काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षा र सबलीकरण गर्नुपर्ने दायित्व प्रभावकारी ढङ्गबाट अगाडि बढाउनुपर्ने बताएकी छिन् । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट ललितपुर निर्वाचन क्षेत्र नं ३ को उम्मेदवारका रुपमा आज साझा प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उनले राजनीतिक उपलब्धिको संरक्षणका लागि संयुक्त सङ्घर्ष जारी राख्दै समुन्नत आर्थिक–सामाजिक विकासको महाअभियान सञ्चालन गर्नुपर्ने बताइन् ।
नयाँ संविधान कार्यान्वयनमा आइसकेपछि आर्थिक समृद्धिका महत्वपूर्ण आधार तयार भएको जनाउँदै उनले ऊर्जा उत्पादनमा नेपाल आत्मनिर्भरतातर्फ अगाडि बढेको र स्वच्छ ऊर्जाको निर्यात गर्ने अवस्थामा पुगेको बताइन् । “भौतिक पूर्वाधार, शैक्षिक एवं स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन भई जनताको जीवनस्तरमा केही सुधार आएको छ, यस्ता कार्यक्रमलाई अझ प्रभावकारी एवं गुणस्तरीय तुल्याई आर्थिक आधार सबल गर्नु हामी सबैको दायित्व हो”, उनले भनिन्, “समृद्ध मुलुक, सम्पन्न नेपालीको सपना साकार गर्ने हाम्रो लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन जरुरी छ ।”
आसन्न निर्वाचनमार्फत जनअनुमोदित भएर राष्ट्रिय राजनीतिमा ललितपुरका जनताको प्रतिनिधित्व गर्ने दौडमा रहेको जनाउँदै उनले सदा झै अझ प्रभावकारी र सशक्त तथा सेवामैत्री, प्रगतिउन्मुख र स्वाभिमानी जनप्रतिनिधिका रुपमा आफूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास दिलाइन् ।
ललितपुरको कला, सम्पदा, संस्कृति र परम्परालाई यहाँको हरेक घर परिवारको आर्थिक उपार्जनसँग जोड्नुपर्नेमा जोड दिँदै उनले आगामी पाँच वर्षभित्र ललितपुरवासीको गुणस्तरीय जीवन जीउने आधार तयार हुने दाबी गरिन् । “गुणस्तरीय जीवन समाजवादको प्रस्थान बिन्दु हो । त्यसका लागि पर्यटनमा आधारित अर्थतन्त्र, समतामूलक समाज र स्वच्छ पर्यावरणलाई तत्काल विशेष प्राथमिकता दिएर सो अनुरुपका नीति तथा कार्यक्रम तर्जुमा गर्न हामी प्रतिबद्ध छौँ”, मन्त्री भुसालले भनिन् ।
कार्यक्रममा ललितपुर क्षेत्र नं ३(१)का प्रदेशसभा सदस्य उम्मेदवार राजकाजी महर्जन, (२)का उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठलगायत समानुपातिक उम्मेदवारहरूको उपस्थिति थियो ।
गुणस्तरीय जीवनका तीन आधारस्तम्भ
प्रतिबद्धतापत्रमा अर्थतन्त्र, पर्यावरण/वातावरण र समाजलाई गुणस्तरीय जीवनका तीन आधारस्तम्भका रुपमा राखिएको छ । पर्यटनमा आधारित अर्थतन्त्र निर्माण, पर्यावरणमैत्री पूर्वाधार निर्माण र समातामूलक समाज निर्माण गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
ललितपुरका अमूल्य कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवद्र्धन गर्दै आकर्षक पर्यटकीय ‘प्रोडक्ट’ उत्पादनका लागि स्थानीय तथा सरोकारवाला निकायसँग व्यापक परामर्श गरेर स्पष्ट नीति निर्माण गरी कार्यान्वयन गरिने, ऐतिहासिक सम्पदा, मठ, मन्दिर र गुम्बासहित परम्परागत पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्दै ‘डिजिटल प्रोफाइल’ तयार गरिने, रथ, जात्रा, पर्व, खाना, पहिरन तथा गरगहनाजस्ता मौलिक संस्कृतिको व्यापक प्रवर्द्धन गरिने तथा हस्तकला (मूर्ति, काष्ठ, चित्र) केन्द्रको स्तरोन्नति गरिने प्रतिबद्धतापत्रमा समावेश गरिएको छ ।
प्रतिबद्धतापत्रमा स्वच्छ पर्यावरणमा ललितपुरवासी रमाउन पाउनुपर्ने, स्वच्छ वातावरणमा रहेर सामाजिक–आर्थिक गतिविधि गर्न पाउनुपर्ने विषयलाई प्राथमिकता दिइएको छ । आगामी पाँच वर्षभित्र निर्माणाधीन बाग्मती, नख्खु, कर्मनासालगायत करिडोर सम्पन्न गरिने, विकास निर्माणका निकायहरुबीच उचित समन्वयका लागि नीतिगत पहल गरिने, गुणस्तरीय सुरक्षित सडक र सुविधा सम्पन्न यातायात व्यवस्था गरिने उल्लेख छ ।
कृषि पर्यटनको प्रवद्र्धन, खेतीयोग्य जमिनको संरक्षण, सहुलियतपूर्ण सिँचाइको व्यवस्था, कृषि उपजको व्यवस्थित सङ्कलन तथा बजारीकरण गरिनेछ । स्वतन्त्रतासहितको समतामूलक समाज निर्माणका लागि युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिकसहित सबै समुदायका लागि विशेष कार्यक्रम बनाएर कार्यान्वयन गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।
हरेक श्रमको आर्थिक मूल्यको समानताका लागि नीति निर्माण गरी कार्यान्वयन, महिला हिंसाको उन्मूलन, हरेक क्षेत्रमा सुरक्षित महिला र बालबालिका, महिलाको वित्तीय अधिकार/आर्थिक आत्मनिर्भरताका कार्यक्रम, स्थानीय युवाका लागि रोजगारमूलक तालिम, बहुराष्ट्रिय कम्पनीसँग युवा उद्यमीलाई जोडिने तथा ललितपुरमा रहेका विकास साझेदार संस्थाहरूसँग प्रभावकारी सहकार्य गर्दै थप नयाँ नियोगलाई आकर्षित गरिने प्रतिबद्धता छ ।
‘अबको भिजन, गुणस्तरीय जीवन’
राजनीतिक परिवर्तनसँगै विश्वमा भएका प्रतिस्पर्धात्मक प्रगति अब हाम्रा सामु ठुलै चुनौती बन्न पुगेका छन् । हरेक नेपालीको आत्मसम्मान, स्वाभिमान र समृद्धिप्रति हामी शब्द र कर्ममै प्रतिबद्ध छौँ, रहने छौँ । हामी एक अर्कालाई सम्मान गर्छौँ र सहकार्यका लागि सधैँ तयार हुन्छौँ । हाम्रो यही प्रतिबद्धताका आधारमा सामाजिक न्यायसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको चरणमा छ भने नागरिकको मौलिक अधिकार पनि सुनिश्चित हुने क्रममा छ । हामी दिने र लिने संस्कारबाट माथि उठेर समानतासहितको स्वतन्त्र समाज निर्माणको बाटोमा अगाडि बढेका छौँ । यो उपलब्धिको रक्षा र सबलीकरण गर्नुपर्ने अबको दायित्वलाई अझ प्रभावकारी तवरले अगाडि बढाउनु पर्नेछ ।
नयाँ संविधान कार्यान्वयनमा आइसकेपछि आर्थिक समृद्धिका महत्त्वपूर्ण आधार तयार भएका छन् । ऊर्जा उत्पादनमा नेपाल आत्मनिर्भरतातर्फ अगाडि बढेको छ भने स्वच्छ ऊर्जाको निर्यात गर्ने अवस्थामा हामी पुगेका छौँ । त्यस्तै भौतिक पूर्वाधार, शैक्षिक एवं स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन भई जनताको जीवनस्तरमा केही सुधार आएको छ । यस्ता कार्यक्रमलाई अझ प्रभावकारी एवं गुणस्तरीय तुल्याई आर्थिक आधार सबल गर्नु हामी सबैको दायित्व हो । समृद्ध मुलुक, सम्पन्न नेपालीको सपना साकार गर्ने हाम्रो लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन जरुरी छ । तसर्थ एकातिर हामीले तयार गरेको राजनीतिक आधारको संरक्षणका लागि निरन्तर संयुक्त सङ्घर्ष जारी राख्नुपर्ने छ भने अर्कोतर्फ समुन्नत आर्थिक–सामाजिक विकासको महाअभियान सञ्चालन गर्नुपर्नेछ । हाम्रा यिनै अभिभारा पूरा गर्नका निम्ति हामी यहाँहरू माझ प्रस्तुत भएका छौँ ।
विगतमा ललितपुरवासीबाट पाएको माया र विश्वास आज मेरो राजनीतिक जीवनको महत्त्वपूर्ण सम्पत्तिका रूपमा अभिलिखित हुन पुगेको छ । आज फेरि म जनताबाट अनुमोदित भएर राष्ट्रिय राजनीतिमा ललितपुरका जनताको प्रतिनिधित्व गर्ने दौडमा छु । जति धेरै मत त्यति धेरै आत्मविश्वास र राष्ट्रिय राजनीतिमा जिम्मेवारी प्राप्त हुन्छ । सदा झैँ अझ प्रभावकारी र सशक्त तथा सेवामैत्री, प्रगति उन्मुख र स्वाभिमानी जनप्रतिनिधिका रूपमा महत्त्वपूर्ण भूमिका खेल्नेछु ।
हामी ललितपुरवासीका लागि कला, सम्पदा, संस्कृति र परम्पराको प्रवर्द्धन समृद्धिको महत्त्वपूर्ण आधार हो । यसलाई नै यहाँका हरेक घर परिवारको आर्थिक उपार्जनसँग जोड्नु पर्छ । व्यवस्थित एवं आधुनिक कृषि कर्मको प्रवर्द्धन गर्दै यहाँ उपलब्ध खेतीयोग्य जमिनको संरक्षण गरी कृषि पर्यटनको अवधारणा लागू गर्नुपर्दछ । त्यसका लागि आवश्यक पर्ने नीतिगत व्यवस्था, प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्न आवश्यक छ ।
यसरी अबको पाँच वर्षमा ललितपुरवासीको गुणस्तरीय जीवन जिउने आधार तयार हुनेछ । जुन समाजवादको प्रस्थान विन्दु पनि हो । त्यसका लागि पर्यटनमा आधारित अर्थतन्त्र, समतामूलक समाज र स्वच्छ पर्यावरणलाई तत्काल विशेष प्राथमिकता दिएर सो अनुरूपका नीति तथा कार्यक्रम तर्जुमा गर्न हामी प्रतिबद्ध छौँ ।
गुणस्तरीय जीवनका लागि तीन आधारभूत पिल्लरहरू
क) अर्थतन्त्र
ख) पर्यावरण/वातावरण
ग) समाज
(क) पर्यटनमा आधारित अर्थतन्त्र
गुणस्तरीय जीवनका लागि एक महत्त्वपूर्ण खम्बा भनेको अर्थतन्त्र हो । यहाँको अमूल्य कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्दै आकर्षक पर्यटकीय ‘प्रोडक्ट’ उत्पादनका लागि स्थानीय तथा सरोकारवाला निकायसँग व्यापक परामर्श गरेर स्पष्ट नीति निर्माण गरी कार्यान्वयन गरिनेछ ।
– ऐतिहासिक सम्पदा, मठ, मन्दिर र गुम्बासहित परम्परागत पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्दै ‘डिजिटल प्रोफाइल’ तयार गरिने ।
– रथ, जात्रा, पर्व, खाना, पहिरन तथा गरगहनाजस्ता मौलिक संस्कृतिको व्यापक प्रवर्द्धन गरिने ।
– हस्तकला (मूर्ति, काष्ठ, चित्र) केन्द्रहरूको स्तरोन्नति गरिने ।
– पर्यटकीय चक्रपथ, हाइकिङ तथा साइक्लिङ मार्ग निर्माण गरिने ।
– स्थानीय हिटी, पोखरी, राजकुलो, तालतलैयाको पुनर्निर्माण, संरक्षण र उपयोग गरिने ।
– पर्यटन उद्यमलाई प्रोत्साहन गरिने ।
(ख) पर्यावरणमैत्री पूर्वाधार
ललितपुरवासीले सुन्दर पर्यावरणमा रमाउन पाउनुपर्छ । स्वच्छ वातावरणमा रहेर सामाजिक–आर्थिक गतिविधि गर्न पाउनुपर्छ । त्यसका लागि पर्यावरणमैत्री पूर्वाधार विकास गर्ने र ललितपुरवासीले गर्व गर्न लायक सहर निर्माण गर्न म विगतमा झैँ प्रतिबद्ध छु ।
– निर्माणाधीन बाग्मती, नख्खु, कर्मनासालगायत करिडोर सम्पन्न गरिने ।
– विकास निर्माणका निकायहरुबीच उचित समन्वयका लागि नीतिगत पहल गरिने ।
– गुणस्तरीय सुरक्षित सडक र सुविधा सम्पन्न यातायात व्यवस्था गरिने ।
– अध्ययन सम्पन्न भएका स्थान (ग्वार्को, सातदोबाटो र एकान्तकुना) मा Flyover निर्माण गरिने ।
– स्थानीय सरकारको सहकार्यमा प्राकृतिक स्रोतको संरक्षण, उपभोग÷स्थानीय स्रोतको सामुदायिकीकरण गरिने ।
– स्वच्छ पर्यावरणका लागि विद्युतीय साधनको प्रवर्द्धन गरिने ।
– जनसहभागितामूलक सरसफाइ तथा वृक्षारोपणलाई प्रोत्साहन गरिने ।
– कृषि पर्यटनको प्रवर्द्धन, खेतीयोग्य जमिनको संरक्षण, सहुलियतपूर्ण सिँचाइको व्यवस्था, कृषि उपजको व्यवस्थित सङ्कलन तथा बजारीकरण गरिने ।
(ग) समतामूलक समाज
स्वतन्त्रतासहितको समतामूलक समाज निर्माणका लागि युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिकसहित सबै समुदायका लागि विशेष कार्यक्रम बनाएर कार्यान्वयन गरिनेछ ।
– हरेक श्रमको आर्थिक मूल्यको समानताका लागि नीति निर्माण गरी कार्यान्वयन ।
– महिला हिंसाको उन्मूलन, हरेक क्षेत्रमा सुरक्षित महिला र बालबालिका ।
– महिलाको वित्तीय अधिकार÷आर्थिक आत्मनिर्भरताका कार्यक्रम ।
– स्थानीय युवाका लागि रोजगारमूलक तालिम, Fellowship, Internship र व्यवसायको अवसर ।
– बहुराष्ट्रिय कम्पनीसँग युवा उद्यमीलाई जोडिने ।
– ललितपुरमा रहेका विकास साझेदार संस्थाहरूसँग प्रभावकारी सहकार्य गर्दै थप नयाँ नियोगलाई आकर्षित गर्ने ।
– क्लब र समूहलाई सबल तुल्याई परिचालन ।
– शैक्षिक तथा उद्यम ऋणको कार्यान्वयनमा सहजीकरण ।
– ज्येष्ठ नागरिक र दीर्घ रोगीका लागि स्वास्थ्यमा विशेष पहुँचको सुनिश्चितता ।
– ज्येष्ठ नागरिकमैत्री सार्वजनिक संरचनाको निर्माण तथा प्रवर्द्धन ।
जय देश, जय जनता !
पम्फा भुसाल
प्रतिनिधिसभा उम्मेदवार
ललितपुर–३, २०७९

