काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन सहिदले देखेका सपना र उहाँहरूले गर्नुभएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताएका छन् ।
सहिद स्मारक लैनचौरमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने सहिद विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने बताए ।

नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति सहिदले उच्च बलिदान गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले सहिदका सपना पूरा गर्नका निम्ति मन, वचन र कर्मले सबै क्रियाशील रहनुपर्नेमा जोड दिए ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले सहिदका सपना पूरा गर्न साझा सङ्कल्पको खाँचो औँल्याउँदै उहाँहरुले देखाउनुभएको बाटोमा सबै अग्रसर हुनुपर्ने बताइन् । सो अवसरमा प्रधानमन्त्री दाहालले सहिदको शालिकमा माल्र्यापण गरेका थिए । समारोहमा उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्री गण, उच्चपदस्थ कर्मचारीलगायतको उपस्थिति थियो ।

