२०८३, कार्तिक १५ गते आइतबार

चियाको बोट छाँटकाटमा लागे पूर्वी पहाडका किसान

चियाको बोट छाँटकाटमा लागे पूर्वी पहाडका किसान


  • मेरोभ्यूज
  • पौष २०, २०८० शुक्रबार

  • चियाको बोट छाँटकाटमा लागे पूर्वी पहाडका किसान

    इलाम  । चिया उत्पादन हुने जिल्ला इलामसहितका जिल्लामा चियाको टिपाइ बन्द भएको छ । हिउँद लागेसँगै हरियो चियाको उत्पादन बन्द भएको हो । चियाको उत्पादन मङ्सिर अन्तिमदेखि बन्द भएसँगै किसान चियाको बोट छाँटकाटमा लागेका छन् ।

     प्रायः बर्खायाममा उत्पादन हुने चिया मङ्सिर अन्तिमदेखि पूर्णरुपमा बन्द हुने गरेको छ । उत्पादन बन्द भएपछि कारखानाले यसअघि तयार गरेको चियालाई ग्रेडिङ र चिया निर्यातलाई प्राथमिकता दिन थालेका छन् । प्रशोधित चियालाई विभिन्न वर्गमा ग्रेडिङ गरेर बिक्रीका लागि तयार गरिन्छ ।

    उत्पादन बन्द भएपछि किसान भने यतिबेला बोटको चिया काट्न व्यस्त छन् । यतिबेला काटिएको चियाबाट पुनःवैशाख महिनादेखि उत्पादन सुरु गरिन्छ । योबेला चियाको बोटलाई छाँटकाट गर्नुपर्ने हुन्छ । मल हाल्ने बेला पनि यही हो ।

     केही किसानले चैत महिनाभित्रै चियाको फेद वरिपरि खनेर मल हाल्ने गर्छन् । बर्खामा पलाउने झारलाईसमेत यही बेला फाल्ने गरिन्छ । आफ्नै ज्ञानअनुसार पुरानै तरिकाबाट चिया छाँटकाट गर्दै आएका किसान पछिल्लो समय प्राविधिक तालिमपछि आधुनिक तरिकाले चिया काट्न थालेका छन् ।

    राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षदेखि किसानलाई तालिम दिन दिएकाले आधुनिक तरिकाबाट चिया काट्न थाले पनि अझै पर्याप्त सिकाइ नपुगेको सम्बद्ध किसानको भनाइ छ ।

    गत वर्ष नैै चियाको गुणस्तर र उत्पादन वृद्धिका लागि उक्त बोर्डले गुणस्तरीय चिया टिपाइसम्बन्धी तालिम दिएपछि किसानलाई केही सहज भएको थियो । बीचमा चियाखेतीप्रति कम चासो दिएका किसानलाई केही राहत भए पनि अझ पर्याप्त सिकाइ नपुगेको उनीहरू बताउँछन् ।

    सूर्योदय नगरपालिकाको फिक्कल, देउमाई नगरपालिकाको मङ्गलबारे, इलाम नगरपालिका, शान्तिडाँडा, जस्विरे, साँखेजुङलगायत स्थानमै पुगेर उक्त बोर्डले दुई हजार सात सय ९० जनालाई तालिम दिएको थियो ।

    नेपालमा उत्पादन हुने चिया १० प्रतिशत नेपालमै खपत हुने तथ्याङ्कमा उल्लेख छ । करिब २० प्रतिशत तेस्रो मुलुक र बाँकी भारत जाने गरेको छ । उक्त बोर्डको तथ्याङ्कअनुसार इलाममा आठ हजार आठ सय ७६ किसान चियामा आश्रित छन् । जिल्लाको सात हजार दुई सय ३६ हेक्टर जमिनमा चियाखेती भइरहे पनि समयमा चियाको मूल्य पाउन अझै पनि किसानलाई समस्या हुँदै आएको छ ।


    प्रकाशित : शुक्रबार, पौष २० २०८०११:०२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार