काठमाडाैं । सरकारले पृथ्वी जयन्तीको दिन यही पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनले भने, “पृथ्वी जयन्तीको अवसरमा पुस २७ मा सार्वजनिक बिदा दिने र अर्को सरकारको न्यूनतम कार्यक्रम मन्त्रिपरिषद्बाट पास गर्ने र कार्यान्वयन गर्ने निर्णय गरेको छ ।”
सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राख्दै आएको मागलाई सम्बोधन गर्दै सरकारले २७ पुसमा बिदा दिने निर्णय गरेको हो । आज सार्वजनिक गरिएको सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक बिदा दिने उल्लेख छ ।
सरकारको न्यूनतम साझा कार्यक्रमलाई आजको मन्त्रिपरिषद् बैठकले पारित गरेको छ । पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा विगतमा नेपालमा सार्वजनिक बिदा दिने प्रचलन रहेको थियो । तर २०६२/६३ को जनआन्दोलनपछि बिदा दिन छाडिएको थियो ।

