काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालयमा आफूहरूकाे दाबी रहेकाे जनाएकाे छ । नागरिकतासम्बन्धी मुद्दामा उपप्रधान तथा गृहमन्त्री रहेका रास्वपाका सभापति रवि लामिछाने पदमुक्त भएपछि साे पार्टीले गृह मन्त्रालयकाे दाबी गरेकाे हाे ।
रास्वपाको आज बसेकाे केन्द्रीय समितिको बैठकले लामिछानेलाई पुनः सभापतिमा नियुक्त गरेको छ । रास्वपाले गृह मन्त्रालयमा पार्टीको दाबी यथावत् रहेको जनाएकाे छ ।
बैठकपछि रास्वपाका प्रवक्ता मुकुल ढकालले भने, “पार्टी सभापतिमा रवि लामिछाने सर्वसम्मतिले चयन हुनुभएको छ । परिस्थिति वा समस्या हाम्रो पार्टीभित्र आएको थियो । वर्तमान सहयात्री दलमा आएको समस्या हैन । यो हाम्रो समस्या हो र समाधान गरिसकेको अवस्थामा हाम्रो जिम्मेवारीमा पाएको गृह मन्त्रालयका बारे निर्णय गर्ने अधिकार पनि हाम्रो पार्टीलाई छ ।”
उनले सभापति लामिछानेले यसबारे गठबन्धनका नेताहरूसँग छलफलगर्ने बताए । “गृह मन्त्रालय हामीले स्वतः पाउने कुरा हो । त्यसमा कसलाई पठाउने भन्ने कुरा पार्टीले निर्णय गर्नेछ”, उनेले भने । लामिछानेको सभापतित्वमा बसेको दोस्रो बैठकले प्रदेशअन्तर्गतको सङ्गठन विस्तारको कार्यतालिका पुनः सञ्चालन गर्ने निर्णय गरेको छ ।
यसअघि स्थगित गरिएको प्रदेश समितिको विस्तार बैठक तथा सङ्गठन विस्तारका काम माघ २१ गतेदेखि सञ्चालन गरिने उनले बताउनुभयो । आजै लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट कानूनबमोजिम पुनः नागरिकता प्राप्त गरेका थिए ।

