२०८३, कार्तिक १५ गते आइतबार

‘कनेक्टिभिटी’ अभिवृद्धि गर्न ट्रान्स हिमालयन फोरम महत्वपूर्ण मञ्च : उपाध्यक्ष अर्याल

‘कनेक्टिभिटी’ अभिवृद्धि गर्न ट्रान्स हिमालयन फोरम महत्वपूर्ण मञ्च : उपाध्यक्ष अर्याल


  • मेरोभ्यूज
  • आश्विन १८, २०८० बिहीबार

  • ‘कनेक्टिभिटी’ अभिवृद्धि गर्न ट्रान्स हिमालयन फोरम महत्वपूर्ण मञ्च : उपाध्यक्ष अर्याल
    काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले सम्पर्क सञ्चाल अभिवृद्धि तथा साझेदारी विकास गर्न ट्रान्स हिमालयन फोरम महत्वपूर्ण मञ्च भएको बताएकी छिन् । चीनको तिब्बत स्वायत्त क्षेत्रको लिन्झीमा आयोजित चीन सीझ्याङ ट्रान्स हिमालयन फोरमलाई आज सम्बोधन गर्दै उनले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) मात्र नभई ट्रान्स हिमालय क्षेत्रका मुलुकबीचको व्यापार, पारवहन तथा लगानीलगायत सामाजिक आर्थिक अन्तरक्रियालाई पनि मञ्चले प्रवद्र्धन गर्ने बताइन् । 
     
    बिआरआई तथा ट्रान्स हिमालयन मञ्चको कार्यान्वयनबाट नेपाल र चीन तथा दक्षिण, दक्षिणपूर्वी, मध्य एसियाबीच ‘कनेक्टिभिटी’ विस्तार हुने जनाउँदै उनले ट्रान्स हिमालय मुलुकबीच अन्तरआबद्धताका लागि आपसी सहकार्य आवश्यक रहेको बताइन् । उनले ऐतिहासिक कालदेखि नै नेपाल र चीनबीच सम्बन्ध रहेको तथा दुवै मुलुक नजिकको मित्र र विश्वासिलो साझेदार भएको बताइन् । 
     
    नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उपाध्यक्ष अर्यालले नेपालको भूमि चीनविरुद्ध प्रयोग हुने नदिइने प्रष्ट पारिन् । उनले दुवै मुलुकका तर्फबाट भएका उच्चस्तरका भ्रमणबाट द्विपक्षीय सम्बन्धलाई सबल बनाउन सहयोग पुगेको तथा विविध क्षेत्रमा आदानप्रदान भएको साझेदारीबाट आपसी विश्वास कायम भएको बताइन् । 
     
    उनले चीनका राष्ट्रपति सी चीनफिङले सन् २०१९ मा नेपालको भ्रमण गरेको तथा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सोही वर्ष चीनको भ्रमण गर्नुभएको स्मरण गरिन् । “सन् २०२३ मा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सीझ्याङ स्वायत्त क्षेत्रका साथै चीन तथा केही दिनअघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको औपचारिक भ्रमण गर्नुभयो”, उनले भनिन्, “प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपाल र चीनबीच महत्वपूर्ण सम्झौता र समझदारी भएका छन् ।”
     
    नेपालको विकासमा चीनले पुर्याएको सहयोगको सरहाना गर्दै उनले कोरोना महामारीको समयमा चीनले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरिन् । सन् २०२६ मा नेपाल विकाशील मुलुकका रुपमा स्तरोन्तति हुन लागेकामा खुसी व्यक्त गर्दै उहाँले उक्त उपलब्धि हासिल गर्न चीनको सहयोग महत्वपूर्ण हुने बताइन् । “विकाशील मुलुकमा स्तरोन्ततिपश्चात पनि व्यापार, पारवहन तथा लगानीका क्षेत्रमा चीनको निरन्तर सहयोग हुनेमा आशावादी छौँ”, उनले भनिन् । 
     
    सो कार्यक्रममा नेपालबाट उपाध्यक्ष अर्यालको नेतृत्वमा राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझी, गोपी अछामी, अनिता देवकोटा, नरपति लुहार, मदनकुमारी शाह र मोहम्मद खालित सहभागी छन् । कार्यक्रममा चीनका विदेश मन्त्री वाङ यी, सिझ्याङ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष एवं चिनियाँ कम्युनिष्ट पार्टीका सिझ्याङ कमिटीका सचिव वाङ जुङझयाङलगायतले सम्बोधन गरेका थिए । 

     


    प्रकाशित : बिहीबार , आश्विन १८ २०८०१०:०७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार