२०८३, कार्तिक १५ गते आइतबार

चिसाे बढेपछि घाममा बसेर परीक्षा दिँदै हुम्लाका विद्यार्थी

चिसाे बढेपछि घाममा बसेर परीक्षा दिँदै हुम्लाका विद्यार्थी


  • मेरोभ्यूज
  • पौष २८, २०८० शनिबार

  • चिसाे बढेपछि घाममा बसेर परीक्षा दिँदै हुम्लाका  विद्यार्थी

    हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि विद्यार्थीले घाममा बसेर वार्षिक परीक्षा दिन थालेका छन् । हुम्लामा विगतका वर्षझैँ हिमपात नभए पनि चिसो बढ्दा खुल्ला चौरमा डेस्क, बेन्च राखेर विद्यार्थी यो वर्षको वार्षिक परीक्षा दिइरहेका छन् ।

    चिसोले सबैभन्दा बढी विद्यार्थीलाई समस्या बनाएको छ । चिसो बढेपछि यहाँका विद्यालयले खुला चौरमा परीक्षा सञ्चालन गरिरहेका छन् । कक्षा कोठाभित्र चिसो बढी हुने हुँदा सिमकोट गाउँपालिका-८ साँता गाउँमा रहेको बलभद्र आधारभूत विद्यालयका विद्यार्थीलाई घाममा राखेर परीक्षा सञ्चालन गरेको प्रधानध्यापक प्रेमकला बुढाले बताइन् ।

    उनले भनिन्, “स-साना बालबालिकाले चिसोको समय हिउँद याममा कक्षा कोठाभित्र बसेर परीक्षा दिन नसक्ने अवस्था आएपछि चौरमै डेस्क, बेन्च राखेर वार्षिक परीक्षा सञ्चालन भइरहेको छ ।” चिसोले कक्षा कोठाभित्र लेख्न नसक्ने भएपछि चौरमै बसेर परीक्षा दिने व्यवस्था गरिएको प्रधानध्यापक बुढाकाे भनाइ छ ।

    विद्यार्थीले कक्षा कोठाभित्र चिसोले परीक्षा दिन समस्या भएको बताएपछि घाममा बसेर परीक्षा दिने व्यवस्था गरिएको विद्यालयले जनाएको छ । बलभद्र आधारभूत विद्यालयमा एक सय ६२ जना विद्यार्थी रहेका छन् भने कक्षा एकदेखि छसम्म पठनपाठन हुँदै आएको छ । हाल आठजना शिक्षक विद्यालयमा कार्यरत छन् । वार्षिक परीक्षा सकिएपछि ४५ दिनका लागि विद्यालयमा हिउँदे बिदा हुने उनले बताए ।

    सिमकोट गाउँपालिका-१ देखि ८ सम्मका आधारभूत, माध्यमिक विद्यालयमा आजदेखि एकसाथ वार्षिक परीक्षा सञ्चालन गरेको छ । सात गाउँपालिका रहेको जिल्लाका अधिकांश विद्यालयमा अहिले वार्षिक परीक्षा सञ्चालन भइरहेको छ । जिल्लाका धेरै विद्यालयले खुला चौरको पारिलो घाममा विद्यार्थीको परीक्षा लिइरहेका छन् । सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा थप चिसो बढेको छ ।

    जिल्लामा हिमपात नभए पनि हिउँदयाममा चिसो अत्यधिक हुने गरेको छ । यस्तै तापक्रम माइनसमा झरेको छ । हिमपात भयो भने जिल्लाको तापक्रम माइनस १५ डिग्रीबाट झर्ने गरेको छ ।


    प्रकाशित : शनिबार, पौष २८ २०८००८:५४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार