२०८३, कार्तिक १५ गते आइतबार

बागलुङकाे सिगानाबाट तीन कराेडकाे सुन्तला निर्यात

बागलुङकाे सिगानाबाट तीन कराेडकाे सुन्तला निर्यात


  • मेरोभ्यूज
  • पौष २८, २०८० शनिबार

  • बागलुङकाे सिगानाबाट तीन कराेडकाे सुन्तला निर्यात

    बागलुङ । बागलुङको धेरै सुन्तला उत्पादन हुने सिगाना, बिहुँलगायत स्थानका सुन्तला बजार पठाउन किसानलाई चटारो छ ।यसपटक बागलुङमा उत्पादन भएको सुन्तलाको ६० प्रतिशत बिक्री भइरहेको छ । यस वर्ष सिगानामा राम्रो सुन्तला फलेपनि समग्र जिल्लाको तथ्याङ्क हेर्दा सुन्तला उत्पादनमा ६५ मेट्रिक टन गिरावट आएको छ ।

    औँसे कीराका कारण सुन्तला कम फलेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । सिगानाका बमबहादुर खड्काले यस वर्ष  चार लाखको सुन्तला बिक्री गरे । उनी मात्र हैन रामप्रसाद गौतम, राधा खड्का, टोपबहादुर खत्री र शिवकुमार खड्कालगायतको सुन्तला चितवन, धादिङ, काठमाडाैं, पोखरा र नारायणगढमा पुगेको छ । धादिङ, काठमाडाैं, पोखरा र नारायणगढका सुन्तला व्यापारी अहिले किसानसँग सुन्तलाको मोलमोलाई गर्न व्यस्त छन् ।

    सिगानाका शिक्षक शिवकुमार खड्काले यस वर्ष एक लाख ५० हजारको सुन्तला बिक्री गरेको बताए । सिगानामा एक लाखदेखि पाँच लाखसम्म सुन्तला बिक्री गर्ने किसान तीन दर्जन रहेका छन् ।

    “शिक्षण पेशा भएकाले धेरै ठूलो सुन्तला बगान छैन तर सिगानाको बेसीबाट बास्बोटसम्ममा अधिकांश किसानको सुन्तला आम्दानीको मुख्य स्रोत हो” खड्काले भने “सिगानको समग्रमा एक लाखदेखि पाँच लाखसम्म सुन्तला बिक्री गर्ने किसान ४० जना होलान्, अन्य किसानले समेत ५० देखि एक लाखसम्मको सुन्तला बिक्री गरेकै हुन्छन् ।”

    सिगानाका रामप्रसाद गौतम, अनन्तबहादुर खड्काले सुन्तला बिक्रीबाट पाँच/पाँच लाख भित्राएका छन । खड्काका अनुसार श्री गणेश कृषि सहकारीले सुन्तला उत्पादन तथा बिक्रीको तथ्याङ्क राखेको बताए । सिगानाको सुन्तला फागुनमा बिक्री गर्ने गरी कोल्ड स्टोरमा समेत राख्ने तयारी भइरहेको छ । कृषि सहकारीको कोल्ड स्टोरमा राखिएको सुन्तला फागुन चैतमा दोब्बर मूल्यमा बिक्री हुने गर्दछ ।

    “शुरु-शुरुमा वडाले तथ्याङ्क राख्ने गरेको थियो, अहिले वडाले ध्यान नदिँदा सहकारीमार्फत सुन्तला उत्पादन र बिक्रीको विवरण राख्न थालिएको छ, यस वर्ष रु तीन करोड ५० लाखसम्मको सुन्तला सिगानाबाट निकासी हुने लक्ष्य राखिएको छ, ५० प्रतिशत सुन्तला बोटमै रहेका छ” उनले भने “सहकारीमार्फत सुन्तला बजारीकरणमा सहयोग गरिएको छ, पोखरासम्म पुग्ने सिगानाको सुन्तलाको माग बढ्दै धादिङ, काठमाडाैं, नारायणगढसम्मका व्यापारीहरु सिगाना आएर बोटबाटै सुन्तला खरिद गरेको पाइएको छ ।

    यस वर्ष सिगानाका राधा खड्काले चार लाख, टोपबहादुर खत्री साढे तीन लाखमा बगैँचामै व्यापारीलाई दिइन् । सिगानाको रामबहादुर खड्का र टोपबहादुर खड्कालगायतको ठूलो सुन्तलाको बगैचा अझै बिक्री गर्न बाँकी छ । सिगानाको सुन्तला अन्य स्थानको भन्दा ठूलो दाना र गुलियो भएकाले महङ्गो मुल्य तिरेरै भए पनि खरिद गर्न व्यापारी आउने गरेका छन् ।


    प्रकाशित : शनिबार, पौष २८ २०८००८:११
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार