२०८३, कार्तिक १४ गते शनिबार

कामपाका प्रमुख साहद्वारा शैक्षिक गुणस्तर बढाउन सामुदायिक विद्यालयको निरीक्षण 

कामपाका प्रमुख साहद्वारा शैक्षिक गुणस्तर बढाउन सामुदायिक विद्यालयको निरीक्षण 


  • मेरोभ्यूज
  • कार्तिक २५, २०७९ शुक्रबार

  • कामपाका प्रमुख साहद्वारा शैक्षिक गुणस्तर बढाउन सामुदायिक विद्यालयको निरीक्षण 

    काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने ध्येयका साथ सामुदायिक विद्यालयको निरीक्षण गरेका छन् । उनले आज कामपा वडा नं १२ स्थित ओन्देमा रहेको सरस्वती निकेतन माध्यामिक विद्यालयको भौतिक पूर्वाधार, प्रशासनिक अवस्था, शैक्षिक तथा अतिरिक्त क्रियाकलापका बारेमा जानकारी लिए । 

    सो अवसरमा प्रमुख साहले बालबालिकाको चौतर्फी एवं सर्वाङ्गीण विकासबाट सामुदायिक विद्यालयको शैक्षिक सुधार गरिने बताए । “पाठ्यक्रम र पाठ्यपुस्तकसँगै  अतिरिक्त क्रियाकलापमा खेलकूद, गायन, संगीत, चित्रकला, प्राविधिक क्षेत्रका इञ्जिनियरिङ, कम्प्युटरलगायत विषयमा ज्ञान र सीप हासिल गर्नुपर्छ”, उनले भने, “यसमा विद्यालयको अवस्था र अभ्यास हेरेर आवश्यकताका आधारमा महानगरले सहयोग उपलब्ध गराउनेछ ।” 

    Mayor_Banendra_Sah2.jpg

    प्रमुख साहले खेलकुदका लागि मैदान नभएका विद्यालय नजिक रहेका सार्वजनिक स्थललाई उपयोग गर्ने वा नजिकका विद्यालयलाई संयुक्त बनाउने विषयमा महानगरले नक्साङ्कन गरिरहेको बताए । “यसबाट नीति र स्रोत परिचालन कसरी गर्ने भन्ने तथ्य पत्ता लाग्नेछ । यस्तै शैक्षिक सुधारका आगामी कार्यक्रम निर्धारण गर्न आधार तयार हुनेछ”, उनले भने । 

    सो क्रममा प्रमुख साहले विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवद्र्धनका लागि आविष्कार क्लब (स्टिम क्लब) का विद्यार्थीले तयार पारेका आविष्कार, कक्षा कोठा, पुस्तकालय तथा प्रयोगशालाको अवलोकन गरेका थिए । 

    Mayor_Banendra_Sah1.jpg

    प्रधानाध्यापक रविना महर्जनले विद्यालयको समग्र स्थितिका विषयमा प्रमुख साहलाई जानकारी गराएकी थिइन् । विद्यार्थीहरुले भूकम्प ‘अलर्म’, पानी संरक्षण, घरायसी सुरक्षा प्रणाली, ऊर्जा उत्पादन प्रविधि, केबलकारलगायत प्रविधि प्रदर्शनी गरेको थिए । प्रमुख साह आएर प्रदर्शनीको अवलोकन गरेपछि विद्यार्थीले आफूहरुलाई हौसला मिलेको बताएका थिए । 

    Mayor_Banendra_Sah3.jpg

    उक्त विद्यालय तीन आना तीन पैसा जमिनमा रहेको पाँचतले भवनमा छ । भवनका १८ वटा कोठामा कक्षा सञ्चालन छ । विद्यालयमा स्टिम क्लब, किशोरी क्लब, साहित्यिक क्लब, (डिजास्टर रिक्स रिडक्सन) डिआरआर क्लब, इको क्लब, बाल क्लब छन् । यसैगरी आइसिसटी ल्याब, इलेक्ट्रोनिक ल्याब, केमेष्ट्री र बायोलोजी ल्याब, पुस्तकालय र इलर्निङलगायत कक्ष छन् ।


    प्रकाशित : शुक्रबार, कार्तिक २५ २०७९०८:३६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार