२०८३, कार्तिक १५ गते आइतबार

प्रधानमन्त्री भन्छन् - नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव भोग्नु परेको छ

प्रधानमन्त्री भन्छन् - नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव भोग्नु परेको छ


  • मेरोभ्यूज
  • फाल्गुण ४, २०८० शुक्रबार

  • प्रधानमन्त्री भन्छन् - नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव भोग्नु परेको छ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा लगभग शून्य योगदान भए पनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोगिरहेको बताएका छन् । 

    जलवायु परिवर्तन र दिगो विकासमा सांसद्को भूमिका विषयक सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उनले जलवायु परिवर्तन सामाजिक–आर्थिक र वातावरणीय कल्याणका लागि ठूलो चुनौती भएको बताए । 

    विश्वव्यापी खतराको रूपमा विकसित भइरहेको जलवायु परिवर्तनले विकासका सम्भावनामा गम्भीर असर पार्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अतिकम विकसित मुलुक जलवायु परिवर्तनको प्रभावबाट बढी जोखिममा रहेको स्पष्ट पारे । 

    “हाम्रा जनता पहिरो, बाढी, जङ्गलको डढेलो, हिम पहिरोको प्रकोप, खडेरी आदिजस्ता जलवायुजन्य प्रकोपबाट नराम्ररी प्रभावित भएका छन्,” उनले भने, “जोखिममा परेका त्यस्ता मुलुकका जनतालाई आर्थिक र प्राविधिक सहयोगको आवश्यकता छ, त्यस विषयमा संसारको ध्यान जानुपर्छ ।” 

    जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने योजना कार्यान्वयन गर्ने प्रयासमा गम्भीर वित्तीय र प्राविधिक खाडल देखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पारिस्थितिकी प्रणाली र जलवायु परिवर्तनसँग जनतालाई लचिलो बनाउन एवं स्थानीयस्तरमा जलवायु अनुकूलन गर्नेगरी योजना बनाएर कार्यान्वयन गर्न थप स्रोतहरू जुटाउनुपर्ने आवश्यकता रहेको बताए । 

    जलवायु न्यायको पक्षमा वकालत गर्न र पारिस्थितिकी प्रणाली, मानिस र पृथ्वीको दिगो भविष्य रक्षाका लागि विश्वका सांसद र नीति निर्माताबीच वार्ता गर्नुपर्नेमा आफू विश्वस्त रहेको उनकाे भनाइ थियाे । प्रधानमन्त्री दाहालले सहज तवरले हानी र नोक्सानी कोष कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । 

    उनले भने, “एक सय बिलियन अमेरिकी डलरको जलवायु वित्त दायित्व पूरा गर्न, हरित जलवायु कोषमार्फत जलवायु कार्यलाई गति दिन तथा अतिकम विकसित मुलुकको पहुँच विस्तार गर्न र त्यसको कार्यान्वयनमा जोड दिन चाहन्छु ।” 

    अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा प्रधानमन्त्री दाहालले विकसित अर्थतन्त्र र अन्तर्राष्ट्रिय समुदायलाई जलवायु परिवर्तनको जोखिममा रहेका मुलुकलाई सहयोग गर्न आग्रहसमेत गरे । 

    स्वच्छ ऊर्जा सुरक्षित गर्न र ४५ प्रतिशत वनले ढाकेको जमिनलाई कायम राख्न नेपाल पूर्णरूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले भने,  “नेपाल पेरिस सम्झौताप्रति पूर्णप्रतिबद्ध छ । हामी सन् २०४५ सम्ममा शून्य हरितगृह ग्यास उत्सर्जन हासिल गर्न प्रतिबद्ध छौँ ।”


    प्रकाशित : शुक्रबार, फाल्गुण ४ २०८००८:१५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार