२०८३, कार्तिक १५ गते आइतबार

आमनिर्वाचन आज

आमनिर्वाचन आज


  • मेरोभ्यूज
  • मंसिर ४, २०७९ आइतबार

  • आमनिर्वाचन आज

    काठमाडौं । लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचन अर्थात् प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आज हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताले मतदान गर्नेछन् । 

    निर्वाचनका लागि १० हजार ८९२ मतदानस्थलमा २२ हजार ३२७ मतदान केन्द्र कायम गरिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ । 

    मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभा र प्रदेशसभाको यो दोस्रो निर्वाचन हो । यसअघि २०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको थियो । 

    १४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नेछन् । मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार ९६० कर्मचारी एवं आवश्यकताअनुसारका सुरक्षाकर्मी खटिइएका छन् । 

    निर्वाचनमा प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि दुई हजार ४१२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यसैगरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार १९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ । 

    प्रदेशसभातर्फ पहिलो हुने निर्वाचिन हुने निर्वाचन प्रणालीका लागि तीन हजार २२४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ तीन हजार ७०८ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम छ । 

    आसन्न निर्वाचनमा प्रतिनिधि तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि कूल पाँच हजार ६३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधि तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ पाँच हजार ९०७ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ ।

    प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि तीन करोड ९९ लाख ६२ हजार ५०० मतपत्र र प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड छ लाख पाँच हजार गरी कूल आठ करोड पाँच लाख ६७ हजार ५०० मतपत्र छपाइ गरी ढुवानी गरिसकिएको छ ।

    निर्वाचनसम्बन्धी काम कारबाहीको पर्यवेक्षणद्वारा निर्वाचनको विश्वसनीयता अभिवृद्धि गर्न अनुमतिप्राप्त ४४ वटा राष्ट्रिय संस्थाबाट सात हजार २०७ र दुई वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना गरी सात हजार २१९ जनाले पर्यवेक्षण गर्दैछन् । पर्यवेक्षकले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित प्रणालीको १६५ निर्वाचन क्षेत्र र प्रदेशसभाको पहिलो हुने निर्वाचित निर्वाचन प्रणालीको २३० वटै निर्वाचन क्षेत्रमा निर्वाचन पर्यवेक्षण गर्नेछन् । 

    मतदान सकिएलगत्तै मतपेटिका सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गरेर तत्काल मतगणना शुरु गर्ने आयोगको तयारी छ । पहिलो चरणमा प्रतिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मतगणना हुनेछ । सोलगत्तै प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणना प्रारम्भ हुनेछ । 

    प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणना सकिएपछि प्रतिनिधिसभाको समानुपातिक र त्यसपछि प्रदेशसभाको १ र २ को समानुपातिकको मत गणना हुनेछ । प्रत्यक्षतर्फको मतगणना तीनदिनभित्र सम्पन्न गर्ने आयोगको रणनीति छ । 


    प्रकाशित : आइतबार, मंसिर ४ २०७९०६:००
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार