काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विधान मस्यौदा समितिले आज पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष विधानको मस्यौदा पेस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उपाध्यक्ष एवं समितिका संयोजक पम्फा भुसालसहितको टोलीले उक्त मस्यौदा पेस गरेको हो ।
माओवादीले यही पुस ५ गते उपाध्क्ष भुसालको संयोजकत्वमा सात सदस्यीय विधान मस्यौदा समिति गठन गरेको थियो । समितिमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिव गणेश साह र सुरेन्द्र कार्की रहेका थिए ।
उक्त मस्यौदा शनिबार बस्ने स्थायी समिति बैठकमा पेस हुने र स्थायी समितिको निर्णयअनुसार तल्ला कमिटीमा छलफलका लागि लैजाने महासचिव गुरुङले जानकारी दिए । स्थायी समिति बैठकमा समितिका संयोजक भुसाल र महासचिव गुरुङले विधानको मुख्य विषयवस्तु प्रस्तुत गर्नेछन् ।
माओवादीले आगामी फागुन पहिलो साता विधान सम्मेलन गर्ने तयारी गरेको छ । विधान सम्मेलन अघि स्थायी समिति र केन्द्रीय समिति बैठक बस्ने माओवादीले जनाएको छ । सो अवसरमा महासचिव गुरुङ, उपमहासचिवद्वय पोखेरेल र शर्मा तथा सचिव गणेश साह उपस्थिति थिए ।

