२०८३, कार्तिक १५ गते आइतबार

जनताका पक्षमा दरिलो भूमिका खेल्न अध्यक्ष दाहालकाे निर्देशन

जनताका पक्षमा दरिलो भूमिका खेल्न अध्यक्ष दाहालकाे निर्देशन


  • मेरोभ्यूज
  • माघ २२, २०८० सोमबार

  • जनताका पक्षमा दरिलो भूमिका खेल्न अध्यक्ष दाहालकाे निर्देशन

    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदलाई निर्देशन दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बिहान बसेको बैठकमा अध्यक्ष दाहालले पार्टीको नीति एवं सरकारले गरेका कामबारे संसद्मा दरिलोरूपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् ।

    “तपाईंहरू राम्रो तयारीका साथ संसद्मा प्रस्तुत हुनुहोस् । सरकारका काम र पार्टीको नीतिअनुसार दर्बिलो भएर प्रस्तुत हुनुहोस्,” प्रधानमन्त्री प्रचण्डले भने, “सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अधिकतम कोशिस गरिएको छ । सरकारले राम्रा काम गरेका छन् । यी विषयमा सदनमा आफ्ना विषय प्रस्तुत गर्नुहोस् ।”

    आगामी आर्थिक वर्षमा परिणाम निस्किनेगरी बजेट ल्याउने तयारी गरिएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले तीन करोडभन्दा साना योजनाहरू केन्द्रमा नराखी तल्लो तहमा पठाइने जानकारी दिए । उनले गठबन्धनको साझा दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

    सङ्घीय लोकतन्त्र आफूहरूको सक्रियतामा ल्याएको उल्लेख गर्दै उनले भने, “यो व्यवस्था हामीले ल्याएको हो । यसको रक्षा र सुदृढ गर्ने दायित्व पनि हाम्रो नै हो । त्यसैले व्यवस्था विरोधी मतका विरूद्ध र व्यवस्थाको पक्षमा वैचारिक रूपले प्रस्तुत हुनुपर्छ ।”

    नीति तथा कार्यक्रम र बजेट निर्माणमा नयाँ पहल लिइएको जानकारी दिँदै अध्यक्ष दाहालले सांसद र जनताले समेत बहस गर्ने र उनीहरूको कुरा पनि समावेश हुनेगरी नीति तथा कार्यक्रम र बजेट बनाउनेगरी आगाडि बढिने प्रतिबद्धता व्यक्त गरे । 

    बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक यही अधिवेशनबाट सहमतिमा पास हुने उल्लेख गर्दै उनले भने, “सकेसम्म सहमतिबाट टिआरसी विधेयक टुङ्गाउँदा सबैको हितमा हुन्छ । सोही प्रक्रियामा जानुपर्छ ।”


    प्रकाशित : सोमबार, माघ २२ २०८००४:२६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार