति बरालले भने, “त्यस्ता देश वा त्यस्तै चारवर्षे विषय पढ्न जान चाहने विद्यार्थीका लागि तीनवर्षे कोर्ष सकेपछि थप एक वर्षको छुट्टै मानार्थ उपाधिका कार्यक्रम चलाउन सकिन्छ ।”
साथै उनले विषयको विशिष्टताका कारण केही विषयका स्नातक कार्यक्रम भने चारवर्षे वा पाँचवर्षे हुनसक्ने बताए । विश्वविद्यालयका केही कार्यक्रममा विद्यार्थी सङ्ख्या अत्यन्त न्यून र केहीमा शून्य रहेकातर्फ औँल्याउँदै उनले अहिले मानविकी सङ्कायमा अरू कार्यक्रमको तुलनामा कम विद्यार्थी भर्ना हुने गरेको बताए ।
यसको समाधानका लागि मानविकीलाई सबै सङ्काय र कार्यक्रमबाट आउन मिल्ने (मल्टी डिसिप्लिनरी लिवरल आर्ट )का रुपमा पुनःसंरचना गरिने उनकाे भनाइ थियाे । शिक्षा सङ्कायका कार्यक्रमलाई पनि सबै विषयबाट प्रवेश गर्न मिल्ने बनाइन उनले बताए।

