२०८३, कार्तिक १५ गते आइतबार

पाठ्यपुस्तक छपाइको काम धमाधम, प्रधानमन्त्री कार्यालयद्वारा अनुगमन

पाठ्यपुस्तक छपाइको काम धमाधम, प्रधानमन्त्री कार्यालयद्वारा अनुगमन


  • मेरोभ्यूज
  • माघ ११, २०८० बिहीबार

  • पाठ्यपुस्तक छपाइको काम धमाधम, प्रधानमन्त्री कार्यालयद्वारा अनुगमन

    काठमाडाैं । चालु शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पाउन सफल विद्यार्थीले आगामी शैक्षिक सत्रमा पनि भर्नाअघि नै पुस्तक पाउने गरी छपाइको काम तीव्र पारिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले पुस्तक छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमन गर्दै भर्नाअघि नै छपाइ सक्ने गरी काम भइरहेको जनाएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्नाअघि नै विद्यालयमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिएपछि गतवर्ष तीव्र गतिमा छपाइ सम्पन्न गरी इतिहासमा नै पहिलोपटक सबै विद्यार्थीले भर्नासँगै पुस्तक पाएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गएको अनुगमन टोलीसँग लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाले समयमै पाठ्यपुस्तक पुर्याउन आफूहरू प्रतिबद्ध रहेको बताए ।

    “छपाइका लागि आवश्यक कागज खरिद भइसकेको र छाप्ने काम पनि दुई सिफ्टमा सातै दिन, चौबिसै घण्टा चलिरहेको छ”, झाले भने, “पुस्तक छपाइसँगै विभिन्न डिपोमा ढुवानी पनि सँगै चलिरहेको छ ।” शिक्षा मन्त्रालयले यस वर्षको पुस्तक छपाइका लागि कक्षा १ देखि ४ सम्म निजी क्षेत्रका छापाखाना र कक्षा ५ देखि १२ सम्म जनक शिक्षाले छपाइ गर्ने निर्णय गरेसँगै प्रकाशनमा तीव्रता आएको हो ।

    निजी क्षेत्रका छापाखानालाई समेत छनौट गर्न पाठ्यक्रम विकास केन्द्रले बोलपत्र आह्वान गरिसकेको छ । जनक शिक्षा लिमिटेडका अनुसार कक्षा ५ देखि १२ सम्म करिब एक करोड ७० लाख पुस्तक आवश्यक भएकामा अब करिब ६५ लाख थान पुस्तक मात्र छाप्न बाँकी छन् । केन्द्रले दैनिक ७० हजार देखि ८० हजार प्रतिथानका दरले पुस्तक छपाइ र तयारी भइरहेको जनाएको छ ।

    प्रधानमन्त्रीका जनसम्पर्कविज्ञ बुद्धि जिसी, स्वकीय सहसचिव गोकर्ण भट्ट, सहसचिव सङ्गीता ओझालगायतको टोलीले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आकस्मिक अनुगमन गरेको थियो । गतवर्ष पुसपछि मात्र कागज आएको भए पनि आवश्यक पाठ्यपुस्तक समयमै छाप्न सफल भएको बताउँदै झाले यो वर्ष पर्याप्त कागज भएकाले सहज भएको बताए।

    अनुगमन टोलीका सदस्य गोकर्ण भट्टले जनक शिक्षक सामग्री केन्द्र लिमिटेडको छपाइको गुणस्तर सुधार गर्नुपर्ने सुझाव दिइएको र अन्य नीतिगत विषयसमेत हल गर्न शिक्षा मन्त्रालयसँग थप छलफल आवश्यक देखिएको जानकारी दिए । उनले भने, “केन्द्रको काम सन्तोषजनक भए पनि छपाइको गुणस्तरमा सुधार गर्नुपर्ने देखिएको छ ।” छापिएका पाठ्यपुस्तक सुरक्षित राख्न, कागज खेर नजाने गरी काम गर्न र छपाइमा गुणस्तर कायम गर्न केन्द्रलाई निर्देशन दिएको प्रधानमन्त्रीका जनसम्पर्कविज्ञ जिसीले बताए ।


    प्रकाशित : बिहीबार , माघ ११ २०८००९:०१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार