मनाङ । हिमालबाट आएको मर्स्याङ्दी नदीको सङ्लो र कञ्चन पानी तथा स्वच्छ हावाको महसुश गर्दै प्राकृतिक सुन्दरताको भरपुर मनोरञ्जन लिन पाइने क्षेत्र हो मनाङ । शहरको कोलाहलबाट टाढिएर प्रकृतिमा रमाउन चाहनेका लागि नदी किनारका साथै हिमाल हाँसेकोआभास दिने एवं अग्ला पहाडका चुचुरा हेर्दै उकालो चढ्दै जाँदा स्वर्गमै पुगेको जस्तो अनुभूति हुन्छ ।
यस क्षेत्रको भ्रमण गर्न विदेशी मात्रै नभइ नेपाली पर्यटक पनि उत्सुक हुँदै आएका छन् । कञ्चन पानी बगिरहेको यस नदी किनारका साथै यहाँको वातावरणले प्रकृतिको काखमा विश्राम गरेजस्तो महसुश हुने गरेकोमा अहिले यहाँको स्वरुपमा विस्तारै परिवर्तन आउन थालेको छ ।
विश्वमा प्रकृतिको कृडाभूमिका रुपमा चर्चा पाएको मनाङमा जलवायु परिवर्तनको असर देखापर्ना साथै प्रदूषण पनि बढ्दो अवस्थामा छ । साथै मानवीय तवरबाट हुने अन्य फोहर पनि बढ्दै गएको अवस्था छ । हिजोआज मनाङ पुग्न सडक सञ्जालले सहज र छिटो बनाएको छ ।
यहाँको यात्रामा निस्कने पर्यटक तथा स्थानीयवासीले हिमाली क्षेत्रमा चिसो हुने भएकाले प्याकेटका खानेकुरालाई प्राथमिकता दिने गरेका छन् । प्लाष्टिकका प्याकेटमा रहेका खाद्यवस्तुको वजन कम हुने हुँदा बढीमात्रामा प्लाष्टिकमा प्याक भएका वस्तुको उपयोग भएको पाइन्छ ।
प्लाष्टिकजन्य फोहरमैलाले यस क्षेत्रमा प्रदूषण बढ्दै गएको हो । पछिल्लो समय मनाङमा वर्षा हुन थालेकाले विश्वमा उत्सर्जित जलवायु परिवर्तनले यहाँका प्रकृतिक सम्पदामा पनि प्रत्यक्षरुपमा असर पारेको छ । विसं २०७८ जेठ १४ र असार १ मा मर्स्याङ्दी नदीमा विनाशकारी बाढी आउनु नै वायु प्रदूषणकै असर भएको आँकलन गरिएको छ ।
सोही बाढीले यहाँका प्राकृतिक सौन्दर्यमा ठूलो क्षति पुर्यारउनुका साथै यहाँको प्रकृतिक स्वरूपमा पनि परिवर्तन ल्यायो ।त्यसअघिसम्म बाढी नै नआएको मनाङमा पहिलो पटक बाढी आएको देखेकाे मनाङ ङिस्याङ गाउँपालिका–१ माथिल्लो पिसाङका ७० वर्षीय याङदुङ गुरुङ बताउँछन् ।
उनी भन्छन्, “हामी जन्मिएर बुढा भयौँ तर मर्स्याङ्दी नदीमा बाढी आएको कहिल्यै देखेको थिएनौं । खै के भएको हो बुझ्नै सकिएन । पृथ्वीमा के परिवर्तन हुँदैछ कुन्नी यस्तो ? कहिल्यै बाढी नआउने नदीमा बाढी आयो ।” यो बाढीले यहाँका भौतिक पूर्वाधारका साथै प्रकृतिलाई पनि धेरै असर पुर्याएको उल्लेख गर्दै गुरुङ भन्छन्, “नदीको वितण्डाले घर र बस्ती बगायो । प्रकृतिले नै बनाएको अनौठो संरचना पनि बाढीले परिवर्तन भयो ।”
शान्त र सुन्दर वातावरण रहेको मनाङको स्वरुप अहिले फेरिँदै गएको छ । जीवनशैलीमा आएको परिवर्तनले प्राङ्गारिक खाद्यान्नलाई निरुत्साहित गरेर प्लाष्टिकमा मोरिएका खानेकुरालाई प्रोत्साहन गर्न थालेपछि यस प्राकृतिक वातावरणमा प्लाष्टिकजन्य प्रदूषणको मात्रा बढ्दो छ ।
मनाङ पर्यटकीय क्षेत्र भएकाले पनि यहाँ ‘फास्ट फुड’का रुपमा प्याकेटमा बन्द गरिएका सामानको उपभोग बढ्दै गएको छ । यस्ता खाद्यवस्तुको प्याकेट जथाभावी फाल्दा यहाँको प्राकृतिक सुन्दरतालाई कुरुप बनाउन थालेको स्थानीयवासी फुर्वा लामा बताउँछन् । उनी भन्छन् , “यहाँ सिर्जित प्लाष्टिकजन्य फोहरमैलाको व्यवस्थापन हुन सकेको छैन । अहिले कम होला तर बढ्ने क्रममा रहेकाले व्यवस्थापनमा ध्यान आवश्यक छ । उपयोग गर्ने व्यक्ति सचेत भएमा यसको निराकण गर्न सहज हुने थियो ।”
सदरमुकाम पर्यटकीय क्षेत्र भएकाले अहिले कम फोहर उत्पादन हुँदा सम्बन्धित निकाय र पालिकाले व्यवस्थापन केही व्यवस्थापन गरे पनि भविष्यमा फोहरमैला व्यवस्थापन नै गर्न नसकिने समस्या हुने भएकाले समयमै सचेत हुनुपर्नेमा लामाको जोड छ ।
हिमाल र पदमार्ग नै मनाङको मुख्य आकर्षणको केन्द्र हो तर यही नै अहिले जोखिममा छन् । हिमाल माथि सर्दै जाँदा बगर र कालापत्थर देखिनेक्रम बढेको छ । हिमालमा हिउँ नै कम देखिन थालेको छ । हिउँदमै हिमालमा हिउँ कम देखिनु जलवायु परिवर्तनको प्रत्यक्ष असर पारेको सम्बद्ध विज्ञहरूले बताउँदै आएका छन् । विभिन्न क्षेत्रबाट गरिँदै आएको अध्ययनले प्रथमतः हिमालमै असर देखिने उनीहरूको भनाइ छ ।
विश्वका पर्यटक यहाँ आउनाका कारण पदमार्गको यात्रा र हिमाललाई नजिकबाट नियाल्नु हो । यही मुख्य आकर्षण बनेका प्राकृतिक क्षेत्र नै जोखिममा परेपछि कसरी आउँछन् त पर्यटक ? यो विषयमा बृहत् छलफल हुनु आवश्यक छ ।
सरकारले यस्ता प्राकृतिक सौन्दर्यले भरिएका आकर्षक क्षेत्रको संरक्षणमा प्राथमिकता दिनुपर्ने स्थानीयवासी याङदुङ गुरुङ बताउँछन् । उनी भन्छन्, “विस्तारै हिमाल पनि माथि सर्दै गएको छ । पहिले त हामीलाई अलि माथि हिँडे भेटिन्थ्यो हिमाल अहिले त धेरै माथि पुग्नुपर्ने हुन्छ । त्यसैमाथि हिमालमा हिउँ नै देखिँदैन । पदमार्ग पनि विस्तारै मासिएको छ । पदमार्गमा त सबै सडक बनेको छ । अनि केको पदमार्ग ? कि त पदमार्गको विकल्प खोज्नुपर्छ । नत्र पदमार्ग पनि मासिँदै गएको छ ।”
पर्यटक यही पदमार्गमा हिँड्न रुचाउँछन् र त्यसकै लागि पनि आउँछन् । यसको संरक्षण गर्नुपर्ने देखिएको उनको भनाइ छ ।
हिउँ माथि सरेसँगै हिमालको तल्लो क्षेत्र पातपतिङ्गरबिनाको पहाडजस्तो बनेको छ । ती ठूला चट्टानयुक्त पहाडमा खेतीपाती नहुने भएकाले उपयोगविहीन चट्टान मात्र देखिने गरेको छ । यसरी हिमालका हिउँ माथि सर्दै गर्दा पानीका मुहानसमेत एक ठाउँमा सुके अर्को ठाउँमा देखिने गरेको याङदुङ बताउँछन् ।
“उदाहरणका लागि गङ्गापूर्ण ताललाई नै लिन सकिन्छ”, उनी भन्छन्, “अरु के खोज्ने हो र ? हामीले हेर्दाहेर्दै सुक्यो त त्यो ताल । यहाँ सुक्यो अन्य ठाउँमा नयाँ ताल देखिन थालेका छन् ।” केही ठाउँमा त बस्तीमा खानेपानीको मुहान नै सुकेर अर्को स्थानबाट ल्याउनुपर्ने भएको याङ्दुङको भनाइ छ ।
यो जलवायु परिवर्तनको असर हो वा अन्य केही कारणले गर्दा यहाँ परिवर्तन आएको हो भन्ने बारेमा अनुसन्धान गर्न आवश्यक रहेको यहाँका अग्रज जोड दिन्छन् ।
फेरिँदै व्यवसाय जलवायु परिवर्तनको असर प्रत्यक्षरुपमा अन्यत्रभन्दा हिमाली क्षेत्रमा परेको छ । हिमालमा परेको असरले यहाँ गरिने पशुपालन व्यवसाय परिवर्तन गर्न बाध्य हुनुपरेको छ । पशुपालनका लागि वातावरणमा आएको परिवर्तनले निकै असर पारेको नासों गाउँपालिका–४ का पशु व्यवसायी सुरेश थकाली बताउँछन् ।
व्यावसायिकरुपमा पशुपालनमा लागेका उनी मौसममा परिवर्तन आउँदा पशुको उत्पादन घट्न थालेको गुनासो गर्छन् । विगतमा याक–चाैंरी पाल्दै आएका थकालीको गोठमा अहिले झोपा (चौँरी र गाईको क्रस) छ । याक–चौँरीको चरण क्षेत्र घट्ने क्रममा रहेकाले झोपा पाल्न थालिएको उल्लेख गर्दै उनी भन्छन्, “पशु व्यवसायी लेकका खर्कतर्फ जान चाहदैनन् । यहीं राखे याक–चाैंरी पाल्न सकिँदैन । पहिला ६०/७० वटा याक–चाैंरी पालेको थिएँ, अहिले ४०/५० झोपा पाल्न थालेको छु ।”
युवाजति पढ्न, अन्य काम तथा व्यावसायतर्फ आकर्षित भएका छन् । उनीहरू अहिले पर्यटन तथा अन्य व्यवसायतर्फ लागेका छन् । अधिकांश त विदेश पलायन भएकाले पुर्ख्याैली पेसा जोगाउन सकस छ । पशुपालनमा प्रोत्साहन गर्न पालिकाले विभिन्न अनुदानका कार्यक्रम ल्याए पनि पशुपालन घट्दो अवस्थामा रहेको थकाली बताउँछन् ।
यस हिमाली जिल्लामा विस्तारै परम्परागत घर मासिँदै गएका छन् । हिउँले असर नपार्ने यहाँका परम्परागत माटोका घर अहिले वर्षा हुन थालेसँगै मासिँदै गएका हुन् ।
वर्षाले माटोका घर चुहिने र भत्किने भएपछि अहिले आधुनिक तवरबाट कङ्क्रिटको घर बनाउन थालिएको छ । कङ्क्रिटको घर निर्माणले यहाँका परम्परागत माटोका घर विस्तारै लोप हुने अवस्थामा पुगेका छन् । यहाँ अहिले कमै मात्रामा परम्परागत घर देख्न पाइन्छन् ।
स्थानीयवासी कर्माछिरिङ गुरुङ भन्छन्, “पहिले मनाङमा वर्षा नै हुँदैन थियो । अहिले हिउँ कम पानी बढी पर्न थालेको छ । यो खै के भएको हो । मौसम पनि फेरिँदै जाने रहेछ कि के हो ?” पानी चुहिने घरमा बस्न नसकिने उनकाे भनाइ छ । यहाँ लोकप्रिय मानिएको परम्परागत घरलाई संरक्षण गर्न सकिए भावि पुस्ता तथा अब आउने पर्यटकका लागि कथा बन्ने अवस्था नआउला भन्न सकिँदैन । त्यसैले यसको संरक्षणका लागि स्थानीयवासीसँगै सरकार पनि सचेत हुनुपर्ने भएको छ ।
केही वर्षअघिसम्म मनाङ जिल्लामा लामखुट्टे देखिँदैन थियो तर अहिले माथिल्लो मनाङमा लामखुट्टे भेटिन थालेका छन् । तापक्रम बढी भएको स्थानमा पाइने लामखुट्टे आजकाल यहाँ पनि भेटिन्छन् । यहाँ पनि लामखुट्टे भेटिनुमा विज्ञले तापमान वृद्धिको असर अनुमान गरेका छन् ।
उच्च तापक्रम भएको स्थानमा पाइने लामखुट्टे अहिले बाह्रै मास चिसो हुने यस क्षेत्रमा पनि पाइन थालेको छ । नासों गाउँपालिकाका पूर्वअध्यक्ष चन्द्र घले भन्छन्, “हामीले ताल गाउँमै लामखुट्टे देखेका थिएनौँ । अहिले माथिल्लो मनाङमा पनि देखियो । यसले पनि बताउँछ कि यहाँको तापमान वृद्धि हुँदै गएको छ । जसले गर्दा लामखुट्टे बाँच्न सक्ने भएको छ । चिसो ठाउँमा पनि पहिलो पटक लामखुट्टे देख्दा मलाई पनि अचम्म लागेको थियो ।”
पृथ्वीको तापमान वृद्धिका कारण पहिले कीरा, फट्याङ्ग्रासमेत नभेटिने ठाउँमा अहिले फरक किसिमका कीरा, फट्याङ्ग्रा देखिने गरेको पूर्वअध्यक्ष घले भन्छन्, “पहिले देखिने र अहिले देखिने कीरा, फट्याङ्ग्रा नै फरक छन् । अहिलेका कीराले तरकारी, फलफूल, खेतीपाती खान थालेपछि सखाप हुन्छ तर पहिले त्यस्तो हुँदैन थियो ।”

