२०८३, कार्तिक १४ गते शनिबार

निर्वाचन
उम्मेदवारले मनोयन पत्रसाथ के-के कागजात पेश गर्नुपर्छ ?

उम्मेदवारले मनोयन पत्रसाथ के-के कागजात पेश गर्नुपर्छ ?


  • मेरोभ्यूज
  • आश्विन २१, २०७९ शुक्रबार

  • उम्मेदवारले मनोयन पत्रसाथ के-के कागजात पेश गर्नुपर्छ ?

    काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि यही असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ । सो दिन बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित निर्वाचन क्षेत्रमा स्थापना गरिएको निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारले आआफ्नो मनोयन पत्र दर्ता गर्न सक्नेछन् । 

    सो निर्वाचनमा भाग लिने उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा मतदाता नामावली ऐन, २०७३, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४, प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४, प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४, नियमावली, निर्देशिका र निर्वाचन आचारसंहिता, २०७९ बमोजिम मनोनयन पत्रसाथ विभिन्न कागजात पेश गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । आगामी मङ्सिर ४ गते आइतबार देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । 

    उम्मेदवारले मनोनयन पत्रसाथ पेश गर्नुपर्ने कागजात
    १. उम्मेदवारको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि ।

    २. प्रतिनिधि सभाको सदस्य उम्मेदवारको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेश सभा सदस्य उम्मेदवारको हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा ।

    ३. उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा । 

    ४. उम्मेदवार हुने व्यक्तिले आफ्नो तर्फबाट निर्वाचन प्रतिनिधि तोकी उम्मेदवारी मनोनयन गर्ने भएमा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २४ सँग सम्बन्धित अनुसूची– ११ बमोजिमका प्रतिनिधि मुकरर गरेको फारम ।

    ५. प्रचलित कानून बमोजिम योग्यता पुगेको व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा वा गराउँदा  प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम र प्रदेश सभा सदस्यको लागि प्रदेश सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम  अन्तिम मतदाता  नामावलीमा नाम समावेश भएको एक जनाले प्रस्ताव र अर्को एक जनाले समर्थन गरेर विवरण भरी सहिछाप गरेको मनोनयन पत्र ।

    ६. दलको तर्फबाट उम्मेदवारी दिएको भए उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको पदाधिकारीले प्रदान गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–७ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र, तर एकल चुनाव चिन्ह लिई संयुक्त रुपमा निर्वाचनमा सहभागी दलहरूको हकमा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–७ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र । 

    ७. प्रतिनिधि सभा सदस्यका उम्मेदवारका लागि १० हजार र प्रदेशसभा सदस्य उम्मेदवार  हुनका लागि पाँच हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा  गरेको रसिद वा भौचर, तर महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा पचास प्रतिशत छुट हुनेछ । आर्थिकरूपले विपन्न भएकाको हकमा सम्बन्धित स्थानीय तहले आर्थिक रुपमा विपन्न भनी सिफारिस गरेको पत्र ।

    ८. उम्मेदवार हुने व्यक्तिले प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ सँग सम्बन्धित अनुसूची–६ बमोजिमको स्वघोषणा पत्र । 

    ९. उम्मेदवार हुने व्यक्तिले प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन  निर्देशिका, २०७९ को दफा २१ सँग सम्बन्धित अनुसूची–९ बमोजिमको ढाँचामा आफ्नो चल, अचल सम्पत्ति, बैङ्क तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र, शेयर, ऋणपत्र, कसैलाई ऋण दिएको वा लिएको भए त्यसको समेत सम्पूर्ण विवरण उल्लेख गरी सिलवन्दी रूपमा पेश गरेको सम्पत्ति विवरण ।

    १०. उम्मेदवार हुने व्यक्तिले प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १० सँग सम्बन्धित अनुसूची– १० बमोजिम आफू प्रचलित नियम कानुन अनुसार उम्मेदवार हुन योग्य भनि भरिएको वैयक्तिक विवरण फारम ।

    ११. उम्मेदवार हुने व्यक्तिले आफू निर्वाचित, मनोनित वा नियुक्त भएको निकायबाट कुनै पनि प्रकारको पेश्की लिएको भए सो पेश्की फछ्र्यौट भएको व्यहोराको निस्सा ।

    १२. लेखापरीक्षणबाट कुनैपनि उम्मेदवारको नाममा किटानीसाथ असूल उपर गर्नु पर्ने भनी कायम भएको बेरुजु भए सो बेरुजु फछ्र्यौट गरेको निस्सा ।

    १३. निर्वाचन आचारसंहिता, २०७९ को अनुसूची–३ बमोजिमको प्रतिबद्धतापत्र ।


    प्रकाशित : शुक्रबार, आश्विन २१ २०७९०९:०१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार