काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति निर्माणमा जनताको नियमन, निगरानी र हस्तक्षेप आवश्यक रहेको बताएका छन् ।
जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समापनका निम्ति बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशद्वारा सोमबार संयुक्तरूपमा आयोजित समीक्षा बैठकमा उनले आफूले शासन प्रणालीमा जनताको निगरानी र हस्तक्षेप लागू गर्न खोजेकोे बताए ।
नीति तथा कार्यक्रम र बजेटको परम्परागत ढाँचा बदलेर जनप्रतिनिधि र जनताको प्रत्यक्ष सहभागिता हुने ढाँचामा जाने तयारी गरिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यो २१औँं शताब्दीको जनवादकै नयाँ रूप भएको स्पष्ट पारे ।
उनले भने, “सरकारको नीति तथा कार्यक्रम र बजेटमा क्रमभङ्ग गर्नेबारे छलफल भएको छ, बजेटको परम्परागत ढाँचाले देशको विकास र रूपान्तरण सम्भव छैन भनेर नै मैले अघिल्लो वर्ष बजेटको ढाँचा बदल्ने कुरा गरेको थिएँ, आजबाट त्यसको थालनी भएको छ ।”
प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रम प्रस्तुत भएपछि त्यसमाथि व्यापक बहस हुने र त्यसका आधारमा बजेट निर्माण गरिने बताए । “यो सबैभन्दा लोकतान्त्रिक ढाँचा र प्रक्रिया हो, सरकारको नीति तथा कार्यक्रम र बजेटमा जनता र जनप्रतिनिधिको निगरानी, नियन्त्रण र हस्तक्षेप चाहिन्छ भनेर नै यो विधि अपनाउँदैछौँ”, उनले भने, “हामीले २१औँ शताब्दीको जनवादमा भनेका थियौँ, राज्यमा जनताको निगरानी, नियन्त्रण र हस्तक्षेप लागू गर्नेछौँ, यो पनि आफैँमा त्यसको एक रूप हो ।”
सरकारले एक वर्षको अवधिमा नयाँ काम गरेको र आगामी वर्ष थप प्रभावकारी कार्ययोजनाका साथ अगाडि बढ्ने प्रधानमन्त्री दाहालले स्पष्ट पारे । उनले भने, “सरकारले एक वर्षको अवधिमा राम्रो काम गरेको छ । केही नयाँ कीर्तिमान बनेको छ । इतिहासमै नभएको भ्रष्टाचारविरूद्धको अनुसन्धान भएको छ, सेवा प्रवाह र सुशासनमा पनि पहल लिइएको छ । यसले देशभित्र र बाहिर राम्रो उत्साह पनि आएको छ । यसमा नै टेकेर आगामी वर्ष थप राम्रो गरिनेछ, सिङ्गो पार्टीले सरकारलाई सहयोग गर्नुस् ।”
अध्यक्ष दाहालले चाँडै नै पार्टीको स्थायी समिति बैठक बसेर विधान सम्मेलनको तयारी गरिने र त्यसपछि पार्टी थप व्यवस्थित बन्ने दाबी गरे । उनले भने, “विधानको मस्यौदा तयार भएको छ । चाँडै स्थायी समितिको बैठक बस्छौँ र विधान तल्ला कमिटीमा पठाउने निर्णय गर्छौँ । विधान सम्मेलन अभियानका रूपमा अगाडि बढ्छ । यस बीचमा पार्टी एकताको प्रक्रिया पनि अगाडि बढ्नेछ, समाजवादी मोर्चा पनि सुदृढ हुँदै जानेछ ।”

