काठमाडौं । सरकारले विजयादशमी, शुभदीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । देशका विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्रीम टिकट बुकिङ खुला गरेको हो ।
घटस्थापना आउन ६ दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको भीड लागेको छ । नयाँ बसपार्कमा गत वर्षहरूका तुलनामा यस वर्ष यात्रुको भीडभाडसमेत बढेको छ ।
अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डँडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ ।

काठमाडौँदेखि पश्चिमभन्दा पूर्व क्षेत्रमा जाने यात्रुले तुलनात्मक रुपमा सहजरुपमा टिकट पाएका छन् । पूर्व क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनलाई पूर्व यातायात व्यवस्थापन प्रालिमार्फत टिकट लिने व्यवस्था मिलाइएको छ । पूर्व यातायात व्यवस्थापन प्रालिका सञ्चालक सुनिल कुँवर पूर्व जाने यात्रुको सहायताका लागि एउटै व्यवस्थापन निर्माण गरी यात्रुलाई सेवा प्रदान गरिएको बताउँछन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुन्यप्रसाद (सरोज) सिटौला यसपालिको दसैँमा घर जानका लागि यात्रुले सहजै टिकट पाउने दाबी गर्छन् । “राजमार्ग बिग्रिएको कारण काठमाडौँ आउजान सार्वजनिक सवारी साधनलाई केही समय लाग्ला तर बस नपाएर कोही यात्रु रोकिनु पर्दैन”, उनी भन्छन् ।
सरकारले दसैँका लागि देशका सबै क्षेत्रको यातायातको लागि रोड परमिट खुला गर्ने तयारी गरेको छ । हरेक वर्ष दसैँ मनाउनका लागि सङ्घीय राजधानी काठमाडौँबाट २० देखि २२ लाख यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ महानगरपालिका र यातायात व्यवस्था विभागको सहकार्यमा दसैँमा घर जाने यात्रुको सहयोगको लागि काठमाडौँ उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष राख्न लागेको छ ।
कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले यात्रु सहायता कक्ष १३ स्थानमा राख्नेगरी तयारी भइरहेको बताए । “अहिलेको अवस्थामा सात स्थानमा राखिसकेका छौँ, १३ स्थानमा राख्छौँ, आवश्यक परे अन्य स्थानमा समेत थप गर्न सकिन्छ”, उनी भन्छन् ।

यस वर्षको अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीको सहकार्यमा २४ टिकट बुकिङ काउण्टर थप गरेको छ । जसबाट अहिले अग्रिम टिकट वितरण भइरहेको छ ।
लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्ल दसैँमा घर जाने यात्रुलाई व्यवस्थितरुपमा टिकट प्रदान गर्नका लागि टिकट काउण्टर थप गरिएको बताउँछन् । “अहिले २४ टिकट बुकिङ काउण्टर थप गरेका छौँ, आवश्यक परेको खण्डमा काउण्टर बढाउन सकिन्छ”, उनले भने ।
सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि छोटो दूरीका सवारी साधनको टिकट भने घटस्थापनाबाट खुल्नेछ । काठमाडौँ महानगरपालिका–२६ गोँगबु विष्णुमती खोला किनारामा एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कबाट हाल देशभरका ६८ भन्दा बढी जिल्लामा दैनिक एक हजार हाराहारीमा सार्वजनिक सवारीसाधन ओहोरदोहोर गर्दैैै आएका छन् ।


