काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्नु सबैको साझा हितमा रहेको बताएका छन् । युगाण्डाको काम्पलामा आयोजित असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै उनले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबै आआफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताए ।
“हिमालयको देशबाट आएको हुनाले यो महत्वपूर्ण सम्मेलनमा हिमालको विषयमा केही भन्नैपर्छ, हिमाल विश्वव्यापी जनसङ्ख्याको १५ प्रतिशत र पृथ्वीको जैविक विविधताको ५० प्रतिशतको घर हो । यसले सबै जीवित प्राणीलाई विश्वव्यापी सेवा प्रदान गर्दछ । तर उनीहरूले ठूलो पीडा भोगिरहेका छन्”, प्रधानमन्त्री दाहालले भने ।
उनले हिमाली देश नेपालले हिमाल, हिमाली पारिस्थितिक प्रणाली र त्यहाँ बसोबास गर्ने जनताको संरक्षणका लागि वकालत गर्दै आएको बताए । प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको विनासकारी प्रभाव कारण डरलाग्दो दरमा घट्दै गएको हिमनदीका स्वरुप र यसले अरबौंकाे जीवन र जीविकोपार्जनमा ल्याउने अनगिन्ती पीडालाई नजिकबाट महसुस गरेको बताए ।
साझा समृद्धिका लागि अत्यन्त इमान्दारी सद्भाव, ऐक्यबद्धता र सहयोगका साथ काम गर्न आह्वान गर्दै प्रधानमन्त्री दाहालले भने, “कसैलाई पनि पछि नछोडी न्यायपूर्ण, समतामूलक, शान्तिपूर्ण, दिगो र समृद्ध विश्व निर्माण गर्न ‘नाम’ लाई बलियो बनाऔँ ।”

